छुट्ला है ! चिरख्वा हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । चिरख्वा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असोज २३ गतेदेखि बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आज असोज २६ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर बिक्री गरेको हो । स्थानीयले आवेदन नदिएको १ लाख ९५ हजार ३ सय कित्तासहित ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयर खरिद गर्न सक्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको सेयरमा लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

आईपीओको मूल्यभन्दा तल झर्याे घोराही सिमेन्टको सेयर भाउ

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रिको सेयर मूल्य आईपीओको मूल्यभन्दा तल झरेको छ । कम्पनीको सेयर मूल्य बिहीबार प्रतिकित्ता ४३४.८० रुपैयाँ अन्तिम कारोबार भएसँगै आईपीओको मूल्यभन्दा तल झरेको हो । कम्पनीले सर्वसाधारणलाई अंकित मूल्यमा प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ बिक्री गरेको थियो । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ४३९ रुपैयाँमा कारोबार खुलेको थियो । आज दिनभरि कम्पनीको सेयर मूल्य अधिकतम ४४३ रुपैयाँसम्म पुगेको थियो भने न्यूनतम ४३० रुपैयाँसम्म झरेको थियो । बिहीबार कम्पनीको सेयर मूल्य ०.९६ प्रतिशत अर्थात् ४.२० रुपैयाँ घटेको छ । त्यस्तै, आज दिनभरिमा कम्पनीको ४४ हजार १४८ कित्ता सेयर १ हजर १९१ पटक खरिद बिक्री हुँदा १ करोड ९२ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएदेखि कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ५८१.४० रुपैयाँसम्म पुगेको थियो ।

परिसूचक घट्दा बढ्यो सेयर कारोबार, ६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले घटेकोे छ । लगातार घटेको परिसूचक बिहीबार पनि २०.१६ अंकले घटेर १८७४.६० बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.०६ प्रतिशतले बढी हो । बजारमा परिसूचक घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । बुधबार एक अर्ब रुपैयाँमा सीमित भएको सेयर कारोबार बिहीबार एक अर्ब ७० करोडको भएको छ । २९२ वटा स्क्रिप्स कारोबारमा आएको बजारमा सबैभन्दा बढी लक्ष्मी सनराइज बैंकको प्रमोटर सेयर कारोबार भएको छ । जसको एकैदिन १६ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । घटेको बजारमा पनि आधार दर्जन कम्पनीको सेयर सर्किट लेभलमा बढेको छ । जसमा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १० प्रतिशतले, मिड सोलु हाइड्रोपावर कम्पनीको १० प्रतिशत, हाथवे इन्भेष्टमेन्ट नेपालको ९.९८ प्रतिशत, एनआईबीएल ग्रोथ फण्डको ९.९५ प्रतिशत, सानिमा ग्रोथ फण्डको ९.९४ प्रतिशत र सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । यता टप लुजरको शीर्ष स्थानमा सिटी होटल रहेको छ । जसको सेयर मूल्य ९.०९ प्रतिशतले घटेर प्रतिकित्ता ५८५ रुपैयाँमा झरेको छ । बजारमा कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड समूहबाहेक सबै समूह राताम्मे देखिएका छन् ।