ब्रोकर नं. ७४ को प्रथम वार्षिकोत्सव सम्पन्न
काठमाडौं । नेपाल धितोपत्र बाेर्डबाट सिमित कार्य गर्न अनुमति प्राप्त स्टक ब्रोकर कलश स्टक मार्केट (ब्रोकर नम्वर ७४) को कम्पनी स्थापनाको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । सो कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७९।६।१३ गते दर्ता भएको थियो । कम्पनीले हालै मात्र आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरी नेतृत्व समेत चयन गरी सकेको छ । साधारण सभाले शेयरधनी प्रदिप के.सी.को अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति चयन गरेको छ । सञ्चालक समितिका अन्य पदाधिकारीहरुमा उद्धवराज पौड्याल, डिल्लीराम बांस्तोला, विलाल अधिकारी सञ्चालक सदस्य रहेका छन् भने शालिकराम अधिकारीलाई प्रवन्ध सञ्चालकको जिम्मेवारी तोकिएको छ । कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष शालिकराम अधिकारीको अध्यक्षता तथा काठमाडौं महानगरपालिका वडा नं १० का वडा अध्यक्ष राम कुमार के.सी. को प्रमुख आतित्थ्यतामा यहि २०८० असोज ६ गते सो साधारण सभा सम्पन्न भएको थियो । प्रथम साधारण सभामा कार्यकारी अध्यक्ष शालिकराम अधिकारीले वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, कम्पनीको प्रगती विवरण, भावी कार्यदिशा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक अवस्था समेतका विषयमा प्रस्तुती गरेका थिए । प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष राम कुमार के.सी .ले विभिन्न आरोह अवरोह पार गरी कार्य सञ्चालन प्रारम्भ गरेकोमा बधाई दिंदै कम्पनीले ग्राहक मैत्री नीति अबलम्वन गरी नेपाली धितोपत्र वजारमा एक सफल र नमुना ब्रोकर कम्पनीकोरुपमा स्थापित हुन सफलता मिलोस् भनि शुभकामना दिए । यही २०८० भदौं १० गते काठमाडौं महानगरपालिका वडा नं १० बुद्धनगर स्थित कम्पनीको कार्यालयमार्फत विधिपुर्वक सेवाको शुभारम्भ गरेको कलश स्टक मार्केटले कार्य सञ्चालनको पहिलो महिनामा नै उल्लेख्य संख्यामा ब्रोकर खाता, डिम्याट खाता र मेरो शेयर सुविधा द्वारा आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरी रहेको छ । यस कम्पनीले प्रचलित कानुनको पुर्ण पालना र धितोपत्र बजारका क्षेत्रका आधारभुत मुल्य मान्यताहरुलाई आत्मसाथ गर्दै ग्राहकको सन्तुष्ठीलाई नै केन्द्रमा राखेर पारिवारिक वातावरणमा शिघ्र, सर्वसुलभ, विश्वसनीय प्रविधिमैत्री धितोपत्र दलाल सेवा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । भविष्यमा आवश्यक प्रकृया पुरा गरी पोखरा, वुटवल, नेपालगंज, विराटनगर लगायत प्रमुख शहरहरुमा शाखा विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ । साथै शेयर सम्बन्धमा जनचेतना जागृत गर्न संभाव्य स्थानहरुमा शेयर सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने सोच रहेको पनि कम्पनीले जनाएको छ ।
सिटिजन लाइफको पहिलो दिन : कारोबार सर्वाधिक, सेयर मूल्य कति ?
काठमाडौं । दोश्रो बजारमा प्रवेश गरेको पहिलो दिनमै सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन १४ करोड ७३ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन आइतबार कारोबारमा आएका अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी हो । कारोबारमात्रै नभई कारोबार संख्या र सेयर संख्याको आधारमा पनि कम्पनी अग्रस्थानमा छ । कम्पनीको कूल ३ लाख १८ हजार ७२४ कित्ता सेयर कूल २४ हजार ५६७ पटकमा किनबेच भएको छ । यता कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ । पहिलो कारोबार ५०८ रुपैयाँमा कम्पनीको सेयर दिनभरमा घटेर प्रतिकित्ता ४५७.२० रुपैयाँमा झरेको छ । जुन रकमको आधारमा ५०.८० रुपैयाँले घटी हो । समग्रमा आइतबारको सेयर बजार ३३.२० अंकले घटेर १९७१.१० बिन्दुमा झरेको छ । जुन गत बुधबारको तुलनामा १.६५ प्रतिशतले घटी हो । बजारमा एक अर्ब ८३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार भने गत बुधबारको तुलनामा बढी हो । गत बुधबारको बजारमा एक अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबार अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । घटेकामध्ये पनि १० कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ । जसमध्ये पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।
कतिमा भयो सिटिजन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार ?
काठमाडौं । आइतबारदेखि दोश्रो बजारमा सिटिजन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५०८ रुपैयाँमा भएको छ । जुन नेप्सेले तोकेको मूल्यको तुलनामा करिब अधिकतम मूल्य हो । नेप्सेले सिटिजन लाइफलाई प्रतिकित्ता न्यूनतम १७२.४३ रुपैयाँ र अधिकतममा ५१७.२९ रुपैयाँ ओपनिङ रेन्ज दिएको थियो । कम्पनीको सेयर ‘सीएलआई’ सिम्बोलबाट किनबेच भइरहेको छ । कारोबार शुरुवातसँगै सेयर मूल्य पनि घट्दो छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४३.५० रुपैयाँले घटेर प्रतिकित्ता ४६४.५० रुपैयाँमा झरेको छ । जुन नेप्सेले तोकिदिएको मूल्यको तुलनामा ८.५६ प्रतिशतले घटी हो ।