स्टार हस्पिटलले सेयर जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । स्टार हस्पिटलद्वारा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । बिहीबार आयोजित एक कार्यक्रममा स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । स्टार हस्पिटलले ४० करोड रुपैयाँ शेयर पूँजी बराबरको १०० रुपैयाँ अँकित दरको ४० लाख कित्ता शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागेको हो । करिब ६९ करोड चुक्ता पूँजी भएको यस हस्पिटल संग २५ प्रतिशत अग्राधिकार शेयर सहित ८५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको अवस्थामा यो निष्कासन संगै केही संस्थागत लगानीकर्ताहरु, बीमा कम्पनीहरु, प्राइभेट इक्विटी कम्पनीहरु तथा नीजि संस्थागत लगानीकर्ताहरु समेतको गरी चुक्ता पूँजी २ अर्ब रुपैयाँ भन्दा माथि हुने जानकारी गराईएको छ । यस थप पूँजी लगानीबाट अस्पतालले आधुनिक उपकरणहरु सहित नयाँ उपचार सेवाका विधाहरु जस्तै क्यान्सर सेवा, क्ष्ख्ँ सेवा र अधिराज्यका विभिन्न स्थानहरुमा उपचार सेवा केन्द्र विस्तार गर्ने योजना रहेको बताइएको छ । यथाशक्य चाँडै नै अन्तराष्ट्रिय बैँक संग समेत सहकार्य गर्ने सिलसिलामा केही प्रख्यात विदेशी अस्पतालसंग सहकार्य गरी सेवा विस्तार गर्ने योजना समेत रहेको बताइएको छ । स्वास्थ्य क्षेत्रमा काम गर्ने यो हस्पिटल सर्वसाधारणहरुलाई शेयर जारी गर्ने पहिलो संस्था हुने जानकारी गराईएको छ ।

२३७.५८ रुपैयाँमा सोनापुर मिनरल्सले असोज १४ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलले असोज १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेपछि सर्वसाधारणलाई बिक्री गर्ने भएको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २ सय कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीयलाई अंकित मूल्य १ सय रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता बिक्री गरेको थियो । तर, १ लाख ३४ हजार ५२० कित्ता सेयरमा रितपूर्वक आवेदन परेको थियो । रीतपूर्वक आवेदन दिएका आवेदकलाई माग गरे बमोजिम सेयर बाँडफाँट गरिसकेको छ । त्यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १२ लाख १६ हजार ५६८ कित्ता, सामूहिक लगानी कोषलाई ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीलाई ६ लाख ८ हजार २८४ कित्ता सेयर बिक्री गरी बाँडफाँट गरिसकेको छ । अब कम्पनीले अब दोस्रो चरणमा अंकित मूल्य १ सय रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा सर्वसाधारण लगानीकर्तालाई ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बिक्री गर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असोज १७ गते र ढिलोमा असोज २८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

सिटिजन्स बैंकले दशैं अगाडि नै सेयरधनीलाई मख्ख बनाउँदै, लाभांश पारित गर्न बोलायो साधारण सभा

काठमाडौं । सिटिजन्स बैंकले आफ्ना सेयरधनीहरुलाई दशैं अगावै लाभांश खुवाउने भएको छ । बैंकले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको हो । बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न असोज २६ गते अमृतभोग कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे १७ औं वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ५.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, बैंकको सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । त्यस्तै, संस्थापक सेयरधनीको तर्फबाट ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १५ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् । बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।