सबै व्यवसाय नोक्सानमा छैनन्, इक्रा नेपालले ५९ प्रतिशत लाभांश दिने भयो सेयरधनीलाई
काठमाडौ । इक्रा नेपाल लिमिटेडले सेयरधनीलाई ५९ दशमलव १० प्रतिशत लाभांश दिने भएको छ । देशमा व्यवसायिक वातावरण नभएको र अधिकांश कम्पनी नोक्सानमा गएको व्यवसायीहरुको गुनासो आईरहेको बेलामा इक्रा नेपालले उच्च दरमा नगद लाभांश दिने निणर्य गरेको हो । बैंकहरुले सेयरधनीलाई १० प्रतिशत भन्दा कम लाभांश दिन पुग्ने नाफा गर्दा पनि बढी नाफा गरे भनेर समाजमा आलोचना भइरहेको समयमा इक्रा नेपालले सेयरधनीलाई झण्डै ६० प्रतिशत लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले असोज २५ गते साधारणसभा गर्न लागेको छ । इक्रा नेपालले कम्पनीहरुको रेटिङ गर्दा बढी शुल्क लिने गरेको गुनासो व्यवसायीहरुले गर्दै आएका छन् । ‘इक्राको रेटिङ राम्रो छ भनेर बैंकले विना धितो कर्जा दिने पनि होइन । इक्राको रेटिङ नराम्रो छ भनेर सार्वजनिक रुपमा गरिएको सेयर निष्काशन नबिक्ने पनि होइन । रेटिङ कम्पनीलाई हामीले महँगो शुल्क तिर्नुको कुनै अर्थ छैन’ एक जना व्यवसायीले विकासन्युजसँग भने । इक्रा नेपाल कम्पनीहरुको मूल्याङकन गरेर प्रमाणपत्र दिने कम्पनी हो । कम्पनीहरुले आफ्नो सेयर सार्वजनिक रुपमा निष्काशन गर्नुपूर्व वा ५० करोड भन्दा बढी कर्जा लिनुपूर्व कम्पनीको वित्तीय जोखिम र सञ्चालन जोखिमको विश्लेषण गराई रेटिङ प्रमाणपत्र लिनु पर्ने नियम सरकारले बनाएको छ । इक्रा नेपाल लिमिटेड २०१२ देखि सञ्चालनमा आएको कम्पनी हो । यो इन्टरनेशनल क्रेडिट रेटिङ एजेन्सी (इक्रा ग्रुप इन्डिया)को सहायक कम्पनी हो । यसमा नेपाली व्यवसायी र बैंकहरु पनि सेयर होल्डर रहेका छन् ।
लाभांश घोषणापछि एनआईसी एशियाको सेयर मूल्य घट्यो, कारोबार भने बढ्यो
काठमाडौं । आइतबारको सेयर बजारमा एनआईसी एशिया बैंकको सेयर मूल्य घटेको छ । लाभांश घोषणापछि भएको पहिलो कारोबारमा बैंकको सेयर मूल्य ५ रुपैयाँले घटेको छ । गत बिहीबार प्रतिकित्ता ८१९ रुपैयाँमा भएको बैंकको सेयर कारोबार आइतबार प्रतिकित्ता ८१४ रुपैयाँमा झरेको छ । बैंकले गत शुक्रबार मात्रै सेयरधनीलाई कूल ३०.५ प्रतिशत लाभांश घोषणा गर्ने प्रस्ताव गरेको थियो । एकैपटक तीन आर्थिक वर्षपछि लाभांश घोषणा गर्दा पनि बैंकले कम लाभांश घोषणा गरेकाले लगानीकर्ताहरु खासै खुशी नभएको आइतबारको कारोबारले देखाउँछ । सेयर मूल्य घटेको कम्पनीको सेयर कारोबार भने सर्वाधिक भएको छ । कारोबारमा आएका २७८ वटा स्क्रीप्समध्ये एनआईसी एशियाको मात्रै २७ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । समग्रमा आइतबारको बजारमा कूल २ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन बिहीबारको तुलनामा ५३ करोड रुपैयाँले बढी हो । कारोबार बढेको बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक भने ४२.१४ अंकले घटेर १९६४.९१ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.०९ प्रतिशतले घटी हो । राताम्मे देखिएको बजारमा पनि शुभम् पावरको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९८५.६० रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ८९.६० रुपैयाँले बढी हो । यता मौलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.२१ प्रतिशतले घटेर प्रतिकित्ता १७१.६० रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १७.४० रुपैयाँले घटी हो ।
हिमालयन रिले ६ अर्बको आईपीओ ल्याउँदै, प्रतिकित्ता कति ?
काठमाडौं । नेपालको दोश्रो पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सले पनि आईपीओ ल्याउने तयारी गरेको छ । इन्स्योरेन्सले प्रिमियम मूल्यमा कूल ३ करोड कित्ता बराबरको आईपीओ ल्याउन लागेको हो । जसको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति समेत मागिसकेको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप १०८ रुपैयाँ प्रिमियम थपेर कूल ३ करोड कित्ता सेयर ६ अर्ब २४ करोड रुपैयाँ रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । यससँगै बोर्डले स्वीकृति दिएमा कम्पनीले प्रतिकित्ता २०८ रुपैयाँमा सेयर निष्काशन गर्ने छ । आईपीओ निष्काशनको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ ।