नीति तथा कार्यक्रमको लागि धितोपत्र बोर्डले माग्यो सुझाव

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको लागि सुझाव दिन आग्रह गरेको छ । बोर्डले धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धि नीति तथा कार्यक्रमको लागि सल्लाह तथा सुझाव आह्वान गरेको हो । बोर्डले सम्बन्धित सबै सरोकारवालाहरुसँग बजारको विकास, विस्तार,तथा सुधारको लागि सल्लाह तथा सुझाव दिन अनुरोध गरेको हो । बोर्डले बैशाख मसान्तभित्र आफ्नो सुझाव [email protected] मा पठाउन आग्रह गरेको हो ।

अब नेप्सेमा सबै प्रकारका ऋणपत्र ७ दिनभित्रै सूचीकरण हुने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले अब ७ दिनमै कुनैपनि ऋणपत्र सूचिकरण गर्ने भएको छ । नेप्सेको सोमबार बसेको संचालक समितिको बैठकले धितोपत्र सूचीकरण विनियमावली २०७५ संशोधन गर्ने निर्णय गरेसँगै ऋणपत्र सूचीकृतको समय घट्ने भएको हो । २०७५ सालमा बनेको उक्त सूचीकरण विनियमावली यता बजारमा धेरै कुराहरु परिवर्तन भईसकेको विषयलाई मध्यनजर गर्दै विनियमावली संशोधन गर्ने निर्णय गरेको नेप्सेले जनाएको छ । हाल नेप्सेमा कुनैपनि सेयर तथ ऋणपत्र सूचीकृत गर्ने अधिकतम ३० दिन लाग्छ ।

एक हजार ८९२ विन्दुमा नेप्से

काठमाडौं । पुँजीबजारमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२ को विन्दुमा कायम भएको हो । आज दुई सय ६४ वटा कम्पनीको २५ लाख ७१ हजार दुई सय दुई कित्ता सेयर २३ हजार चार सय २९ पटक खरिदबिक्री हुँदा ८४ करोड ७० लाख २८ हजार दुई सय १९ बराबरको कारोबार भएको छ । आज नेप्सेका सबै इन्डेक्सको सूचक रातो देखिएको छ । सेन्सेटिभ इन्डेक्स दुई दशमलव ११, फ्लोट इन्डेक्स एक दशमलव ०१ र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७७ अङ्कले घटेको छ । त्यस्तै, सबै समूहका उपसूचक पनि रातो देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ५६ दशमलव ८२ र निर्जीवन बीमा समूहको उपसूचक ५० दशमलव ९५ अङ्कले घटेको छ । आज बैंकिङ समूह सात दशमलव ६७, विकास बैंक समूह ३५ दशमलव ९२, वित्त समूह १२ दशमलव ७५, होटल तथा पर्यटन समूह ४६ दशमलव ९० र जलविद्युत् समूह २० दशमलव ५७ अङ्कले घटेको छ । त्यसैगरी, लगानी समूह शून्य दशमलव ८५, उत्पादन तथा प्रशोधन समूह ३४ दशमलव ७२, लघुवित्त समूह २० दशमलव ९५, म्युचुअल फन्ड शून्य दशमलव ०४, व्यापार समूह छ दशमलव ५८ र अन्य समूह पाँच दशमलव ४५ अङ्कले घटेको छ । आज सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य तीन दशमलव २५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सनराइज ब्लुचिप फन्डको सेयर मूल्य नौ दशमलव १२ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्टको सात करोड एक लाख ६० हजार चार सय ५७ बराबरको एक लाख ६४ हजार नौ सय ३० कित्ता सेयर किनबेच भएको छ ।