मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल 

काठमाडाैं । मल्टीपर्पस फाइनान्सले साविकका सेयरधनीहरुमा हकप्रद साधारण सेयर निष्काशन गर्नका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । उक्त सम्झौता पत्रमा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनीश कुमार सिंह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो । २०७९ साल पौष मसान्त सम्मको अधिकृत पूँजी ८० करोड रुपैयाँ, कुल जारी तथा चुक्ता पूँजी ४५ करोड २० लाख रूपैयाँ, कुल सम्पत्ति १ अर्ब ८० करोड ८० लाख ८० हजार ९ सय ४ रुपैयाँ ११ पैसा, त्यसैगरी कुल निक्षेप १ अर्ब २९ करोड ६५ लाख ३७ हजार २९ रुपैयाँ ४४ पैसा तथा कर्जा लगानी ९८ करोड ८२ लाख १५ हजार ४ सय ३६ रुपैयाँ ८२ पैसा गरी कुल १३ हजार १ सय ३५ ग्राहकहरुलाई सेवा दिई रहेको छ । त्यसैगरी वित्तीय संस्थाको हाल शाखा संख्या ६ पुगेको छ । हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद निष्काशन पश्चात् वित्तीय संस्थाको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।

सिटिजन लाइफले प्रतिकित्ता २९० रुपैयाँमा आईपीओ जारी गर्ने, माग्यो बोर्डसँग अनुमति

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता २९० रुपैयाँमा साधारण सेयर (आईपीओ) जारी गर्ने प्रकृया अघि बढाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै प्रिमियम मूल्यसहित उक्त रुपैयाँमा आईपीओ जारी गर्ने प्रकृया अघि बढाएको हो । इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैयाँमा थप १९० रुपैयाँ प्रिमियम थप गरि सेयर निष्काशन गर्न बोर्डको अनुमति मागेको हो । बोर्डले अनुमति दिएमा कम्पनीले प्रतिकित्ता २९० रुपैयाँको दरमा एक करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने छ । जसअनुसार कम्पनीले कूल ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको सेयर बजारमा सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ छ ।

आइतबार तीन कम्पनीमा लाग्यो सकारात्मक सर्किट

काठमाडौं । आइतबार तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्जको आज दुई लघुवित्त संस्था र एक हाइड्रोपावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो । सर्किट लाग्नेमा क्रमशस् मानुषि लघुवित्त वित्तिय संस्था, युनिक नेपाल लघुवित्त वित्तिय संस्था र शुभम पावर लिमिटेड रहेको छ । मानुषि लघुवित्तको प्रति सेयर मूल्य ७७ रुपैयाँले बढेर अन्तिम मूल्य ८४७ रुपैयाँ कायम भएको छ भने युनिक नेपाल लघुवित्तको प्रति सेयर मूल्य १६०.४० रुपैयाँले बढेर अन्तिम मूल्य १७६४.६० रुपैयाँ कायम भएको छ । यस्तै, शुभम पावरको प्रति सेयर मूल्य ५१.६० रुपैयाँले बढेर अन्तिम मूल्य ५६७.६० रुपैयाँ कायम भएको छ । आइतबार सेयर बजार ६.९० अंकंले घटेर १९२६.४० विन्दुमा पुगेको छ । आज ३१ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६ करोड रुपैयाँको कारोबार भएको छ ।