२५२ कम्पनीको सेयर मूल्य बढ्दा नेप्सेमा एक्लो बन्यो रिलायन्स स्पिनिङ मिल्स

काठमाडौं । निर्वाचन सम्पन्न भएपछि पहिलो पटक खुलेको सेयर बजारमा ‘तेस्रो सर्किट ब्रेक’ लागेर सोमबारको कारोबार बन्द भयो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६ प्रतिशत (१६२.४३ अंक) ले बढेर २ हजार ८७५ विन्दुमा पुग्यो । नेप्सेका अनुसार यस छोटो अवधिमा २६१ कम्पनीको ११ लाख ४३ हजार ६७६ कित्ता सेयर ४ हजार ५१ पटक खरिदबिक्री हुँदा ५५ करोड ५९ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार २५२ कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये कर्पोरेट डेभलपमेन्ट बैंक, शिवश्री हाइड्रोपावर र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । जम्मा ४ मिनेट मात्र चलेको बजारमा २७ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको नेप्सेले जनाएको छ । तर, समग्र बजारमा हरियाली छाउँदा रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य भने घटेको छ । बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको रिलायन्स स्पिनिङ मिल्स फागुनको पहिलो सातादेखि दोस्रो बजारमा कारोबारमा आएको थियो । आईपीओ निष्कासन मूल्यभन्दा निकै कममा कारोबार खुलेको यस कम्पनीको सेयर मूल्य लगातार ९ कारोबार दिनसम्म बढेर ६८५.५० रुपैयाँसम्म पुगेको थियो । तर, सोमबार भने रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य १.४९ प्रतिशत (१०.२० रुपैयाँ) ले घटेर ६७५.३० रुपैयाँमा झरेको छ । अधिकांश कम्पनीको सेयर मूल्य बढिरहँदा यस कम्पनीको सेयर भने ओरालो लागेको हो । सोमबार यस कम्पनीको जम्मा १० कित्ता सेयर किनबेच हुँदा ६ हजार ७५३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

तेस्रो सर्किट लागेसँगै बन्द भयो सेयर बजार

काठमाडौं । सेयर बजारमा तेस्रो सर्किट लागेसँगै बजार बन्द भएको छ । सेयर बजारमा निरन्तर तेस्रो सर्किट अर्थात् ६ प्रतिशतले बढेसँगै बजार बन्द भएको हो । सोमबार बजार खुलेको एक घण्टामै सेयर बजार बन्द भएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६ प्रतिशत अर्थात् १६२.४३ अंकले बढेर २ हजार ८७५ अंकमा पुगेर बन्द भएको हो । साथै, २६१ कम्पनीको ११ लाख ४३ हजार ६७६ कित्ता सेयर ४ हजार ५१ पटक खरिदबिक्री हुँदा ५५ करोड ५९ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज विभिन्न तीन कम्पनी कर्पोरेट डेभलपमेन्ट बैंक, शिवश्री हाइड्रोपावर र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

सेयर बजारमा दोस्रो सकारात्मक सर्किट, कारोबार ४० मिनेटको लागि बन्द

काठमाडौं । सेयर बजारमा पुनः अर्काे सर्किट लागेको छ । पहिलो सर्किट लागेर खुलेको केही मिनेटमै पुनः अर्काे सर्किट लागेर बन्द भएको हो ।  दोस्रो सर्किटमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५ प्रतिशत अर्थात् १३५.७२ अंक बढेर २ हजार ८४८.२२ अंकमा पुगेको हो । यससँगै सेयर बजार पुनः ४० मिनेटका लागि बन्द भएको हो । पहिलो सर्किट सेयर कारोबार खुलेको केही समयमै लागेर २० मिनेटका लागि बन्द भएको थियो । कारोबार खुलेको ११ बजेर १ मिनेटमा ४ प्रतिशत अर्थात् १०८.६० अंक बढेर २ हजार ८२१.१० अंकमा रोकिएको थियो ।  नेप्सेका अनुसार यस अवधिमा २४७ कम्पनीको ५ लाख ३५ हजार ४६१ कित्ता सेयर किनबेच हुँदा २८ करोड ५१ लाख २५ हजार रुपैयाँ बराबर कारोबार भएको छ ।