याम्बालिङ्ग हाइड्रोले चैत ८ गतेदेखि आईपीओ बिक्री खुला गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले चैत ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २८ लाख कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ७ करोड रुपैयाँको ७ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका स्थानीय बासिन्दालाई छुट्याएको छ । साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा स्थानीयले ७ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले २१ हजार कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीयले चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा २०८३ वैशाख ७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजना कार्यालय, सिन्धु विकास बैंकको जुगल गाउँपालिका र चौतारा शाखा र कुमारी बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
गरिमा क्यापिटलको गरिमा सुवर्ण योजना बिक्री खुला
काठमाडौं । गरिमा क्यापिटलले आज फागुन २८ गतेदेखि दोस्रो म्युचुअल फण्ड गरिमा सुवर्ण योजना निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले १ अर्ब रुपैयाँको प्रति इकाई १० रुपैयाँ दरका १० करोड इकाई बिक्री खुला गरेको हो । कम्पनीले कुल इकाईमध्ये पहिलो चरणमा ५० करोड रुपैयाँको ५ करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये ९० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंक, ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र बाँकी ३ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त म्युचुअल फण्ड खुलामुखी योजना भएकोले बाँकी रहेको इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजना व्यवस्थापकले तोकेको वितरणमार्फत निरन्तर खरिदबिक्रीका लागि खुला गरिनेछ । कम्पनीको उक्त म्युचुअल फण्डका इकाई खरिदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनाको इकाईमा चैत २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएको खण्डमा आवेदन दिने समय चैत १२ गतेसम्म लम्बिनेछ । कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।
सेयर बजारमा १३ अर्बको कारोबार, २ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४६ अंकले घटेर २७९७ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । बुधबार ३२९ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिडि पावर कम्पनीको ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै आँखु खोला जलविद्युत कम्पनीको ५१ करोड, नेसनल हाइड्रो पावर कम्पनीको ४९ करोड, अपि पावर कम्पनीको ४४ करोड र न्यादी गुप्रको ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ । साल्पा विकास बैंकको १० प्रतिशत र नेसनल हाइड्रो पावर कम्पनीको ९.९६ प्रतिशतले सेयर मूल्य बढेको छ ।