नेपाल एसबिआई बैंकको सभाले पारित गर्यो लाभांश, संचालकमा उप्रेती निर्विरोध
काठमाडौं । नेपाल एसबिआई बैंकको प्रस्तावित लाभांश पारित भएको छ । पुस २० गते सम्पन्न बैंकको २८औँ वार्षिक साधारण सभाले प्रस्तावित ५.३१ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै बैंकले सेयरधनीलाई चुक्ता पुँजीको ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । साथै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक समितीमा प्रतिनिधित्व गर्ने संचालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ । साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७७/७८ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । उक्त साधारणसभाले आ.व. २०७८/७९ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोसियट्स्, चार्टर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा/नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा भएको हो । सभाले बैंकको आ.व. २०७७/७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आ.व. २०७७/७८ को नाफानोक्सान हिसाब र सोही अवधीको नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।
६३ अंकले बढ्यो नेप्से, एनबी बैंकको उच्च कारोबार, ५ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतको वृद्धि
काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा उकालो लागेको छ । बजारमा नेप्से परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.४१ प्रतिशतले बढी हो । दिनभरको कारोबारमा ४ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा घटी हो । सोमबारको बजारमा भने ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । मंगलबार सबैभन्दा बढी नेपाल बङ्गलादेश (एनबी) बैंकको सेयर कारोबार भएको छ । नबिल बैंकसँग मर्जमा जाने हल्लासँगै बैंकको सेयरमा लगानीकर्ताहरु आकर्षित भएका हुन् । बैंकको एकैदिन १४ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि ७.४० रुपैयाँले बढेर प्रतिकित्ता ४०५.४० रुपैयाँ पुगेको छ । त्यस्तै, नबिल बैंकको पनि १३ करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोश्रो उच्च कारोबार भएको बैंकको सेयर मूल्य भने १८ रुपैयाँले घटेर १११९ रुपैयाँमा झरेको छ । मंगलबार ५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । जसमध्ये श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य भने १०र१० प्रतिशतले बढेको छ । मध्यभोटेकोशी जलविद्युत कम्पनीको ९.९९ प्रतिशत, नेपाल एसबिआई बैंकको ९.७२ प्रतिशत र सिन्धु विकास बैंकको सेयर मूल्य ९.४३ प्रतिशतले बढेको छ । बजारमा उत्पादनमूलक र अन्य समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । यी दुई समूह क्रमशः ०.५९ र ०.३४ प्रतिशतले घटेको छ ।
सिभिल र रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन
काठमाडौं । मंगलबार दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । पुस २० गते एकैदिन सिभिल बैंक र रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये सिभिल बैंकको ५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । यससँगै बैंकको समायोजित मूल्य प्रतिकित्ता २४५.७१ रुपैयाँ कायम भएको छ । त्यस्तै, रिलायन्स फाइनान्सको पनि १५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । यसअघि अन्तिम कारोबार प्रतिकित्ता ५२० रुपैयाँमा भएको संस्थाको समायोजित मूल्य प्रतिकित्ता ४५२.१७ रुपैयाँ कायम भएको छ । यससँगै पुस १९ गतेसम्म यी दुई कम्पनीको सेयर किन्ने तथा होल्ड गर्नेले गत वर्षको प्रस्तावित लाभांश पाउने छन् ।