कर्पोरेट डेभलपमेन्ट बैंकले हकप्रद जारी गर्दै, तोक्यो बुक क्लोजको मिति
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले आगामी माघ ७ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ। बैंकले हाल कायम रहेको चुक्ता पुँजीको १५० प्रतिशत (अर्थात एक बराबर १.५ को अनुपात) हकप्रद सेयर जारी गर्न लागेको हो । सो प्रयोजनको लागि संस्थाले आगामी पुस २५ गते बुक क्लोज गर्दै छ । यससँगै पुस २४ गतेसम्म कायम सेयरधनीले संस्थाले जारी गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । हाल बैंकको चुक्ता पुँजी २० करोड रुपैयाँ छ । बैंकले १५० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । जसको अंकित मूल्य एक सय रुपैयाँ छ । सो मात्राको हकप्रद जारी पश्चात संस्थाको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्ने छ । इच्छुक सेयरधनीले माग ७ गतेदेखि माघ २७ गतेसम्म आवेदन दिन पाउने छन् । उक्त सेयर निष्काशन गर्नको लागि बैंकले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । यससँगै उनीहरुले सिभिल क्यापिटल तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट तथा मेरोसेयर मार्फत आवेदन दिन पाउने छन् । क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले बैंकलाई केयरएनपी बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न संस्था उच्च जोखिममा रहेको संकेत गर्दछ ।
दुई लघुवित्तसहित ५ कम्पनीको सेयर मूल्य समायोजन, कसको मूल्य कति ?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । एकैदिन दुई लघुवित्त वित्तीय संस्थासहित ५ कम्पनीको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन हुनेमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था, समीट लघुवित्त वित्तीय संस्था, मञ्जुश्री फाइनान्स, चिलिमे हाइड्रोपावर कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट रहेका छन् । जसमध्ये इन्फिनिटी लघुवित्तको २७.७० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको छ । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १३०७.७५ रुपैयाँ कायम भएको छ । नेप्सेले समीट लघुवित्तको २५.२८५३ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन गरेको हो । यससँगै संस्थाको समायोजित मूल्य प्रतिकित्ता ११६५.३४ रुपैयाँ तोकिएको छ । त्यसैगरी, मञ्जुश्री फाइनान्सको ४० प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको छ । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ६७०.७१ रुपैयाँ कायम भएको छ । जुन पछिल्लो कारोबारको तुलनामा २६८.२९ रुपैयाँले घटी हो । बुधबारको बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ९३९ रुपैयाँमा भएको थियो । चिलिमे हाइड्रोपावर कम्पनीको ७.५० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ४६७.८१ रुपैयाँ कायम भएको छ । बुधबारको सेयर बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ५०२.९० रुपैयाँमा भएको थियो । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५ प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । प्रतिकित्ता ५३७ रुपैयाँलाई आधार मानेर गरिएको समायोजित मूल्य प्रतिकित्ता ५११.४३ रुपैयाँ कायम भएको छ । यससँगै, अबको कारोबारमा यी ५ वटै कम्पनीको पहिलो सेयर कारोबार समायोजित मूल्यलाई नै आधार मानेर हुने छ । र, पुस १४ गतेसम्म यी कम्पनीको सेयर किन्नेले प्रस्तावित उक्त लाभांश पाउने छन् ।
सेबाेन अध्यक्षका लागि पुनः आवेदन माग, यसअघि दिएकाको के हुन्छ ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबाेन) को अध्यक्ष नियुक्तका लागि सरकारले दोस्रो पटक सूचना प्रकाशन गरेको छ । बोर्डमा अध्यक्षको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले बिहीबार पुनः सूचना प्रकाशन गरेको हो । यसअघि निकालिएको सूचनालाई रद्द गर्दै पुनः दोस्रो पटक सूचना निकालिएको हो । धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई १५ दिन भित्र (पुस २९ गतेसम्म) आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ । १५ दिनभित्र इच्छुक आवेदकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सिंहदरबारमा गोप्य खामबन्दी आवेदन दिन सक्नेछन् । यसअघि कात्तिक ११ गते जारी गरिएको सूचना अनुसार आवेदन दर्ता गराएका आवेदकले पुनः आवेदन दर्ता गर्नसमेत सकिने जनाईएको छ । आवेदन दिन धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको, कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकान, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन या कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको र धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा बमोजिम अयोग्य नरहेको हुनुपर्नेछ । यस्तै, आवेदकले आवेदन दिने अवधि भित्र ३० वर्ष पुरा भई ६० वर्ष ननाघेको समेत हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । सूचना अनुसार यसअघि आवेदन दिएका आवेदकले दोस्रो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन फिर्ता लिन सक्नेछन् । सेबन अध्यक्षको आवेदनका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ । गत कात्तिक ११ गते जारी गरिएको अध्यक्षको आवेदनमा ११ जनाले आवेदन दिएका थिए । जसमा बोर्डका कार्यकारी निर्देशन निरग गिरी र उप कार्यकारी निर्देशक डा.नवराज अधिकारीले समेत आवेदन दिएका थिए । त्यस्तै, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, नेप्सेका पूर्वसीईओ सिताराम थपलिया र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईले पनि बोर्डको अध्यक्षको लागि आवेदन पेश गरेका छन् । त्यसैगरी, डा. केशव प्रसाद श्रेष्ठ, अनिल पौडेल, रमेश हमाल, जीवन अमगाई र कृष्ण आचार्यले बोर्डको अध्यक्षका लागि आवेदन दिएका थिए । धितोपत्र बोर्डको अध्यक्ष बन्न ११ जनाले दिए आवेदन