मेरियट होटल पनि पब्लिक कम्पनी बन्दै, सय रुपैयाँमा साधारण सेयर
काठमाडौं । पाँच तारे नयाँ होटेल मेरियट पनि पब्लिक कम्पनी बन्ने भएको छ । व्यवसायी शशिकान्त अग्रवालको प्रमुख लगानी रहेको मेरियट होटल अहिले प्राइभेट लिमिटेड कम्पनी छ । पब्लिक कम्पनीको रुपमा परिणत गरी साधारण सेयर निष्कासन गर्ने प्रक्रिया सुरु भइसकेको होटलका प्रमुख लगानीकर्ता अग्रवालले जानकारी दिए । ‘हामीले प्रालि कम्पनी बनाएर होटल संचालन गरेका हौं, होटल संचालनमा आएको ३ वर्ष भयो, अब पब्लिक कम्पनी बनाएर सर्वसाधारणलाई पनि सेयर जारी गर्ने भनेर प्रक्रिया सुरु गरेका छौं,’ अग्रवालले विकासन्युजसँग भने । होटल संचालनमा आएको केही समयपछि नै विश्व महामारीको रुपमा फैलिएको कोभिड महामारी नेपालमा पनि फैलन सक्ने भन्दै सरकारले २०७६ चैत दोस्रो सातादेखि नै देशव्यापी लकडाउन गरेको थियो । कोभिड महामारीको कारण विदेशी पर्यटक नेपाल आउन पाएका थिएनन् भने लकडाउन, त्यसपछिको सटडाउन र निषेधाज्ञाका कारण होटल खुल्न पाएका थिएनन् । यस्तै कारणले मेरियट होटलले पनि अपेक्षाकृत व्यवसाय बढाउन पाएको थिएन । परिस्थिति प्रतिकुल भएपनि अहिलेसम्म होटल संचालन नाफामा नै रहेको अग्रवालले बताए । बैंकको व्याज र ह्रासकट्टी हिसाव गर्दा भने होटल नोक्सानीमा रहेको उनको भनाई छ । ‘यो बीचमा अपेक्षाकृत व्यवसाय बढ्न सकेन, कारण सबैलाई थाहा नै छ तर, पनि हामी संचालन नोक्सानीमा छैनौं, बैंकबाट लिएको कर्जाको किस्ता तथा व्याज तिर्नुपर्ने भएकोले होटल नोक्सानीमै छ,’ अग्रवालले भने । उनका अनुसार मेरियट होटलले बैंक तथा वित्तीय संस्थाबाट करिब ३ अर्ब रुपैयाँ कर्जा लिएको छ । होटललाई पब्लिक कम्पनी बनाएर सर्वसाधारणलाई पनि सेयर विक्री गर्ने प्रक्रिया सुरु भइसकेको अग्रवालले जानकारी दिए । ‘होटलको चुक्ता पुँजी करिब २ अर्ब रुपैयाँ छ, चुक्ता पुँजीको १५ प्रतिशत सर्वसाधारणको लागि आईपीओ जारी गर्दैछौं, एफपीओ वा बुक विल्डिङ विधिबाट आईपीओ निकाल्ने होइन, प्रतिकित्ता सय रुपैयाँको दरमा नै आईपीओ जारी हुन्छ,’ अग्रवालले थपे । उनले आईपीओ विक्रीबाट आएको रकमले होटलको ऋण तिर्न प्रयोग गरिने पनि बताए । ‘करिब ३ अर्ब रुपैयाँ कर्जा छ, आईपीओ विक्री गरेर आएको पैसाले बैंकको ऋण तिर्छाैं, आईपीओ जारी गरेपछि सर्वसाधारणले पनि स्वामित्व लिन्छन्, व्यवसायिक रुपमा अघि बढ्न पनि थप सजिलो हुन्छ, यसैकारण पब्लिकमा जान लागिएको हो,’ उनले भने । चुक्ता पुँजी २ अर्ब रुपैयाँ भएको होटलले १५ प्रतिशत आईपीओ जारी गर्दा करिब ३० करोड रुपैयाँ बराबरको आईपीओ आउने छ ।
नबिलसहित ६ कम्पनीको सेयर भाउ घट्यो
काठमाडौं । आइतबारको बजारमा विभिन्न ६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ७३ अंकले बढेको बजारमा पनि कारोबारमा आएकामध्ये ६ कम्पनीको सेयर भाउ घटेको हो । जसमा वाणिज्य बैंक, विकास बैंक, लघुवित्त, होटल एण्ड टुरिजम र उत्पादनमूलक समूह अन्तर्गतका कम्पनीहरु रहेका छन् । जसमध्ये वाणिज्य बैंक अन्तर्गतको नबिल बैंकको सेयर मूल्य घटेको छ । बैंकको सेयर मूल्य सामान्य ०.०९ प्रतिशत अर्थात १ रुपैयाँले घटेर प्रतिकित्ता १११३ रुपैयाँमा कारोबार भएको छ । जसको प्रतिकित्ता सेयर अधिकतम १७४० रुपैयाँसम्म कारोबार भएको थियो । बोनस सेयरको लागि मूल्य समायोजन भएदेखि अर्थात पुस ११ गतेदेखि नै बैंकको सेयर मूल्य निरन्तर रुपमा घटिरहेको छ । बजारमा रौनकता कायमै, एकैदिन ९३.४६ प्रतिशतले बढ्यो सेयर कारोबार त्यस्तै, मिथिला लघुवित्तको पनि सेयर मूल्य १.२७ प्रतिशतले घटेर प्रतिकित्ता १६३० रुपैयाँमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २१ रुपैयाँले घटी हो । आइतबार सेयर मूल्य घट्नेमा विकास बैंक समूहका दुई कम्पनी कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक र फर्ष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक रहेका छन् । यी दुईको सेयर मूल्य सामान्य प्रतिशतले घटेर क्रमशः ११९५ र ८९८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । होटल एण्ड टुरिजम अन्तर्गतको चन्द्रागिरी हिल्सको सेयर मूल्य १० रुपैयाँले घटेको छ । र, अन्तिम कारोबार प्रतिकित्ता १५०५ रुपैयाँमा भएको छ । दोश्रो बजारमा कम्पनीको प्रतिकित्ता सेयर २८०० रुपैयाँसम्ममा किनबेच भएको थियो । बोटलर्स नेपाल (तराई)को पनि सेयर मूल्य १२७ रुपैयाँले घटेको छ । उत्पादनमूलक समूह अन्तर्गतको यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५ हजार ५७३ रुपैयाँ छ ।
बजारमा रौनकता कायमै, एकैदिन ९३.४६ प्रतिशतले बढ्यो सेयर कारोबार
काठमाडौं । पछिल्लो समय सेयर बजारले गति लिन थालेको छ । केही समयअघि मात्रै निरन्तर घटेर २३ सयभन्दा तल झरेको बजार अहिले भने बढेर पौने २८०० बिन्दु नजिकसम्म पुगेको छ । आइतबारको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार देखिएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तलता संकटको समस्या समाधान हुन थालेसँगै त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको देखिन्छ । त्यस्तै, केही दिनयता लगानीकर्ताको मनोबल बलियो हुँदै गएको र संक्रमितको संख्या पनि दिनानुदिन बढेसँगै पुनः लकडाउनको गरिने हल्लाले पनि बजारमा एकाएक सेयर कारोबार रकम बढेको बुझिन्छ । आइतबार सेयर मूल्य मापक नेप्से परिसूचक ७३.०१ बिन्दुले बढेर २७६५.४७ बिन्दुसम्म पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.७७ प्रतिशतले बढी हो । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि उच्च सुधार देखिएको छ । गत बिहीबार ३ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको सेयर कारोबार आइतबार भने ७ अर्ब माथिको सेयर किनबेच भएको छ । बजारमा २३९ वटा स्क्रिप्स्को ७ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जुन अघिल्लो कारोबारको तुलनामा ९३.४६ प्रतिशतले बढी हो भने गत मंसिर यताकै उच्च कारोबार हो । गत मंसिर १ गतेको बजारमा ७ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यसयताको बजारमा ७ अर्ब माथिको सेयर कारोबार भएको थिएन । बजारमा विभिन्न ३ कम्पनीको २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जसमध्ये अपि पावरको सबैभन्दा बढी अर्थात २९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, प्रभु बैंकको २० करोड,८६ लाख र अपर तामाकोशी हाइड्रोको २० करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यी तीन वटै कम्पनीको सेयर मूल्य बढेर क्रमशः ५१६, ३३७, ६९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । आइतबार ९ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । जसमध्ये अधिकांश हाइड्रो समूह अन्तर्गतका कम्पनीहरु रहेका छन् । जसमा नेपाल हाइड्रो डेभलपर्स र हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । यूनियन हाइड्रोपावरको ९.९८, मध्य भोटेकाशी जलविद्युत कम्पनीको ९.९७, न्यादी हाइड्रोपावरको ९.४१, प्रोगेसिभ फाइनान्सको ९.३३, आईसीएफसी फाइनान्सको ९.२८, एचआईडीसीएलको ९.२७ र कर्पोरेट डेभलपमेन्टको ९.१८ प्रतिशतले सेयर मूल्य बढेको छ । आइतबार सबै समूह हरिया देखिएका छन् । जसमध्ये सबैभन्दा बढी निर्जीवन बीमा समूह ३७९.७७ अंकले बढेको छ । सबैभन्दा कम बढ्नेमा म्युचुअल फण्ड रहेको छ । उक्त समूह ०.२१ अंकले मात्रै बढेको हो । बजारमा १३ वटा स्क्रिप्स्को मात्रै मूल्य घटेको छ । जसमा चन्द्रागिरी लगायत नबिल बैंक पनि रहेको छ ।