भगवती हाइड्रोको २० प्रतिशत लाभांश घोषणा, सेयरधनीले तिहार अघि नै पाउने
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज १० गते बसेको बैठकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५९ करोड ४९ लाख ४७ हजार रुपैयाँको १४ प्रतिशतका दरले ८ करोड ३२ लाख ९२ हजार ६ सय रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशतका दरले ३ करोड ५६ लाख ९६ हजार ८३६ रुपैयाँ नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश सेयरधनीहरुले तिहार अघि नै पाउने भएका छन् । लाभांश पारित गर्न कात्तिक २ गते बिहान ११ बज पोखरामा २५औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले कम्पनीको जारी पुँजी वृद्धि गरी ६७ करोड ८२ लाख ३९ हजार रुपैयाँ पुर्याउने, सञ्चालक समतिको गठन र ७ जना (एक जना महिला समेत ६ जना र एक जना स्वतन्त्र) कायम गर्ने, सञ्चालकमा नियुक्ति हुनको १ सय कित्ता सेयर हुनुपर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, चालु आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
सानिमा बैंकका सेयरधनीलाई तिहार अघि नै लाभांश, २ अर्बको अग्राधिकार सेयर बिक्री गर्ने
काठमाडौं । सानिमा बैंकले तिहार अघि नै सेयरधनीहरूलाई प्रतिफल वितरण गर्ने भएको छ । बैंकले तिहार अघि नै सेयरधनीहरूलाई लाभांश वितरण गर्ने गरी साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज १० गते बसेको बैठकले कात्तिक २ गते बिहान १० बजे काठमाडौंमा २१औँ वार्षिक साधारण सभा डाकेको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित ७.३६ प्रतिशतका दरले १ अर्ब ७ लाख ५४ हजार ७ सय रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, संचालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही तोकिएको अन्य व्यवस्था तथा शर्तहरू सहित १ सय रुपैयाँ अंकित मूल्य दरले २ अर्ब रुपैयाँको ‘८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार सेयर’ सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात् जारी गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । बैंकको अधिकृत पुँजी २० अर्ब रुपैयाँलाई वृद्धि गरी २२ अर्ब रुपैयाँ पुर्याउने, अग्राधिकार सेयर जारी गरे पश्चात् सोहि हदसम्म बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, बैंकको सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, सहायक कम्पनी सानिमा क्यापिटल र सानिमा सेक्युरिटिजको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । साथै, संस्थापक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना संचालकहरूको निर्वाचन गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले असोज २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
नेपाल लाइफ इन्भेष्टमेन्टको प्रथम वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिको अध्यक्ष अमितकुमार कयालको अध्यक्षतामा शुक्रबार राजधानीमा सम्पन्न भएको हो । सभामा अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ । त्यसैगरी, आव २०८२/८३ को लागि लेखापरीक्षक पीएल श्रेष्ठ एण्ड कम्पनीलाई नियुक्त गरिएको छ । अध्यक्ष कयालले नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीलाई एक उदाहरणीय कम्पनी बनाउन संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, तालिम एवं अनुसन्धान, बैज्ञानिक लगानी विविधिकरण र विश्वव्यापी लगानीको अभ्यासहरुलाई अवलम्बन गरी काम भइरहेको बताए । प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभाष थापाले आव २०८१/८२ को कार्य प्रगतिबारे र आव २०८२/८३ को रणनीतिक योजनाको बारे प्रस्तुतिकरणमार्फत सभालाई जानकारी गराए । सभामा मुख्य कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले प्रथम वार्षिक साधारण सभा समयमा सम्पन्न गर्न सकेकोमा धन्यवाद ज्ञापन गर्दै यो कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको पूर्ण स्वामित्वको कम्पनी रहेको जहाँ बीमितहरुबाट संकलित रकम लगानी भएकोले सुरक्षित लगानी गरी राम्रो प्रतिफल लिन गम्भिरतापूर्वक कार्य गर्न व्यवस्थापनलाई आग्रह गरे । मुख्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले मूल लगानीको पूर्ण सुरक्षा गर्दै लगानी गर्दा सही समय, सही स्थान र सही प्रतिफल आउने गरी गर्न र मुख्य कम्पनीको ब्राण्ड ख्यातिलाई कम्पनीको विकासमा प्रयोग गर्न व्यवस्थापनलाई सुझाव दिए । सभाले प्रथम वार्षिक सभासम्मका लागि नियुक्त भएका सञ्चालकहरूलाई धन्यवाद ज्ञापन गर्दै मुख्य कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट सिफारिस भई आएका ४ जना (कमलेश कुमार अग्रवाल, कृष्णराज लामिछाने, प्रवीणरमण पराजुली र अमित कुमार कयाल) लाई सञ्चालक नियुक्तिका लागि अनुमोदन गर्यो आजै बसेको सञ्चालक समिति बैठकले कमलेश कुमार अग्रवाललाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ र सबै नवनियुक्त सञ्चालकहरूले पदबहाली गरेका छन् ।