१८५ कम्पनीमध्ये १८३ वटाको सेयर मूल्य घट्यो, कारोबार दुईदिन यताकै उच्च
काठमाडौं । बिहीबारको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । सो दिन कारोबारमा आएका सूचीकृत १८५ कम्पनीमध्ये १८३ कम्पनीको सेयर मूल्य घटेको हो भने बाँकी दुईको सेयर मूल्य बढेको छ । बढ्नेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र राष्ट्रिय बीमा कम्पनी रहेका छन् । त्यसमा पनि मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यससँगै संस्थाको सेयर म्रल्य प्रतिकित्ता ८९९.९० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ८१.८० रुपैयाँले बढी हो । दोश्रो बजारमा सेयर कारोबार भएसँगै संस्थाको सेयर मूल्य निरन्तर रुपमा बढ्दै आएको छ । पछिल्लो केही दिनयता भने संस्थाको सेयर मूल्य सर्किट लेभलमा बढ्दै आएको छ । यससँगै संस्थाको १० कित्ता सेयर हुने लगानीकर्ताको सम्पत्ति बढेर आजको मितिमा ८९९९ रुपैयाँ पुगेको छ । त्यस्तै, सेयर मूल्य बढेको राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८ हजार ७०० रुपैयाँ पुगेको छ । जुन बुधबारको तुलनामा ०.०२ प्रतिशतले अर्थात ३.४० रुपैयाँ बढी हो । बिहीबारको बजारमा इक्विटीसहित कूल २२९ वटा स्क्रिप्स (ऋणपत्र, म्युचुअल फण्ड)हरु को कारोबार भएको छ । त्यसमध्ये १८५ वटा कम्पनीको इक्विटी अर्थात सेयर कारोबार भएको छ । बिहीबार टप गेनरमा भने मनकामना लघुवित्त, राष्ट्रिय बीमा कम्पनीसहित ७ वटा स्क्रिप्सहरु रहेका छन् । जसमध्ये आईसीएफसी फाइनान्सको १२ प्रतिशत डिबेन्चर २०८३ को भाउ १.२३ प्रतिशतल बढेर प्रतिथान ११४० रुपैयाँ पुगेको छ । त्यस्तै, सानिमाको ८.५ प्रतिशत डिबेन्चरको भाउ ९७५ रुपैयाँ, सानिमाकै १० प्रतिशत डिबेन्चरको भाउ प्रतिथान १०३३ रुपैयाँ, सानिमा लार्ज क्याप फण्डको इकाई मूल्य ०.४० प्रतिशतले बढेर प्रतिइकाई १०.१६ रुपैयाँ र प्रभु बैंकको १०.२५ प्रतिशत डिबेन्चर २०८६ को भाउ ३ रुपैयाँले बढेर प्रतिथान १०३५ रुपैयाँ पुगेको छ । समग्रमा सेयर कारोबार मापक नेप्से परिसूचक ७६।६५ अंकले घटेर २८१२.३९ बिन्दुमा पुगेको छ । जुन बुधबारको तुलनामा २.६५ प्रतिशतले घटी हो । बिहीबारको बजार कारोबार खुलेदेखि निरन्तर रुपमा घटिनै रह्यो । सो दिन अघिकांश बैंकले ब्याजदर बढाएको नयाँ सूचना प्रकाशित गरेसँगै त्यसको प्रभाव बजारमा परेको हो । बजारमा परिसूचमा उच्च गिरावट आएपनि कारोबार रकममा भने वृद्धि भएको छ । दिनभरको कारोबारमा ९ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जुन गत दुईदिन यताकै उच्च हो । गत मंगलबार र बुधबारको बजारमा ५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
२८०० बिन्दुबाट तल झर्यो नेप्से, कारोबार रकममा भने वृद्धि
काठमाडौं । बिहीबारको बजारमा नेप्से परिसूचक २८०० बिन्दुबाट पनि तल झरेको छ । कारोबार खुलेदेखि ओरालो लागेको बजारमा परिसूचक ९०.९३ बिन्दुले घटिसकेको छ । दिउँसो १ बजेर ३६ मिनेट जाँदा परिसूचक ९०.९३ अंकले घटेर २७९८.११ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.१५ प्रतिशतले कम हो । बजारमा परिसूचक तीव्र रुपमा घटेपनि कारोबार रकममा भने वृद्धि भएको छ । यो अवधिसम्म २२३ कम्पनीको सेयर ५ अर्ब ७७ करोड रुपैयाँ बढीमा किनबेच भएको छ । जुन पछिल्लो दुई दिनको कारोबार रकमभन्दा बढी हो । यो अवधिसम्म सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको २५ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ । पछिल्लो समय बजार निरन्तर घटेसँगै अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । यहि मौकामा लगानीकर्ताहरुले सेयर किन्न तातिएसँगै सेयर कारोबार रकम बढेको बुझिन्छ ।
१० मिनेटमै ५२ अंकले घट्यो नेप्से
काठमाडौं । बिहीबार सेयर कारोबार खुलेको १० मिनेट नबित्दै नेप्से परिसूचक ५२ अंकले घटेको छ । नियमित सयम ११ बजे खुलेको बजार ११ बजेर १० मिनेट नबित्दै ५२.५४ अंकले घटेर २८३६.५० बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा पौने २ प्रतिशतले घटी हो । यो अवधिसम्म १४५ कम्पनी सेयर कारोबारमा आइसकेका छन् । उक्त कम्पनीको ७ लाख ७ हजार ३४० कित्ता सेयर ४२ करोड ९१ लाख रुपैयाँमा किनबेच भइरहेको छ । अधिकांश बैंकहरुले निक्षेप र कर्जाको ब्याजदर बढाएर नयाँ सूचना प्रकाशित गरेसँगै त्यसको नकारात्मक प्रभाव बिहीबारको बजारमा परेको हो । बिहीबार मात्रै वाणिज्य बैंकमध्ये १७ वटाले पछिल्लो ब्याजदर सार्वजनिक गरेका छन् ।