राप्ती हाइड्रोले २९ करोडको आईपीओ जारी गर्ने
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले प्राथमिक सार्वजनिक निष्काशन(आईपीओ) जारी गर्ने प्रकृया अघि बढाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिँदै उक्त प्रकृया अघि बढाएको हो । कम्पनीले एक सय अंकित दरका २९ लाख ४१ हजार ४१० कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले स्थानिय र सर्वसाधारणलाई गरी कूल २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो । बोर्डको स्वीकृति पाएसँगै कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्फत सो मात्राको सेयर जारी गर्ने छ ।
अपर तामाकोशीले एकैपटक बोलायो दुई साधारण सभा, असोज ४ गते बुक क्लोज
काठमाडौं । अपर तामाकोशी हाइड्रो पावरले एकैपटक दुई वर्षको साधारण सभा आव्हान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को बाह्रौं र तेह्रौं वार्षिक साधारण सभा एकैपटक अर्थात असोज १९ गते बोलाएको हो । उक्त सभा सो दिन बिहान काठमाडौंको दरवारमार्गस्थित नेपाल विद्युत प्राधिकरणमा भर्चुअल माध्यमबाट बस्ने भएको छ । यससँगै दुबै सभाले आयोजना प्रभावित दोलखाका विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई उपलब्ध गराएको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ । उक्त सभामा जाने प्रयोजनको लागि आगामी असोज ४ गते एक दिन कम्पनीको बुक क्लोज हुने छ । यससँगै असोज ३ गतेसम्म कायम सेयरधनीहरु उक्त सभामा बस्न योग्य हुनेछन् ।
अरुण कावेली पावरले शेयरधनीलाई १७.८९ प्रतिशत लाभांश दिने
काठमाडाैं । अरुण कावेली पावर लिमिटेडले शेयर धनीहरुलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शनिबार काठमाडौंमा भएको साधारणसभाले संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजिको १७ प्रतिशतको दरले बोनश शेयर लाभांश दिने निर्णय गरेकाे हो । साथै कम्पनीले शेयरधनीलाई कर प्रयोजनको लागि थप ०.८९ प्रतिशत नगद लाभांश गरी कुल १७.८९ प्रतिशत दिने निर्णय गरेको छ । पाँचथर र ताप्लेजुङको बिच भएर बग्ने कावेली नदीमा २५ मेघावाटको जलविद्युत आयोजना सञ्चालनमा रहेको छ । २०७६ कार्तिक २३ बाट व्यापारिक उत्पादन शुरु गरेको अरुण कावेली पावर लिमिटेडले ७०.६७ करोड आम्दानी गरिसकेको छ ।