तेह्रथुम पावरको सेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल, छिट्टै किनबेच गर्न पाइने
काठमाडाैं । तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल नियुक्त भएकाे छ । साे सम्बन्धमा क्यापिटल र तेह्रथुम पावर कम्पनीबीच बिहीबारको द्विपक्षीय सम्झौता भएको हाे । उक्त सम्झौतामा तेह्रथुम पावर कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक रामकुमार महतले हस्ताक्षर गरेका हुन् । हालै आईपीओ जारी गरेको तेह्रथुम पावर कम्पनीको चुक्ता पुँजी ४० करोड रूपैयाँ पुगेको छ । जसमध्ये ७० प्रतिशत अर्थात २८ करोड रकम संस्थापकहरुबाट र बाँकी ३० प्रतिशत अर्थात १२ करोड रकम सर्वसाधारण ९आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु समेत० नेपाली नागरिकहरुबाट कम्पनीको पुँजी उठाईएको छ । कम्पनीले अब छिट्टै नेपाल स्टक एक्सचेञ्जमा सूचिकरण र सिडिएस एण्ड क्लियरिङमा अभौतिकिकरण गरी दोश्रो बजारमा कारोबार हुने व्यवस्था मिलाइने जानकारी दिएकाे छ । यससँगै लगानीकर्ताले संस्थाको सेयर किनबेच गर्न पाउने छन् ।
प्रि ओपनिङ्गमा ५ अंकले बढेको नेप्से परिसूचक १५ मिनेटमै ५४ अंकले घट्यो
काठमाडौं । सोमबारको सेयर बजारले ओरालोको बाटो तय गरेको छ । प्रि ओपनिङ्गमा ५ अंकले बढेको नेप्से परिसूचक कारोबार शुरु भएको १५ मिनेटमै ५४ अंकले ओरालो लागेको छ । यो अवधिमा परिसूचक २७५८ बिन्दुमा रहेको छ । पछिल्लो कारोबारको तुलनामा १.९३ प्रतिशतले घटी हो । यो अवधि (११ बजेर १५ मिनेट जाँदा) सम्म १८२ कम्पनीको ४८ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । जसमध्ये सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार भएको छ । संस्थाको ४ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म ९ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
डिप्रोक्स लघुवित्तले डाक्यो साधारणसभा, असोज १२ गतेदेखि बुक क्लोज
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आगामी असोज २३ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । उक्त सभा सो दिन बिहान ११ बजे चितवनको भरतपुरस्थित रहेको चितवन गार्डेन रिर्सोटमा बस्न लागेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सेयरधनीलाई २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । साथै, बोनस सेयर जारी गर्दा दशमलब पछिको सेयर अंकलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने संस्थाले जनाएको छ । २० प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी १ अर्ब ३८ करोड रुपैयाँ पुग्ने छ । त्यस्तै, सभाले डिप्रोक्स लघुवित्त र नाडेप लघुवित्तबीच प्राप्ति कार्य अगाडि बढाउन नसकिने भएकोले सो को लागि नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेको छ । सो सम्बन्धमा हालसम्म भए गरेका सम्पूर्ण कार्यहरु अनुमोदन गर्ने संस्थाले जनाएको छ । साथै, सभाले सो कार्यको लागि नियमनकारी निकायहरुको निर्देशन बमोजिम काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ । । साथै, साधारण सेयरधनीमध्येबाट ३ जना सञ्चालकलाई निर्वाचन गर्ने संस्थाको प्रस्ताव रहेको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी असोज १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज हुने छ । यससँगै असोज ११ गतेसम्म कायम सेयरधनीले संस्थाकोे प्रस्तावित लाभांश पाउने छन् ।