नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको आठौं वार्षिक सभा सम्पन्न

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।  प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराईले कम्पनीको उद्देश्य परिवर्तन र सर्वसाधारणमा सेयर जारी गर्नु पर्ने आवश्यकताका बारेमा प्रकाश पारेका थिए । अध्यक्ष शाहले मन्तव्य प्रस्तुत गर्दै नेक्सजेन म्यानेजमेन्टको विगत, वर्तमान अवस्था, भावी रणनीति तथा कार्यक्रमको बारेमा जानकारी गराए ।  साधारण सभामा संस्थापकहरू रामकृष्ण पौडेल, श्रीचन्द्र भट्ट, बलराम विष्ट, सुरेश सापकोटा तथा आमन्त्रीत मनोरञ्जन रमण शर्मा र  विजय बहादुर शाहले  कम्पनीको बारेमा विभिन्न जिज्ञासा राखेका थिए । सभाले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय प्रतिवेदन पारित गर्ने, कम्पनीको उद्देश्यमा थप व्यवस्था गर्ने र आव २०८२/०८३ को लागि लेखा परीक्षकको नियुक्ति पारित गरेको थियो ।  त्यसैगरी, जारी तथा चुक्ता पूँजी ५० करोड पुर्‍याउने क्रममा प्रिमियममा थप संस्थापक सेयर बिक्री गर्न, ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न तथा सहायक कम्पनी एग्रो डेभलपमेन्ट फण्ड लिमिटेडमा गरेको लगानी समेत सभावाट सर्वसम्मतले अनुमोदन भएको छ । नेक्सजेन म्यानेजमेन्ट २०७५ सालमा स्थापना भएको  हो । यो कम्पनी विगत ६ वर्षदेखि निरन्तर खुद मुनाफामा रहेको छ ।

सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हट्यो

काठमाडौं । सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औषत गणना विधि हटाइएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।  गत वर्षको चैत ७ गतेदेखि लागु हुने गरेर नेप्से अन्तिम १५ मिनेटको बजार कारोबारलाई आधारित मानेर भारित औषत गणना गर्ने निर्णय गरेको थियो । तर, उक्त विधिका कारण सेयर मूल्यमा म्यानुपुलेट भएको भन्दै लगानीकर्ताले हटाउनुपर्ने माग गरिरहेका थिए । प्रवक्ता पराजुलीका अनुसार, आज परीक्षण गरिएको यो व्यवस्था ६ असोजबाट लागू हुनेछ । तर, भोलि घटस्थापनामा सार्वजनिक बिदा भएको कारण बजार बन्द रहनेछ ।

सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ ३० गतेदेखि बिक्री खुला गरिएको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आज असोज ५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँको १ लाख ४५ हजार २ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । साथै, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोष, ४३ हजार ५६० कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको ११ लाख ९० हजार ६४० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।  लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिङ्गल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।