सेयर धितो राखेर १२ करोडभन्दा बढी ऋण लिनै नपाइने हो ? एकल ग्राहकभित्र को-को पर्छन् ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत एक जना ग्राहकले बैंक तथा वित्तीय संस्थाहरुबाट मार्जिन प्रकृतिको कर्जा १२ करोड रुपैयाँभन्दा बढी लिन नपाइने व्यवस्था गर्यो । यस्तै, एक जना ग्राहकले एउटै बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँभन्दा बढी ऋण लिन नपाइने व्यवस्था पनि गरियो । मौद्रिक नीतिमा गरिएको व्यवस्था अनुसार राष्ट्र बैंकले निर्देशन पनि जारी गरिसकेको छ । अर्थात मौद्रिक नीतिमा भएको व्यवस्था कार्यान्वयनमा आइसकेको छ । नयाँ व्यवस्था अनुसार कुनै एक जनाले एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड रुपैयाँसम्म र एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट बढीमा १२ करोड रुपैयाँसम्म मात्रै मार्जिन प्रकृतिको कर्जा लिन पाइने भएको छ । यसअघि यस्तो व्यवस्था थिएन । नयाँ व्यवस्थाप्रति बैंकर र सेयर लगानीकर्तामा हामीले केही अस्पष्टता भएको पायौं । जस्तो कि सेयर धितो राखेर एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँभन्दा बढी कर्जा नपाइने नै हो ? र, दोस्रो अस्पष्टता– एकल ग्राहक भनेको के हो ? एकै परिवारका सदस्यहरुले प्रत्येक व्यक्तिका नाममा ४ करोड र १२ करोड रुपैयाँसम्मको कर्जा लिन पाइने हो कि होइन ? यी प्रश्नको जवाफ भन्दा पहिला नेपाल राष्ट्र बैंकले आफ्नो निर्देशनमा उल्लेख गरेको हेरौं । ‘मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा (सिंगल अब्लिगर लिमिट): मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा (सिंगल अब्लिगर लिमिट) एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम रु. ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम रु. १२ करोड कायम गरिएको छ । यो निर्देशन जारी हुनु पूर्व (मिति २०७८।०५।०८) कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा आगामी एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्नेछ ।’ नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनमा लेखिएको कुरा यही नै हो । त्यसो भए सेयर धितो राखेर ४ करोड र १२ करोडको सीमाभन्दा बढी ऋण लिनै नपाइने हो त ? कुनै व्यक्ति वा संस्थासँग ५ अर्बको सेयर छ भने उसले ४ करोड र १२ करोड रुपैयाँको सीमाभन्दा बढी कर्जा लिनै नपाइने नियम यसपाली राष्ट्र बैंकले बनाएको हो ? हामीले यो प्रश्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रलाई सोधको छौं । ‘मार्जिन प्रकृतिको कर्जा भनेको आफूसँग भएका वा आफूले किन्न खोजेका सेयर नै धितो राखेर थप सेयर किन्नको लागि लिइने ऋण हो, यस्तो ऋण भने एउटै बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँसम्म र एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुकाट १२ करोड रुपैयाँसम्म मात्रै ऋण लिन पाइन्छ भनिएको हो तर, आफूसँग धेरै सेयर छ, त्यस्तो सेयर धितो राखेर तपाईं कुनै उद्यम व्यवसाय गर्न चाहनुहुन्छ भने त पाइहालिन्छ नि, त्यसमा अंकुस लागेकै छैन,’ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले प्रष्ट्याए । उनले अझ स्पष्ट पार्ने कोसिस गर्दै भनेका थिए– तपाईंसँग भएको सेयर धितो राखेर कुनै होटल खोल्न चाहनुहुन्छ, कुनै उद्योग स्थापना गर्न खोज्नुहुन्छ, कुनै व्यापार व्यवसाय गर्न ऋण लिन चाहनुहुन्छ भने पाइन्छ, सेयर किन्ने प्रयोजनको लागि मात्रै राष्ट्र बैंकले ४ करोड र १२ करोडको सीमा तोकेको हो । अन्य प्रयोजनको लागि लिइने कर्जाको लागि हुदैहोइन । अब दोस्रो अस्पष्टाको विषयमा हामीले नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालसँग सोधेका छौं । प्रश्न थियो– मेरो परिवारमा ४ जना सदस्य छन् भने ४ जनाकै नाममा ४ करोड र १२ करोडको सीमासम्मको मार्जिन प्रकृतिको कर्जा लिन पाइन्छ कि पाइदैन ? ‘नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जाका हकमा एकल ग्राहक सीमा (सिंगल अब्लिगर लिमिट) भनेको छ, यो भनेको तपाईंको परिवारमा ४ जना सदस्य छन् भने चारै जनाले ४ करोड र १२ करोडको मार्जिन प्रकृतिको कर्जा सुविधा उपभोग गर्न पाइन्छ भनेको होइन, तपाईंको परिवारका जुन सदस्यको नाममा भएपनि वा सबै सदस्यको नाममा एउटै बैंक वित्तीय संस्थाबाट ४ करोड रुपैयाँसम्म र एकभन्दा बढी बैंक वित्तीय संस्थाहरुबाट १२ करोड रुपैयाँसम्म मार्जिन प्रकृतिको कर्जा पाइन्छ,’ नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशन तथा प्रवक्ता ढकालले भने । ढकालले अझ स्पष्ट पार्ने कोसिस गर्दै भनेका थिए– तपाईंको परिवारमा ४ जना सदस्य छन् भने कुनै सदस्य (छोरा, छोरी, श्रीमती, श्रीमान् मध्ये कोही) को नाममा एउटै बैंक वित्तीय संस्थाबाट ४ करोड रुपैयाँसम्म र एकभन्दा बढी बैंक वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म मार्जिन प्रकृतिको कर्जा लिन पाउनु हुन्छ, परिवारका चारै जना सदस्यको नाममा यस्तो कर्जा लिइएको छ भने पनि त्यसको सीमा ४ करोड र १२ करोड रुपैयाँसम्मको मात्रै हो ।
तेह्रथुम पावरको आईपीओ आजदेखि भर्न पाइने
काठमाडौं । तेह्रथुम पावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) आज बुधबार भदौ ९ गतेदेखि भर्न पाइने भएको छ । कम्पनीले आजदेखि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेसँगै सर्वसाधारणले आवेदन दिन पाउने भएका हुन् । यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियको लागि सेयर जारी गरी बाँडफाँड समेत गरिसकेको थियो । कम्पनीले उनीहरुलाई ४ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गरेको थियो । यससँगै कम्पनीले भदौ ९ गतेदेखि दोस्रो चरणमा ८ लाख कित्ता सेयर बिक्री खुला गरेको छ । जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । र, बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरिएको हो । त्यस्तै, उक्त सेयरमा आवेदन दिन इच्छुकले भदौ ९ गतेदेखि भदौ १३ गतेसम्ममा आवेदन दिन पाउनेछन् । यदि सो अवधिसम्ममा माग अनुसारको आवेदन नपरेमा आगामी भदौ २३ गतेसम्म बिक्री खुला गरिने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको क्यापिटलले जनाएको छ । उक्त आईपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ ।
मार्जिन लेण्डिङमा कडाईः १२ करोडको सीमा, बढी दिएको भए एक वर्षभित्रै घटाउनु पर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयसरधितो कर्जामा कडाई गरेको छ । राष्ट्र बैकले मंगलबार चालु आवको मौद्रिक नीति कार्यान्वयनका लागि जारी गरेको परिपत्रले मार्जिन प्रकृतिको सेयर धितोको कर्जाको सिमा एक बर्ष भित्र १२ करोडमा झार्नलाई निर्देशन दिएको हो । निर्देशनअनुसार कुनै बैंक व्यक्तिले लिएको यस प्रकारको कर्जा मौद्रिक नीति जारि भएको मितिबाट लागू हुनेगरि कर्जाको अवधि वा एक बर्ष भित्र जुन पहिले आउँछ सो अवधिभित्र तोकिएको सिमा भित्र ल्याउनु पर्नेछ । परिपत्रमा ग्राहकले बढीमा १२ करोड रुपैयाँ र एउटा संस्थाबाट ४ करोडसम्म मात्र मार्जिन सेयर धितो कर्जा पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकको निर्देशनमा मार्जिन सेयर धितो कर्जाको एकल ग्राहकलाई मात्र यस्तो व्यवस्था लागु हुने जनाएको छ ।