मेगा म्युचुअल फण्ड-१ मा ऐतिहासिक रेकर्ड, पर्यो हालसम्मकै बढी आवेदन

काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड-१’ मा माग गरेभन्दा २.३७ गुणा बढी आवेदन परेको छ । निष्काशन गरेको दुई दिनमै मागभन्दा बढी आवेदन परेको उक्त योजनामा चार दिनमा २० करोड १४ लाख ५५ हजार ६०० रुपैयाँ बराबरको आवेदन परेको हो । सो अवधिसम्म कूल १ लाख ६३ हजार ६४६ जना आवेदकले उक्त रुपैयाँ बराबरको आवेदन दिएका हुन् । जुन नेपालको वित्तीय इतिहासमा हालसम्मकै म्युचुअल फण्डमा सबैभन्दा धेरै आवेदन परेको क्यापिटलले जनाएको छ । फण्डको प्रतिइकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाई निष्काशन गरेको हो । जसमध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंकको लागि सुरक्षित राखेको हो । र, बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्काशन गरेको थियो । मागभन्दा धेरै बढी इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरि इकाईहरु बाँडफाँड गरिनेछ ।

गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । इन्स्योरेन्सको १७ लाख ७८ हजार २६ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको हो । यससँगै कम्पनीको संस्थापक र साधारण सेयरको स्वामित्व क्रमशः ५१ र ४९ प्रतिशत भएको छ । यसअघि कम्पनीमा संस्थापक सेयरको स्वामित्व ६० प्रतिशत र साधारण सेयरको स्वामित्व ४० प्रतिशत रहेको थियो ।

१५२१ अंकले बढ्यो नेप्से, सूचीकृत कम्पनीको संख्या बढ्दा पुँजीकरण ४० खर्ब माथि

काठमाडौं । एक वर्षमा सेयर कारोबार मापक नेप्से परिसूचक १५२१ अंकले बढेको छ । गत २०७७ असार मसान्तमा १३६२.४ रहेको नेप्से सूचकाङ्क २०७८ असार मसान्तमा २८८३.४ बिन्दु पुगेको छ । समीक्षा अवधिमा सेयर बजार पुँजीकरण बढेर ४० खर्ब १० अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा २२ खर्ब १८ अर्ब २० करोड रुपैयाँले बढी हो । अघिल्लो वर्ष अर्थात २०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो । २०७८ असारमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २१९ पुगेको छ । सूचीकृत कम्पनीमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीको संख्या २१२ मात्रै रहेको थियो । सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६८.९ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ८.४ प्रतिशत, लगानी कम्पनीको ८.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.७ प्रतिशत, होटेलको हिस्सा १.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.९ प्रतिशत रहेको छ । नेप्सेमा २०७८ असारसम्ममा सूचीकृत ५ अर्ब ८३ करोड सेयरको चुक्ता मूल्य ५ खर्ब ७३ अर्ब २४ करोड रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा कुल ४ खर्ब ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको छ । जसमा २ खर्ब ८४ अर्ब ९५ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र, ४६ अर्ब ७४ करोड बराबरको बोनस सेयर, ४२ अर्ब १७ करोड रुपैयाँ बराबरको साधारण सेयर, १८ अर्ब ५५ करोड रुपैयाँ बराबरको डिबेन्चर, ६ अर्ब ८५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र ५ अर्ब ५२ करोड बराबरको हकप्रद सेयर रहेका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ६१ अर्ब ६७ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशन गर्न अनुमति दिएको छ । जसमध्ये २३ अर्ब ४ करोड रुपैयाँ बराबरको डिबेन्चर, १५ अर्ब १८ करोड रुपैयाँ बराबरको साधारण सेयर, १४ अर्ब ५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ९ अर्ब ४० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड रहेका छन् ।