जीवन विकास लघुवित्तको सेयरमा आज पनि सर्किट, प्रतिकित्ता कति पुग्यो ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ । आइतबार कारोबार खुलेको केही समय नबित्दै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो । यससँगै कम्पनीको सेयर प्रतिकित्ता ४२९६.७० रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनमा प्रतिकित्ता ३९० रुपैयाँले बढी हो । अघिल्लो कारोबार अर्थात गत बिहीबारको बजारमा पनि कम्पनीको सेयरमा सर्किट लागेर प्रतिकित्ता ३९०६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । दोश्रो बजारमा कोरोबार शुरु भएदेखि नै कम्पनीको सेयर मूल्यमा निरन्तर सकारात्मक सर्किट लागिरहेको छ । हालसम्म कम्पनीको सेयर मूल्य ३७० प्रतिशत बढीले बढेको छ । पहिलो दिन प्रतिकित्ता ९१४ रुपैयाँदेखि कारोबार शुरु भएको कम्पनीको भाउ बढेर प्रतिकित्ता ४२९६ रुपैयाँसम्म पुगिसकेको छ ।
मञ्जुश्री फाइनान्सको संस्थापक सेयर किन्ने आज अन्तिम मौका
काठमाडौं । मञ्जुश्री फाइनान्सको संस्थापक सेयर किन्न आज अन्तिम मौका रहेको छ । संस्थाले संस्थापक समूह अन्तर्गतको सेयर आज भदौ ८ गतेसम्म मात्रै बिक्री गर्न लागेको हो । यससँगै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आज कार्यलय समय भित्र आवेदन दिन सक्नेछन् । उनीहरुले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् । इच्छुकले प्रतिकित्ता आफूले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सक्नेछन् । संस्थाले संस्थापक समूह अन्तर्गतको १२ हजार ५८७ कित्ता सेयर बिक्री गरिरहेको छ । जसको प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ मात्र तोकिएको छ । जुन बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम जति पनि संख्यामा सेयर खरिद गर्न सक्नेछन् ।
१३ कम्पनीको एक अर्बको बोनस सेयर दर्ता, सबैभन्दा बढी लगानी कोषको (कसको कति ?)
काठमाडौं । चालु आर्थिक वर्ष शुरु भएसँगै नेपाल धितोपत्र बोर्डमा १३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आर्थिक वर्ष २०७८/७९ शुरु भएयता विभिन्न १३ कम्पनीको एक अर्ब रुपैयाँ बढीको सेयर बोर्डमा दर्ता भएको हो । गत साउन ३ गतेदेखि एक महिनाको अवधि (हालसम्म) मा कूल एक करोड ७ लाख १९ हजार ७५ कित्ता बोनस सेयर दर्ता भएका छन् । उनीहरुले आर्थिक वर्ष २०७६/७७ को बोनस सेयर दर्ता गराएका हुन् । नेप्सेमा सूचीकृत विभिन्न समूहमध्ये हालसम्म माइक्रोफाइनान्स, इन्स्योरेन्स, फाइनान्स, हाइड्रो र अन्य समूह अन्तर्गतका केही कम्पनीको मात्रै सेयर दर्ता भएका छन् । जसमध्ये सबैभन्दा बढी माइक्रोफाइनान्स अर्थात लघुवित्त समूहका रहेका छन् । बोनस दर्ता गराएका १३ कम्पनीमध्ये ८ कम्पनी माइक्रोफाइनान्स समूह अन्तर्गतका रहेका छन् । त्यस्तै, फाइनान्सका १, हाइड्रोका १, अन्य समूहका १ र बीमा समूहका २ कम्पनी कम्पनीले आव २०७६/७७ को बोनस सेयर दर्ता गराएका हुन् । ८ माइक्रोफाइनान्स कम्पनी, कसको कति ? फर्वाड माइक्रोफाइनान्सले अघिल्लो आवको २५ प्रतिशत बोनस सेयर दर्ता गराएको हो । कम्पनीले गत साउन ३ गतेनै सो मात्रा अर्थात १२ करोड ५१ लाख रुपैयाँ बराबरको बोनस सेयर बोर्डमा दर्ता गराएको हो । त्यस्तै, नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजीको १४ प्रतिशत अर्थात ८ करोड २१ लाख रुपैयाँ बराबरको बोनस दर्ता भएको छ । मिथिला लघुवित्त वित्तीय संस्थाले पनि गत साउन ३ गते नै अघिल्लो आवको बोनस सेयर दर्ता गराइसकेको छ । संस्थाले सो आवको चुक्ता पुँजीको १२ प्रतिशत अर्थात १ लाख ४६ हजार ८९ कित्ता अर्थात एक करोड ४६ लाख ८ हजार ९०१ रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको हो । त्यसैगरी, सबैको लघुवित्त वित्तीय संस्थाको १०.५० प्रतिशत अर्थात एक करोड ९५ लाख ७७ हजार २५० रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको छ । कम्पनीले गत साउन ११ गते सो मात्राको बोनस सेयर दर्ता गराएको हो । त्यसैगरी, नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको १ करोड ९१ लाख ५२ हजार रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएका छन् । संस्थाले गत साउन २२ गते आर्थिक वर्ष २०७६/७७ को ८.१३ प्रतिशत बोनस सेयर दर्ता भएको हो । सूर्योदय लघुवित्त वित्तीय संस्थाको पनि सोही आवको १५.३५ प्रतिशत अर्थात ३ करोड ३० लाख रुपैयाँ बराबरको बोनस सेयर बोर्डमा दर्ता भएको छ । त्यस्तै, स्वावलम्बन र नेरुडे लघुवित्त वित्तीय संस्थाको क्रमशः १९.०१ र ८ प्रतिशत बोनस सेयर दर्ता भएका छन् । जसमध्ये स्वावलम्बन लघुवित्तको १५ करोड ६ लाख ६१६ रुपैयाँ र नेरुडेको ३ करोड ६५ लाख ८३ हजार ५२४ रुपैयाँ बराबरको बोनस सेयर रहेका छन् । २ इन्स्योरेन्सको १३ करोड ९२ लाख रुपैयाँको चालु आवमा बोनस सेयर दर्ता गर्नेमा हालसम्म दुई इन्स्योरेन्स रहेका छन् । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आव शुरुभएसँगै अघिल्लो आवको बोनस सेयर दर्ता गरेका हुन् । उनीहरुले कूल १३ करोड ९२ लाख ४ हजार ५ सय रुपैयाँ बराबरको बोनस सेयर दर्ता गराएका छन् । जसमध्ये सबैभन्दा बढी प्रुडेन्सियल इन्स्योरेन्सको रहेको छ । इन्स्योरेन्सले सोही आवको नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत अर्थात ८ लाख २१ हजार १४५ कित्ता बोनस सेयर दर्ता गराएको हो । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको पनि सोही आवको ५ प्रतिशत अर्थात ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरका ५ लाख ७० हजार ९०० कित्ता बोनस सेयर दर्ता भएको हो । फाइनान्स समूहमध्ये रिलायन्स फाइनान्सको बोनस सेयर बोर्डमा दर्ता भएको छ । बोर्डमा फाइनान्सको १० प्रतिशत अर्थात ८ करोड ३२ लाख १४ हजार ६०६ रुपैयाँ बराबरको बोनस दर्ता भएको हो । संस्थाले अघिल्लो आवको सो मात्राको सेयर गत साउन ७ गते बोर्डमा दर्ता गराएको हो । हाइड्रो समूह अन्तर्गतको राधी विद्युत कम्पनीको ३६.५० प्रतिशत बोनस सेयर दर्ता भएको छ । संस्थाले गत साउन १४ गते अघिल्लो आवको १७ करोड २८ लाख ४८ हजार १२२ रुपैयाँ बराबरको बोनस सेयर बोर्डमा दर्ता गराएको हो । सबैभन्दा बढी लगानी कोषको साथै, अन्य समूह अन्तर्गतको सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट (नागरिक लगानी कोष) ले पनि अघिल्लो आवको बोनस सेयर गत साउन २८ गते दर्ता गराएको छ । कम्पनीको ९ प्रतिशत अर्थात २७ करोड रुपैयाँ बराबरको २७ लाख कित्ता बोनस सेयर दर्ता भएको हो । जुन चालु आवमा हालसम्म दर्ता गराएकामध्ये सबैभन्दा बढी हो ।