एनआइबिएल सहभागिता फण्ड तेश्रो वर्षमा, लगानीकर्ताले आजै दुई गुणासम्म लगानी बढाउन पाउने

काठमाडौं । नेपालकै पहिलो खुलामुखी योजना एनआइबिएल सहभागिता फण्डले संचालनको दोस्रो वर्ष पार गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालित यस योजनाले नेपालकै पूँजीबजारमा खुलामुखी योजनाको परिचय दिन सफल भएको हो । खुलामुखी योजानाले सञ्चालनको पहिलो आर्थिक वर्ष २०७६/२०७७ मा नै इकाईधनीहरुको लागि ८.२५ प्रतिशत नगद लाभांश समेत प्रदान गर्न सफल भएको थियो । असार २२ गतेको तथ्याङ्क अनुसार रहेको यो योजानाको प्रति इकाई खुद मूल्य १७ रुपैयाँ २१ पैसा पुगेको छ भने योजानाको आकार ३१ करोड ४२ लाख रुपैयाँ पुगेको छ । योजनाको अंकित मूल्य १० रुपैयाँ रहेको छ । योजना व्यवस्थापक, एनआईबिएल एस क्याप्टिलले एनआइबिएल सहभागिता फण्डको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा लगानीकर्तालाई आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउने योजाना गत आइतबार असार २० गतेदेखि आज बिहीबार असार २४ गतेसम्मको लागि ल्याएको छ । यससँगै यो योजनामा हालसम्म सहभागी नभएका लगानीकर्ता आज अन्तिम दिन दिउँसो ३ बजेसम्ममा सहभागी हुन सक्नेछन् । योजनाको नतिजा आगामी साउन १५ गते गोलाप्रथाद्वारा फेसबुकल लाइभ मार्फत गरिनेछ । र, योग्य सहभागिहरुबाट २० जना विजेता घोषणा गरिने र पूर्व निर्धारित नियम र सर्तहरु अनुसार पुरस्कार वितरण गरिने क्यापिटलले जनाएको छ ।

एकैदिन ६ लाख ८७ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन ६ लाख ८७ हजार ५९५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । असार २३ गते मात्रै दुई लघुवित्तको सो मात्राको सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये सबैभन्दा बढी नेशनल माइक्रोफाइनान्सको २१ प्रतिशत अर्थात ५ लाख ५४ हजार ४९५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । त्यस्तै, महिला सहयात्राको १० प्रतिशत अर्थात १ लाख ३३ हजार १०० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यससँगै दुबै संस्थाको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ र दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

आरविवि म्युचुअल फण्ड १ को बिक्री खुला, आवेदकले उच्च प्रतिफल पाउने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आज (असार २३ गते) देखि आरविवि म्युचुअल फण्ड खुला गर्ने भएको छ । मर्चेन्टले आरविवि म्युचुअल फण्ड १ नामक एक अर्ब रुपैयाँ बराबरको योजना निष्काशन तथा बिक्री खुला गरेको हो । यस योजनाको कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यो एक बन्दमूखि योजना हो र योजनाको अवधि ७ वर्ष रहने छ । कोष प्रवद्र्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमको १३ प्रतिशत तथा योजना व्यवस्थापकले २ (दुई) प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गर्नेछ । प्रतिईकाई मुल्य १० रुपैयाँ रहेको म्युचुअल फण्डमा अधिकतम एक करोड ईकाई संख्यासम्म लगानी गर्न सकिने छ । इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक योजनाले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पुर्याउने उद्देश्यले यस योजनाको इकाईहरु निष्काशन गर्न लागिएको हो । नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयमा गई आवेदन दिन सकिन्छ । मेरो सेयर प्रयोग गर्ने लगानीकर्ताले मेरो सेयरको वेवसाइटमा गई आवेदन दिन सक्नेछन् । छिटोमा यही असार २७ गते बिक्री बन्द हुने यो फण्ड ढिलोमा साउन ६ गतेसम्म खुल्ला रहने छ ।