अपि पावरको हकप्रदमा आवेदन दिने म्याद थपियो
काठमाडौं । अपि पावरले हाल निष्काशन गरिरहेको हकप्रद सेयरमा आवेदन दिने म्याद थपेको छ । कम्पनीले गत जेठ २० गतेदेखि खुला गरेको हकप्रद सेयर आवेदनको अन्तिम दिन आज(अर्थात असार ९ गते) सम्मलाई तोकेको थियो । कम्पनीले आज एक सूचना जारी गर्दै हकप्रद सेयर आवेदन गर्ने म्याद ४ दिन थप गरेको छ । यससँगै गत बैशाख २८ गतेसम्म कायम सेयरधनीले असार १३ गतेसम्म कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीले साविकका सेयरधनीलाई १ः०.२९३८ को अनुपातमा हकप्रद सेयर जारी हाे । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरिरहेको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४९ करोड रुपैयाँ पुग्नेछ ।
मनकामना स्मार्ट लघुवित्तले आईपीओ जारी गर्न पायो बोर्डको स्वीकृति
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । संस्थाले ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न बोर्डको स्वीकृति पाएको हो । बोर्डले गत असार ६ गते मात्रै संस्थालाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै संस्थाले एक सय अंकित दरका ३ लाख ८९ हजार कित्ता सेयर निष्काशन गर्ने छ । संस्थाले अको केही दिनमा सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्फत सेयर जारी गर्ने छ ।
दोश्रो बजारमा शुरु भयो प्रभु सेलेक्ट फण्डको यात्रा, मूल्य बढ्दो
काठमाडौं । दोश्रो बजारमा प्रभु सेलेक्ट फण्डको यात्रा शुरु भएको छ । सोमबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको फण्डको आज अर्थात असार ७ गतेदेखि दोश्रो बजारको यात्रा शुरु भएको हो । पहिलो कारोबारमा फण्डको प्रतिइकाई १० रुपैयाँमा भएको थियो । यससँगै यो समाचार तयार पार्दासम्म फण्डको मूल्य ३ प्रतिशतले बढेको छ । दिउँसो १ बजेर ३६ मिनेटजाँदा फण्डको ईकाई मूल्य ३ प्रतिशतले बढेर प्रतिईकाई १०.३० रुपैयाँ पुगेको छ । यो अवधिसम्म फण्डको ६८ हजार ८३३ कित्ता ईकाई खरिदमा रहेका छन् भने ७३ हजार ५०० कित्ता बिक्रीमा रहेको छ । उक्त फण्ड ‘पीएसएफ’ सिम्बोलबाट काराेबार भइरहेकाे छ । प्रभु क्यापिटलको सामूहिक लगानी कोष योजना अन्तर्गतको प्रभु सेलेक्ट फण्ड हिजाे मात्रै नेप्सेमा सूचीकृत भएको थियाे । नेप्से र प्रभु क्यापिटलबीच प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष इकाई फण्ड सूचीकरण गर्ने सम्झौता भएको थियाे । उक्त फण्ड बाँडफाँड भएकाे एक महिना नबित्दै दाेश्राे बजारमा सूचीकृत भएकाे हाे । क्यापिटलले हालै जारी गरेकाे १ अर्ब २५ करोड रुपैयाँको उक्त फण्ड गत जेठ १४ गते मात्र बाँडफाँड भएकाे थियाे ।