राधीको सेयरमा मागको बाढी, बोनस र हकप्रदपछि हरियाली कि सुख्खा खडेरी ?

काठमाडौं । दोश्रो बजारमा सूचीकृत हाइड्रोमध्ये राधी विद्युत कम्पनी सबैभन्दा महङ्गो बनेको छ । सूचीकृत ४० कम्पनीमध्ये राधी विद्युत कम्पनीको सेयर प्रतिकित्ता १३०० रुपैयाँ पुगेको छ । त्यस्तै, राधीपछिको महङ्गो हाइड्रोको रुपमा रुरु जलविद्युत परियोजना रहेको छ । जसको सेयर प्रतिकित्ता ११७० रुपैयाँसम्ममा किनबेच भएको छ । एक वर्षअघि (जुन ३०, २०२०) राधी विद्युत कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६९ रुपैयाँ रहेको थियो । त्यसपछि बढेर गत चार महिना (फेब्रुअरी ४, २०२१) अघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४५ रुपैयाँ पुगेको थियो । सामान्य तवरले बढेको कम्पनीको सेयर मूल्य त्यसपछिको कारोबार भने तीव्र रुपले बढेको छ । एक महिनामै कम्पनीको सेयर मूल्य १२५ प्रतिशत बढीले बढेको छ । गत एक महिना अघि (मे ४, २०२१) मा प्रतिकित्ता ५७७ रुपैयाँमा कारोबार भएको सेयर गत जुन १ मा प्रतिकित्ता १३०० रुपैयाँमा कारोबार भयो । जुन हालसम्म कै उच्च मूल्य हो । तर जुन २ को बजारमा भने कम्पनीको सेयरमा १० प्रतिशतको करेक्सन लाग्यो र मूल्य प्रतिकित्ता १२०६ रुपैयाँमा झर्यो । त्यस्तै, कम्पनीले हालै मात्र बोनस र बोनसपछि हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । तर उक्त सूचना जारी हुनु अघि नै कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि हुनुले इन्साइडर ट्रेडिङ्ग भएको भन्ने आशंका गरिएको छ । बोनस र हकप्रद सेयर जारी गर्ने सूचना आधिकारिक रुपमा प्रकाशित हुनुभन्दा अघि नै भित्रैभित्रै फैलाएर कम्पनीको सेयर मूल्य बढाउने खेल खेलिएको जानकारहरु बताउँछन् । जसले गर्दा छोटो अवधिमा नै कम्पनीको सेयर मूल्यमा एकाएक परिवर्तन आएको स्पष्ट देखिन्छ । यद्यपि, यस विषयमा नियामक निकाय नेपाल धितोपत्र बोर्ड भने मौन छ । यो कम्पनी त केबल एउटा उदाहारण मात्रै हो । यस्ता उदाहारण त दोश्रो बजारमा जतिपनि भेटिइरहेका छन् । तर पनि नियामक भने तै चुप मै चुप भन्दै मौन बसिरहेको छ । कम्पनीले गत जेठ ३ गते मात्रै ३६.५० प्रतिशत बोनस (कर बाहेक) सेयर वितरण गर्ने र त्यसको १५ दिनमै अर्को सूचना जारी गरी बोनसपछि लगत्तै १४७.५२ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो । राधी विद्युत कम्पनीले पहिलो पटक सेयरधनीलाई हकप्रद सेयर जारी गर्न लागेको छ । कम्पनीले बोनसपछि जारी कायम हुने चुक्ता पुँजीको १४७.५२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ३६.५० प्रतिशत बोनस सेयर (कर बाहेक) वितरण गर्ने प्रस्ताव गरेको छ । जुन हालसम्मकै उच्च लाभांश हो । हाल कम्पनीको चुक्तापुँजी ४७ करोड ३५ लाख रुपैयाँ रहेको छ । ३६.५० प्रतिशत बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ पुग्नेछ । यससँगै बोनसपछि कायम उक्त ६४ करोड ६४ लाख रुपैयाँ चुक्ता पुँजीको १४७.५२ प्रतिशत अर्थात १ बराबर १.४७५२ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । १४७.५२ प्रतिशत हकप्रद सेयरपछि कम्पनीको चुक्ता पुँजी ९५ करोड ३५ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले बोनस सेयर वितरण गरेपछि हकप्रद सेयर जारी गर्ने भएकोले यो प्रकृया लामो हुनेछ । हकप्रद सेयरको प्रकृयासम्मको लागि नेप्सेमा कम्पनीको दुई पटकसम्म सेयर मूल्य समायोजन भएको हुन्छ । कम्पनीको जारी गर्न लागेको उक्त हकप्रद सेयर सबै सेयरधनीले किन्नै पर्छ भन्ने हुँदैन । र, किन्न इच्छुक हुने सेयरधनीले कम्पनीको बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म होल्ड गरेको वा दोश्रो बजारबाट सेयर किनेको हुनुपर्छ । मानौं, कम्पनीले आगामी असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ भने असार ६ गतेसम्म कम्पनीको सेयर किनेका अथवा सेयर होल्ड गरेका सेयरधनीले मात्रै कम्पनीले जारी गर्न लागेको हकप्रदमा आवेदन दिन योग्य हुनेछन् । यससँगै इच्छुक सेयरधनीले हकप्रद सेयर खरिद गर्न तोकिएको दरमा मूल्य तिर्नुपर्ने हुन्छ । कम्पनीले १ को अनुपातमा १.४७५२ हकप्रद सेयर जारी गर्ने भनिएमा सो कम्पनीको १०० कित्ता सेयर हुनेले कम्पनीबाट एक कित्ताको १०० रुपैयाँका दरले रकम तिरेर थप १४७.५२ कित्ता सेयर किन्न पाउँछ । जुनसुकै कम्पनीको बोनस या हकप्रद सेयर जारी गरिसकेपछि कम्पनीको सेयर मूल्य समायोजन हुन्छ र मूल्य घट्छ । त्यसपछि समायोजित मूल्यबाटै दोश्रो बजारमा सेयर किनबेच शुरु हुन्छ । सेयर मूल्य समायोजन गर्ने तरिका: (बुक क्लोजअघिको सेयरको मूल्य+ (हकप्रदको प्रतिसेयर भाउ×हकप्रद%))/(१+ हकप्रद %) राधी विद्युत कम्पनीले १४७.५२ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको छ । र, बुक क्लोजको अघिको बजारमा कम्पनीको सेयर प्रतिकित्ता १००० रुपैयाँ (मानिएको) मा अन्तिम कारोबार भएको छ । यस आधारमा कम्पनीको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता ४६३.६० रुपैयाँमा झर्ने छ । र, हकप्रद अघि एक हजार रुपैयाँमा कारोबार भइरहेको सेयर पछि समायोजन भएपछि प्रतिकित्ता ४६३.६० रुपैयाँदेखि दोश्रो बजारमा किनबेच शुरु हुने छ । यी तथ्यांकले राधी विद्युत कम्पनीको सेयर मूल्य अहिले दोस्रो बजारमा जसरी माथि गइरहेको छ वा बजारमा जसरी यो कम्पनीको सेयरको माग बढेको छ, यसले भोलिका दिनमा कायम हुन आउने मूल्यलाई ‘जष्टिफाइ’ गर्छ कि गर्दैन भनेर विश्लेषण आवश्यक छ । केही लगानीकर्ता भने अहिले राधी विद्युत कम्पनीमा मागको बाढी आएपनि बोनस वितरण र हकप्रदपछि हरियाली छाउने वा खडेरी पर्ने भन्नेमा यकिन हुन नसकिने बताउन थालेका छन् ।

अपि पावरको हकप्रद बिक्री खुल्यो, कहिलेसम्मका सेयरधनीले आवेदन दिन पाउँछन् ?

काठमाडौं । अपि पावर कम्पनीले आज(जेठ २० गते)देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले चुक्ता पुँजीको २९.३८ प्रतिशत अर्थात एक बराबर ०.२९३८ को अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । एक अर्ब ९२ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी भएको कम्पनीले एक सय अंकित दरका ५६ लाख ७० हजार कित्ता अर्थात ५६ करोड ७० लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको हो । उक्त सेयरको निष्काशन आज(जेठ २० गते) देखि असार ९ गतेसम्म बिक्री खुला हुने छ । यससँगै योग्य सेयरधनीले आजेदेखि असार ९ गते बैंकिङ्ग समयभित्रमा आवेदन दिन सक्ने छन् । उनीहरूले मेराे सेयरकाे मार्फत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि कम्पनीले गत बैशाख २९ गते बुक क्लोज गरेको थियो । यससँगै गत बैशाख २८ गतेसम्म कायम सेयरधनी मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन योग्य हुने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले यसअघि पनि ४७ प्रतिशत हकप्रद सेयर सेयरधनीमा बिक्री गरिसकेको थियो । हाल एक अर्ब ९२ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी २९.३८ प्रतिशत हकप्रद सेयर बिक्री पश्चात २ अर्ब ४९ करोड रुपैयाँ नाघ्ने छ ।

एनआईसी एशिया लघुवित्तका ग्राहकले पाए व्याज रकममा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ग्राहकलाई व्याज रकममा १० प्रतिशत छुट दिएको छ । संस्थाले ब्याज रकममा १० प्रतिशत प्रतिशत छुट प्रदान गर्ने योजना अन्तर्गत ग्राहकलाई बैंशाख महिनाको व्याजमा सो मात्राको छुट दिएको हो । संस्थाले आफ्ना सेवाग्राहीलाई यस असहज परिस्थितिमा केहि मात्रामा भएपनि सहयोग गर्ने अभिप्रायले २०७८ बैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पुर्ण बक्यौता रकम (साँवा र ब्याज) बैशाख २४ गतेदेखि ३१ गतेसम्ममा बुझाएमा सम्बन्धित ग्राहकलाई ब्याज रकममा १० प्रतिशत प्रतिशत छुट प्रदान गर्ने योजना बैशाख तेस्रो सातामा सार्वजनिक गरेको थियो । सोही योजना अनुसार वक्यौता तिर्ने १७९ शाखा कार्यालयहरुका ४ हजार ६७६ ऋणी सदस्यले यस संस्थालाई बुझाउनुपर्ने सम्पूर्ण रकम तोकिएको अवधि भित्र बुझाई यस योजनामा सहभागी भएका छन् । साथै, उनीहरुले यस योजनामा सहभागी भए वापत ब्याजमा जम्मा १५ लाख १८ हजार २०२ रुपैयाँ छुट पाएका छन् । साथै, ग्राहकको ब्याज छुट रकम सम्बन्धीत ऋणीको बचत खातामा जम्मा गरिसकेको जानकारी गराएको छ । संस्थाले हाल ६९ जिल्लामा २४७ शाखा कार्यालय सेवा प्रदान गर्दै आइरहेको छ । यस वित्तीय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखिएको छ ।