आज बुधबार सेयर कारोबार बन्द

काठमाडौं । आज (जेठ १२ गते) बुधबार सेयर कारोबार बन्द हुने भएको छ । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औं बुद्ध जयन्तीको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएसँगै सेयर कारोबार पनि बन्द हुने भएको हो । बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले यसअघि पनि सरकारले सार्वजनिक बिदा दिएको दिन सेयर कारोबार पनि बन्द गराउँदै आएको छ । साथै, भोलि (अर्थात जेठ १३ गते) बिहीबार भने नियमित रुपमा सेयर कारोबार खुल्ने छ । मंगलबारको नेप्से परिसूचक ६.४७ अंकले घटेर २८१६.६० बिन्दुमा झरेको थियो । त्यस्तै, २१९ कम्पनीको कूल ११ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सम्बन्धित समाचार मंगलबारको बजारमा तीव्र उतारचढाव, सर्किट लाग्नेमा सबै हाइड्रो मात्रै

बैंक तथा वित्तीय संस्थालाई लघुवित्तको सेयर किन्न रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले लघुवित्तको सेयर किन्न नपाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थालाई बमोजिम विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न नपाइने व्यवस्था गरेको हो । निर्देशनमा भनिएको छ,‘यसअघि (मिति २०७८।०२।१० सम्म) त्यस्तो शेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री/विनिवेश गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

शिखर इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको २७.७६९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज ( जेठ ११ गते) मंगलबार मात्रै ३८ लाख ४० हजार २०२ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, इन्स्योरेन्सको उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।