लगानीको ४० प्रतिशतसम्म दैनिक कारोबार गरौं, आईपीओ भर्न नछोडौं- लगानीकर्ता रौनियारको टिप्स्
काठमाडौं । दोश्रो बजारमा लगानी गर्दै हुुनुुहुन्छ भने राम्रो कम्पनी छानेर कारोबार गर्नुस् । तपाईंले बजारमा जति लगानी गर्नुभएको छ वा गर्दै हुनुहुन्छ, त्यसको अधिकतम ४० प्रतिशतसम्म कारोबार गर्ने गर्नुहोस् । र, बाँकी रहेको ६० प्रतिशत रकम राम्रो कम्पनीमा दीर्घकालिन लगानी गर्नुहोस् । जस्तै मानौं, तपाईले दोश्रो बजारमा एक करोड लगानी गर्नुभएको छ भने त्यसको ३० देखि ४० प्रतिशत रकम दैनिक कारोबार गर्नुस् । ५ दिन सेयर किन्नुस् बेच्नुस् । यसले के हुन्छ भने पकेट खर्च, घर खर्च, बाइक खर्च जस्ता दैनिक खर्चहरु सबै निस्किन्छ । यदी, लोन लिएर लगानी गर्नु भएको छ भने पनि त्यसको व्याज निस्किन्छ । त्यसकारणले ४० प्रतिशत जति कारोबार गर्दा राम्रो हुन्छ । र, बाँकी रहेको ६० प्रतिशत ‘मेडियम लङ्ग ट्रम भ्यालु इन्भेष्टमेन्ट विथ कम्पाउन्डिङ्ग रिटर्नस्’ पत्ता लगाएर कुन बैंकको फन्डामेन्टल राम्रो छ । कुन बैंक फन्डामेन्ट्ल्ली स्ट्रङ्ग छ । यसरी लगानी गर्दा कम्पनीको चुक्तापुँजी, प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ, एनपीएल हेरेर राम्रो छ छैन विष्लेशण गरेर मात्रै लगानी गर्नुपर्छ । साथै, यी सबै हेरेपछि कम्पनीको ग्रोथ कस्तो छ । गत वर्ष कस्तो थियो, अहिले कस्तो छ । यदी ग्रोथ राम्रो छ भने २/४ प्रतिशत पीई रेसियो फरक परे पनि केही फरक पर्दैन । त्यस्तो कम्पनीको सेयरमा लगानी गरेर ‘मेडियम लङ्ग ट्रम भ्यालु इन्भेष्टमेन्ट विथ कम्पाउन्डिङ्ग रिटर्नस्’ गर्यौं भने हामीले तिनीहरुको बोनस आएर हाम्रो सेयर क्युमुलिटिभ तरिकाले बढ्दै जान्छ । यसो गर्यो भने, यताबाट सेयर बढ्छ र उता (४० प्रतिशत कारोबार) बाट दैनिक खर्च उठ्छ । यो प्राय मैले सबैलाई भन्ने गर्छु । र, म आफै पनि यहि अभ्यास गरिरहेको छु । त्यसैले, अहिलेको समय पुँजीबजारमा लगानी गर्ने समय हो । विभिन्न कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण हेर्दा आउने एक/डेढ वर्ष पुँजीबजारमा त्यस्तो आत्तिनु/डराउनु पर्ने केही छैन । राम्रो ग्रोथ भएको कम्पनीमा लगानी गरे केही पनि फरक पर्दैन । जस्तै, उदाहारणको लागि हिमालयन डिष्टिलरीलाई हेरौं, नेप्से १८८१ बिन्दुमा हुँदा ४/५ सयमा बिक्री हुने सेयर अहिले करिब ४५०० रुपैयाँ पुगेको छ । गएको दुई वर्षदेखि उसले ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद दिइरहेको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकको प्रतिसेयर आम्दानी १०३ रुपैयाँ आयो । यो भन्दैमा सँधै एउटै कम्पनीमा लगानी गर्नु उचित हुन्छ भन्दिन म । समय अनुसार मुभ गर्नुपर्छ । अन्तिममा, लगानीकर्तालाई के भन्छु भने कुनै पनि कम्पनीमा लगानी गर्नु अघि उसको फन्डामेन्टल स्ट्रङ्ग छ छैन, त्यो हेरेर मात्रै निर्णय लिनुहोला । र, जहिल्यै पनि कम्पनीले पछिल्लो वर्षमा वितरण गरेको बोनसको इतिहास, व्यवस्थापक टीम र उसको व्यापार व्यसाय विस्तार हेर्नुपर्छ । त्यस्तै, यति हेरर लगानी गरेपछि अब त मूल्य घट्दैन, सँधै बढ्छ भन्ने चाहिँ हुँदैन । किनभने बजार घट्छ बढ्नको लागि, बजार बढ्छ घट्नको लागि । बजार घटेबढेन भने त हामीले केमा कमाउने र ? बजार घट्नु बढ्नु भनेकै बजारको सुन्दरता हो । यो प्राकृतिक प्रक्रिया हो । यसमा कसैले अत्यथा लिनु पर्दैन । पुँजीबजारमा हामीले मनि म्यानेजमेन्ट गर्ने हो । यो भनेको कस्तो भने, तपाईंसँग १०/२० हजार रुपैयाँ मात्रै छ भने पनि १०/२० हजारदेखि नै शुरु गर्नुस्, आईपीओ भर्न कसैले पनि नछोड्नुस् । सबै परिवारको नाममा भर्नुस् । र, सेभिङ्ग गर्दै जानुस् । यसो गर्यौं भने पछि केही वर्षमा आफ्नो पोर्टफोलियो हेर्दा आफै सर्प्राइज हुन्छौं । (लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष रौनियारले दिएका टिप्सको सम्पादित अंश)
प्रभु इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित, चुक्ता पुँजी एक अर्ब नाघ्यो
काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित भएको छ । जेठ ६ गते सम्पन्न कम्पनीको २५औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त प्रस्ताव पारित भएसँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश पाउने छन् । त्यस्तै, १० प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । बीमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका वाबजुद यस प्रभु इन्स्योरेन्सले बीमा क्षेत्रमा एक सफल तथा फरक पहिचानलाई निरन्तरता दिन सक्षम रहेको बताएको छ । साथै, व्यवसाय वृद्धि, दावी भुक्तानी तथा खर्चको सफल व्यवस्थापन गर्दै आम्दानी वृद्धि गरेका कारण सेयरधनीलाई प्रतिफल दिन सक्षम भएको कम्पनीले बताएको छ । कम्पनीले आधुनिक बीमा सेवाका सबै प्रविधिहरु प्रयोग गरी प्रविधिमा आधारित बीमा सेवा प्रदान गर्दै आइरहेको छ । नयाँ नयाँ प्रविधिहरुको अधिकतम प्रयोग गर्दै सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गरी सेयरधनीलाई उच्चतम प्रतिफल प्रदान गर्नुका साथै सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्ने नीति लिएको छ । साथै कम्पनीले केन्द्रिय कार्यालय सहित ५५ भन्दा बढी शाखा तथा उपशाखाहरुबाट सेवा प्रदान गरिरहेको छ । उक्त सभा तीनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा विद्युतिय माध्यमबाट भर्चुअल रुपमा सम्पन्न भएको हो ।
लाभांश पारित गर्न सिद्धार्थ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आगामी जेठ २८ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले आफ्नो १९औं वार्षिक साधारणसभा सो दिन बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा भिडियो कन्फरेन्स मार्फत गर्ने भएको हो । उक्त सभाले सेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । सभाले पारित गरेसँगै सेयरधनीले १२ प्रतिशत बोनस र ३.७८९४ प्रतिशत नगद (कर समेत) लाभांश पाउने छन् । सभामा जाने प्रयोजनको लागि कम्पनीले जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यससँगै जेठ १३ गतेसम्म कायम सेयरधनी कम्पनीको लाभांश पाउन योग्य हुने छन् ।