महिना दिनमै बैंकहरुको कर्जा लगानी ३८ अर्ब रुपैयाँले बढ्यो, निक्षेप साढे ३९ खर्ब नाघ्यो

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुबैमा वृद्धि भएको छ । नेपाल बैंकर्स संघका अनुसार गत एक महिनाको तुलनामा बैंकहरुको निक्षेप संकलन ११ अर्ब र कर्जा लगानी ३८ अर्ब रुपैयाँले बढेको हो । यससँगै बैंकहरुले गत बैशाख ३१ गतेसम्ममा ३९ खर्ब ५५ अर्ब रुपैयाँ संकलन गरेका छन् । जुन गत चैत ३१ गतेसम्मकाे तुलनामा ११ अर्ब रूपैयाँले बढी हाे । बैंकहरूले साे अवधिमा ३९ खर्ब ४४ अर्ब रुपैयाँ मात्रै संकलन गरेका थिए । त्यस्तै, बैंकहरुले बैशाख ३१ गतेसम्ममा ३६ खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गर्न सफल भएका छन् । जुन एक महिनाअघि ३५ खर्ब ७३ अर्ब रुपैयाँ रहेको संघले जानकारी गराएको छ । त्यसैगरी, बैंकहरुले गत बैशाख २४ गतेसम्ममा ३९ खर्ब ३३ अर्ब रुपैयाँ संकलन गरी ३६ खर्ब ९ अर्ब रुपैयाँ कर्जा लगानी गर्न सफल भएका थिए ।

राधी विद्युत कम्पनीले सेयरधनीलाई ३६.५० प्रतिशत लाभांश दिने

काठमाडौं । राधी विद्युत कम्पनीले सेयरधनीलाई ३६.५० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६र७७ को नाफाबाट चुक्ता पुँजीको ३६.५० प्रतिशत बोनस सेयर(कर बाहेक) वितरण गर्ने प्रस्ताव गरेको हो । जेठ २ गते बसेको अपरान्ह ५ बजे सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई कम्पनीको आगामी १५औं वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी ४७ करोड ३५ लाख रुपैयाँ रहेको छ । ३६.५० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ पुग्ने छ । उक्त प्रस्तावित लाभांश गत दुई वर्षयताकै उच्च हो । कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ मा १० प्रतिशत र २०७३/७४ को नाफाबाट सेयरधनीलाई १०.६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आईपीओ जारी गर्ने प्रस्तावसहित सानिमा लाईफ इन्स्योरेन्सले डाक्यो एजीएम

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले आगामी जेठ २३ गते वार्षिक साधारणसभा (एजीएम) आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको कमलादीमा रहेको कम्पनीको प्रधान कार्यालयमा आफ्नो तेश्रो वार्षिक साधारणसभामा डाकेको हो । उक्त सभा अनलाइन अर्थात भर्च्युअल प्रविधिमार्फत हुने भएको छ । र, सभामा सहभागी हुने सेयरधनीलाई मिटिङ्गको आईडी तथा पासकोड उपलब्ध गराउने कम्पनीले जनाएको छ । उक्त सभाले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्दै छ ।