नेशनल लाइफ इन्स्योरेन्सले ९ महिनामै आर्जन गर्यो साढे ८ अर्ब रुपैयाँ बढी खुद बीमाशुल्क
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८ अर्ब ६९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ५३.६८ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ अर्ब ६५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफामा सामान्य वृद्धि भएको छ । गत आवको चैत मसान्तसम्ममा ३१ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोहि अवधिमा ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोषमा ४० अर्ब २१ करोड रुपैयाँ, जगेडा कोषमा ८१ करोड १७ लाख रुपैयाँ र महाविपत्ती कोषमा २९ करोड रुपैयाँ सञ्चित रहेको छ । समिक्षा अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२.३८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९१.०१ गुणा रहेको छ ।
एभरेष्ट इन्स्योरेन्स र अपि पावरको सेयर मूल्य समायोजन
काठमाडौं । नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज बैंशाख २९ गते एकैदिन एभरेष्ट इन्स्योरेन्स र अपि पावरको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७२० रुपैयाँ कायम भएको छ । पछिल्लो कारोबारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७७८ रुपैयाँ रहेको थियो । त्यस्तै, अपि पावरको २९.३८ प्रतिशत हकप्रद सेयर पश्चात मूल्य समायोजन भएको छ । पछिल्लो बजारमा प्रतिकित्ता ३५३ रुपैयाँमा अन्तिम कारोबार भएको संस्थाको सेयर मूल्य प्रतिकित्ता २९६ रुपैयाँ कायम भएको छ ।
इन्फिनिटी लघुवित्तको बाेनस सेयर सूचीकृत
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको १४.२५ प्रतिशत अर्थात ३ लाख २५ हजार ९९ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । यससँगै, संस्थाको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तातरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।