मध्य भोटेकोशीको आईपीओ आइएमई पेबाटै भर्न मिल्ने, यस्तो छ प्रकृया

काठमाडौं ।  मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओ आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एपबाट आवेदन दिन सकिने भएको छ । दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँड्डुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै बिक्री प्रबन्धकले उक्त व्यवस्था मिलाएकाे हाे । यससँगै आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी जारी गरिएकाे उक्त आईपीओमा आजदेखि आइएमई पेबाटै आवेदन दिन सकिने भएकाे छ । आयोजनाको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत(सीईओ) पारसमणी ढकालका अनुसार आयोजना प्रभावित क्षेत्रका डिम्याट खातावाहक बासिन्दाहरूले मात्रै आइएमई पे मार्फत आवेदन दिन सक्ने छन् । अन्यलाई आवेदककाे लागि भने अर्को व्यवस्था गरिने सीईओ ढकालले बताए । यस्तो छ प्रकृया यसरी आइएमई पेबाट आवेदन भर्दा निश्चित प्रकृयाहरू पुरा गर्नुपर्ने हुन्छ । तपाईंले पहिलोपटक आइएमई पे प्रयोग गर्दै हुनुहुन्छ यदि भने सबैभन्दा पहिला आइएमई पे एप डाउनलोड गर्नुपर्दछ । तपाईंको कारोबारको सुरक्षा र गोपनीयाताका लागि तपाईंको नाम, थर, ठेगाना, सम्पर्क नम्बर लगायत तपाईंसँग सम्बन्धित विवरण त्यो एपमा दर्ता गर्नुपर्दछ । यसलाई बैंकिङ्ग भाषामा नो योर कस्टुमर (केवासी) फारम भनिन्छ । त्यसपछि तपाइँ एपको गृहपृष्ठमा प्रवेश गर्न सक्नुहुनेछ त्यहाँ तपाईंले ‘आइपीओ’ आइकनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि आइपीओसँग सम्बन्धित आफ्नो सबै विवरण भर्नुहोस् र त्यसलाई एकपटक रूजु गरी आफ्नो पीन कोड थिच्नुहोस् । यसरी तपाईंले आफ्नै मोबाइलबाट घरमै बसी आइएमई पे मार्फत मध्य भोटेकोशीको आइपीओ भर्न सक्नुहुनेछ । यसरी आईपीओ भर्दा तपाईंलाई कुनै अतिरिक्त सेवा शूल्क लाग्ने छैन । मध्य भोटेकोशीले बैशाख २१ गते मंगलबारदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपीओ निष्काशन बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोड बराबरको ६० लाख कित्ता सेयर निष्काशन गरेको हो । यसरी निष्काशन गरिएको आईपीओमा न्युनतम ५० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि आवेदन दिन सकिने छ । छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २० गतेसम्म आईपीओमा आवेदन दिन सकिने छ ।

रिलायन्स फाइनान्सको प्रस्तावित लाभांश पारित, चुक्ता पुँजी साढे ९१ करोड नाघ्यो

काठमाडौं । रिलायन्स फाइनान्सको प्रस्तावित लाभांश पारित भएको छ । बैशाख २२ गते सम्पन्न संस्थाको सभाले सञ्चालक समितिको १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो । संस्थाको ११औं वार्षिक साधारणसभा भर्च्युअल माध्यमबाट सम्पन्न भएको हो । यससँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश पाउने भएका छन् । हाल संस्थाको चुक्ता पुँजी ८३ करोड २४ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ९१ करोड ५६ लाख रुपैयाँ नाघेको छ ।

हकप्रद सेयर जारी गर्न अपि पावरले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । अपि पावर कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि बुक क्लोजको मिति तोकेको छ । कम्पनीले आगामी बैशाख २९ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । बैशाख २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बुक क्लोजको मिति तोकेको हो । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले चुक्ता पुँजीको एक बराबर ०.२९३८ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । बोर्डले हालै मात्र कम्पनीलाई सो मात्राको हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ९२ करोड रुपैयाँ रहेको छ । १ बराबर ०.२९३८ को अनुपातमा हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ९८ करोड रुपैयाँ नाघ्ने छ ।