हालसम्म पौने १० लाख बढीले भरे ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा हालसम्ममा पौने १० लाख बढीले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ९ लाख ८२ हजार ६७७ जनाले कम्पनीको २ करोड १२ लाख ४४ हजार ३६० कित्ताको लागि आवेदन दिइसकेका छन् । कम्पनीले फागुन २१ गतेदेखि ६६ करोड रुपैयाँ बराबरको अर्थात अंकित मूल्य एक सय रुपैयाँको ६६ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । र, बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयरकाे लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् । फागुन २१ गतेदेखि निष्काशन हुने उक्त आईपीओमा इच्छुकले छिटोमा फागुन २६ गतेसम्म आवेदन दिन पाउने छन् । उनीहरुले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ । इच्छुक आवेदकले  सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ मार्फत आवेदन दिन सक्नेछन् । ज्योति लाईफको आईपीओ किन्नु कति उचित ? यस्ताे छ कम्पनीको योजना कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । त्यस्तै, आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेकाे मध्यमस्तरकाे सुरक्षित कम्पनी जनाउँछ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । ६६ करोड रुपैयाँ बराबरको आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्ममा १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दै १० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले जीवन बीमा कोषमा २ अर्ब ९१ करोड रुपैयाँ संचित छ भने जगेडा कोषमा ४८ करोड २४ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल लगानी ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ ।

ललितपुरमा एनआईबिएल एस क्यापिटलकाे ‘निःशुल्क घरदैलो डिम्याट खाता’ अभियान

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले निःशुल्क घरदैलो डिम्याट खाता अभियान शुरु गरेको छ । नेपाल धितोपत्र बोर्डको “एक नेपाली एक डिम्याट खाता” अभियान अन्तर्गत क्यापिटलले फागुन २० गते ललितपुरको घुसेल बागमती गाउँपालिका वडा नं १ मा उक्त अभियान सम्पन्न गरेको हो । एनआईबिएल एस क्यापिटलले प्रत्येक नेपालीको पुँजी बजारमा सहभागिता होस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो । यस अभियानमा नेपाल इन्भेष्टमेन्ट बैंकको लगनखेल शाखाको समेत संलग्नता रहेको थियो । एनआईबिएल एस क्यापिटलले ग्राहकवर्गको सेवा सुविधालाई मध्यनजर गर्दै बिहानी काउन्टर विहान ८ बजे देखि ९ः३० बजे सम्म संचालन गर्दै आइरहेको छ । त्यस्तै, गत पुस १ गते देखि सीमित अवधिको लागि निशुल्क डिम्याट तथा मेरो शेयर खोल्ने सुविधा समेत प्रदान गर्दै आइरहेको छ ।

महालक्ष्मी विकास बैंकको चैत ३ गते बुक क्लोज

काठमाडौं । महालक्ष्मी विकास बैंकको आगामी चैत ३ गते बुक क्लोज हुने भएको छ । संस्थाले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एकदिन बुक क्लोज गर्न लागेको हो । संस्थाको आगामी वार्षिक साधारणसभा चैत १३ गते हुने भएको छ । संस्थाको १९औं वार्षिक साधारणसभा सो दिन काठमाडौंको दरवारमार्गस्थित बैंकको रजिष्ट्रर कार्यालयमा बस्दै छ । यससँगै चैत २ गतेसम्म कायम सेयरधनीले मात्र संस्थाको प्रस्तावित लाभांश पाउन र सभामा सहभागि हुन योग्य हुनेछन् । विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद गरी ९.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल संस्थाको चुक्ता पुँजी ३ अर्ब ७ करोड रुपैयाँ रहेको छ । ९ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३ अर्ब ३४ करोड रुपैयाँ पुग्ने छ । उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो । सम्बन्धित समाचार महालक्ष्मी विकास बैंकको लाभांश घोषणा