प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ सूचीकृत, आइतबारदेखि कारोबार हुने, ओपनिङ् रेञ्ज कति ?
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको २ करोड कित्ता साधारण सेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर पुस १६ गते बिहीबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर आइतबार (पुस १९ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल पीएलआई दिइएको छ । यससँगै पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १०९.५६ रुपैयाँ र अधिकतम ३२८.६८ रुपैयाँ तोकेको छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि कमलादीकाे प्रभु क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्टको लाभांश घोषणा
काठमाडौं । एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको २.८५ प्रतिशत बोनस र कर बापत ०.१५ प्रतिशत नगद गरी ३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई कम्पनीकाे वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले साे मात्राकाे लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १३ करोड रुपैयाँ रहेको छ । २.८५ प्रतिशत बोनस सेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १६ करोड रुपैयाँ नाघ्ने छ । कम्पनीले आईपीओ जारी गरेकै वर्ष सेयरधनीलाई लाभांश वितरण गर्ने भएकाे हाे । कम्पनीले गत साउनमा मात्रै कूल ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता प्राथमिक सेयर निष्काशन गरेकाे थियाे । सम्बन्धित समाचार एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओमा लगानी गर्नुस्, प्रतिफल सुनिश्चित छः सीईओ खतिवडा
हिमालयन डिष्टिलरी, मेगा बैंकसहित १२ कम्पनीकाे सेयर मूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?
काठमाडाैं । नेप्सेमा एकैदिन विभिन्न १२ कम्पनीकाे सेयर मूल्य समायाेजन भएकाे छ । आज(पुस १७ गते) शुक्रबार मात्रै हिमालयन डिष्टिलरी, मेगा बैंकसहित नेप्सेमा सूचीकृत दर्जन कम्पनीकाे मूल्य समायाेजन भएकाे हाे । यससँगै, यी सबै कम्पनीकाे सेयर काराेबार समायाेजन मूल्य पश्चात कायम भएकाे मूल्यदेखि खुल्ने छ । मेगा बैंक नेपालको १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर कारोबार प्रतिकित्ता २५० रुपैयाँमा खुल्ने छ । जबकी कम्पनीको पछिल्लो कारोबार प्रतिकित्ता २७५ रुपैयाँमा भएको थियो । लक्ष्मी बैंकको ९ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर कारोबार प्रतिकित्ता २६२ रुपैयाँमा खुल्ने छ । जबकी कम्पनीको पछिल्लो कारोबार प्रतिकित्ता २८६ रुपैयाँमा भएको थियो । हिमालयन डिष्टिलरीको ५० प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको छ । यससँगै कम्पनीको सेयर मूल्य ३५२० रुपैयाँ कायम भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५२८० रुपैयाँमा पछिल्लो कारोबार भएको थियो । प्राइम लाइफ इन्स्योरेन्सको ७ प्रतिशत बोनस पछि मूल्य समायोजन भएको छ । यससँगै कम्पनीको सेयर कारोबार प्रतिकित्ता ७६६ रुपैयाँदेखि खुल्ने छ । त्यस्तै, सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको पछि ५ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । पछिल्लो कारोबार प्रतिकित्ता ७०८ रुपैयाँमा भएको कम्पनीको सेयर मूल्य समायोजन पश्चात ६७४ रुपैयाँ कायम भएको छ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको पनि १६.९४ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको । यससँगै संस्थाको सेयर कारोबार प्रतिकित्ता ८६८ रुपैयाँदेखि खुल्ने छ । जबकी संस्थाको पछिल्लो कारोबार प्रतिकित्ता १०१५ रुपैयाँमा भएको थियो । १५ प्रतिशत बोनस पछि लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि संस्थाको सेयर प्रतिकित्ता १३३५ रुपैयाँमा कारोबार खुल्ने छ । त्यस्तै, विजय लघुवित्तको १९ प्रतिशत बोनस पछि मूल्य समायोजन भएको छ । यससँगै दोश्रो बजारमा संस्थाको सेयर कारोबार प्रतिकित्ता १०६८ रुपैयाँमा खुल्ने छ । गुडविल फाइनान्सको पनि ८.४० प्रतिशत बोनस पछि मूल्य समायोजन भएको छ । समायोजन पछि फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १९६ रुपैयाँ कायम भएको छ । ५ प्रतिशत बोनस पछि पोखरा फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । यससँगै दोश्रो बजारमा संस्थाको सेयर कारोबार प्रतिकित्ता १६७ रुपैयाँदेखि खुल्ने छ । बुटवल पावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर कारोबार प्रतिकित्ता ४०५ रुपैयाँमा खुल्ने छ । जबकी कम्पनीको पछिल्लो कारोबार प्रतिकित्ता ४४५ रुपैयाँमा भएको थियो । छ्याङ्दी हाइड्रोपावरको पनि ५ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । पछिल्लो कारोबार प्रतिकित्ता १६३ रुपैयाँमा भएको कम्पनीको सेयर मूल्य समायोजन पश्चात १५५ रुपैयाँ कायम भएको छ ।