बोनसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन
काठमाडौं। बिहीबार स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ७ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ६१२ रूपैयाँ कायम भएको छ । नेप्सेले गत बुधबार(पुस ८ गते) को अन्तिम कारोबार मूल्य ६५५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
लाभांश प्रभावः नेपाल लाइफ इन्स्योरेन्स र नबिल बैंकको सेयर मूल्यमा सर्किट
काठमाडौं । बुधबारको बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नियमित बजार खुलेको केही अवधिमै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र नबिल बैंकको सेयर मूल्यमा सर्किट लागेको हो । बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २५८६ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २३५ रुपैयाँले बढी हो । मंगलबारको बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता २३५१ रुपैयाँमा भएको थियो । यो अवधिमा इन्स्योरेन्सको सेयर बेच्न इच्छुक कोही छैनन् भने एक लाख बढी कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका छन् । त्यस्तै, नबिल बैंकको सेयर मूल्यमा लगातार दुई दिन सर्किट लागेको छ । उच्च लाभांश घोषणासँगै कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो । बुधबारको बजारमा कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता १४८९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १३५ रुपैयाँले बढी हो । अघिल्लो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता १३५४ रुपैयाँ थियो । यो समाचार तयार पर्दासम्म कम्पनीको १ लाख ९३ हजार ३५२ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका छन् । उता बेच्न इच्छुक कोहि पनि देखिएका छैनन् । यी दुबै कम्पनीको लाभांश घोषणाको प्रभाव सेयर मूल्यमा परेको हो । दुबैले गत आर्थिक वर्षको नाफाबाट उच्च लाभांश वितरण गर्ने भएसँगै लगानीकर्ता यी कम्पनीको सेयरमा आकर्षित भएका हुन् । नेपाल लाइफ इन्स्योरेन्सले पुस ७ गते मात्रै गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ५१ प्रतिशत लाभांश प्रस्ताव गरेको थियाे । कम्पनीले सेयरधनीलाई ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कूल ५१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? त्यस्तै, नबिल बैंकले पनि पुस ६ गते मात्रै गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको थियाे । बैंकले सेयरधनीलाई ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद लाभांश गरी कूल ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नबिल बैंकले घोषणा गर्यो दुई वर्ष यताकै उच्च लाभांश, बाेनस मात्रै ३३ प्रतिशत बढी
लाभांश पारित गर्न लक्ष्मी बैंकले डाक्यो वार्षिक साधारणसभा
काठमाडौं । लक्ष्मी बैंकले आगामी पुस २८ गते वार्षिक साधारणसभा डाकेको छ । बैंकले प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते आफ्नो २०औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले प्रस्तावित ११.५ प्रतिशत लाभांशलाई पारित गर्दै छ । बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस र २.५ प्रतिशत नगद लाभांश गरी ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकाे हाे । सो प्रयोजनको लागि बैंकको पुस १७ गते बुक क्लोज हुने भएको छ । यससँगै पुस १६ गतेसम्म बैंककाे सेयर किन्ने तथा हाेल्ड गर्ने लगानीकर्ताले बैंककाे लाभांश पाउने छन् । हाल बैंककाे चुक्ता पुँजी ९ अर्ब ८१ कराेड रूपैयाँ रहेकाे छ । ९ प्रतिशत बाेनस पछि बैंककाे चुक्ता पुँजी १० अर्ब ६९ कराेड रूपैयाँ पुग्ने छ । सम्बन्धित समाचार लक्ष्मी बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?