सन्तोष मैनालीको नेतृत्वमा ब्रोकर एशोसिएसनको नयाँ कार्यसमिति चयन

काठमाडौं । स्टक ब्रोकर एशोसिएसन अफ नेपालको अध्यक्षमा सन्तोष मैनाली सर्वसम्मत रुपमा चयन भएका छन् । शुक्रबार सम्पन्न एशोसिएसनको २६औं वार्षिक साधारण सभाले मैनालीको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणनिधि भुसाल, सचिव रमनदेव पन्त र कोषाध्यक्षमा भक्तिराम घिमिरे रहेका छन् । त्यस्तै, सदस्यहरुमा मदन पौडेल, सुयोग अधिकारी, फणिन्द्र ढकाल, रविन्द्र श्रेष्ठ र मित्रलाल श्रेष्ठ निर्वाचित भएका छन् । याे नेतृत्वले आगामी दुई वर्षसम्म कार्यभार सम्हाल्ने छ । नवनियुक्त अध्यक्ष सन्तोष मैनाली स्टक ब्रोकर नम्बर ३६, सेक्युर्ड सेक्युरिटीजका सञ्चालक हुन् । उनीसँग एशोसियसनको कार्यसमितिमा महासचिव र सदस्य पदमा काम गरेकाे अनुभव रहेकाे छ। यसअघि ब्रोकर नम्बर ३५, कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिजका प्रमुख कार्यकारी अधिकृत भरत रानाभाटले एशोसिएशनमा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनको दुई वर्षे कार्यकाल गत असोज १२ गते नै सकिएको हो ।

युनाईटेड इदी-मर्दीले दोश्रो चरणमा आईपीओ जारी गर्दै, कार्तिक २७ गतेदेखि भर्न पाइने

काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आरवि हाईड्रोपावरले दोश्रो चरणमा प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । हालैमात्र कास्की जिल्लाका स्थानीय बासिन्दालाई पहिलो चरणमा निष्काशन गरी बाँडफाँड गरेको कम्पनीले अब दोश्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । हाईड्रोले आगामी कार्तिक २७ गतेबाट ८ लाख ७३ हजार ९१० कित्ता सेयर निष्काशन गर्न लागेको हो । यससँगै सेयरधनीले आगामी कार्तिक २७ गतेदेखि कम्पनीकाे सेयर भर्न पाउने भएका छन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि चुक्ता पुँजीको १० प्रतिशतले हुने ४ लाख २० हजार कित्ता सेयर छुट्याएको थियो । जसमध्ये एक लाख ७६ हजार ९० कित्ता सेयर बाँडफाँड गर्दा २ लाख ४६ हजार ९१० कित्ता सेयर बाँकी रहेको छ । त्यसैले सर्वसाधारणको लागि छुट्याएको ६ लाख ३० हजार कित्ता सेयरमा उक्त बिक्री नभएको २ लाख ४६ हजार ९१० कित्ता सेयर गरी कूल ८ लाख ७३ हजार ९१० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये सामूहिक लगानी कोषमा ४३ हजार ६९६ कित्ता सेयर बाँडफाँड गरेपश्चात ८ लाख १२ हजार ७३६ कित्ता सेयर बाँकी रहेको छ । र, कर्मचारीहरुको लागि १७ हजार ४७८ कित्ता सेयर सुरक्षित गरिएको कम्पनीले जनाएको छ । यससँगै इच्छुक सेयरधनीले आगामी कार्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म उक्त सेयरमा आवेदन दिन सक्नेछन् । यदि सो अवधिसम्ममा कम्पनीको माग अनुसारको बिक्री नभए सेयरधनीले ढिलोमा मंसिर ११ गतेसम्म आवेदन दिन सक्ने सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी गराएको छ । क्यापिटलका अनुसार इच्छुकले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर निष्काशनको लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर खुद सम्पत्ति ८५.८२ रुपैयाँ र प्रतिसेयर प्रतिसेयर आम्दानी (१२.९७) रुपैयाँ अर्थात ऋणात्मक रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः ९७.६९ रुपैयाँ र ८.३३ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ । सम्बन्धित समाचारः युनाईटेड ईदी-मर्दीको पहिलाे चरणकाे आईपीओ बाँडफाँड, आवेदन गर्ने सबैले पाए सेयर  

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने, ओपनिङ् रेञ्ज कति ?

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको १ करोड कित्ता साधारण सेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीकाे सो मात्राको सेयर आज (कार्तिक १८ गते) मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर बुधबार (कार्तिक १९ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल एसजीआई दिइएको छ । यससँगै पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १०३.७३ रुपैयाँ र अधिकतम ३११.१९ रुपैयाँ तोकेको छ ।