बोनसपछि माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । बिहीबार माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ७.०३ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता २३१.७१ रुपैयाँ रहेको छ । यसअघि बैंकको सेयर मूल्य प्रतिकित्ता २४८ रुपैयाँ रहेको थियो । मूल्य समायोजन पछि खुलेको बजारमा कम्पनीको सेयर मूल्य बढ्ने क्रम जारी रहेको छ । बिहीबार कारोबार खुलेको १५ मिनेटमै कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता २३६ रुपैयाँ पुगेको छ ।

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ भर्न डिम्याट खाता र मेरो सेयर नविकरण गर्न आग्रह

काठमाडौं । ग्लोबल आईएमई क्यापिटलले सानिमा जनरल इन्स्योरेन्सको आईपीओ भर्न डिम्याट खाता तथा मेरो सेयर नविकरण(रिन्यु) गर्न आग्रह गरेको छ । क्यापिटलले मेरो सेयरबाट आवेदन दिने सर्वसाधारण तथा लगानीकर्तालाई आफ्नो डिम्याट खाता तथा मेरो सेयर अपडेट गराउन आग्रह गरेको हो । इन्स्योरेन्सले आज (असोज २१ गते)देखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो । त्यसैले, हालसम्म उक्त खाता नविकरण नगरेका ग्राहकहरुले अनलाइबाटै उक्त खाता अपडेट वा नविकरण गराउन सक्नेछन् । साथै, डिम्याट खातावालाहरुले आफुले बुझाउन बाँकी रहेको रकमको विवरण क्यापिटलको वेवसाइटको डिम्याट अकाउन्ट (बीओआईडी) रिन्यु स्ट्याटस्मा क्लिक गरी आफ्नो डिम्याट खाता इन्ट्री गरेर हेर्न मिल्ने व्यवस्था रहेको संस्थाले जानकारी गराएको छ । त्यस्तै, मेरो सेयरको पासवर्ड रिसेट गुर्नपर्ने भएमा कम्पनीको इमेल आईडी [email protected] मा सेयर निष्काशन बन्द हुनुभन्दा कम्तिमा एकदिन अघि नै रिक्वेष्ट पठाउन कम्पनीले आग्रह गरेकाे छ ।

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ)मा आज (असोज २१ गते) देखि आवेदन दिन पाइने भएको छ । कम्पनीले आजदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको हो । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । ७० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बाँडफाँडपछि एक अर्ब रुपैयाँ पुग्नेछ। आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असोज २५ गते बैंकिङ समय पश्चात हुने छ । कम्पनीले असोज ५ गतेमात्र साे मात्राकाे सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीको लेखा परिक्षण हुन बाँकी रहेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.३५ रुपैयाँ र प्रतिसेयर आम्दानी २.६६ रुपैयाँ रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः १०९.१ रुपैयाँ र ४.५४ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।