मेरो सेयरमा समस्या देखिएपछि लगानीकर्ताले सेयर भर्न पाएनन्, प्रवक्ता भन्छन्ः करिब आधा घण्टामा समाधान हुन्छ
काठमाडौं । सीडीएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको ‘मेरो सेयर’मा आइतबार प्राविधिक समस्या देखिएको छ । आइतबार बिहानैदेखि उक्त साइट लगइन गर्नमा नै समस्या देखिएकाे हाे । सेयर आवेदन दिनेमा समस्या आएको र उक्त समस्याको समाधान हुन लागेको संस्थाका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् । ‘बिहान देखि नै सेयर आवेदन दिनेमा समस्या देखिएको छ । प्राविधिक साथीहरुले हेर्दैहुनु हुन्छ । त्यसको समाधान हुँदैछ । लगभग आधा घण्टामा उक्त समस्याको समाधान हुन्छ ।’- प्रवक्ता न्यौपानेले भने । उक्त साइटमा समस्या देखिएसँगै लगानीकर्ताले जनरल इन्स्योरेन्स कम्पनी नेपालको आईपीओमा आवेदन दिन पाएका छैनन् । यसका साथै, दोश्रो बजारमा कारोबार गर्ने लगानीकर्ताले इडीआईएस देखि सेयर ट्रान्सफर लगायतका मेरो सेयर मार्फत हुने कामहरु गर्न पाएका छैनन् । आईपीओ निष्काशनकाे समयमा लगानीकर्ताकाे बढी चाप हुने भएकाले साइटमा बढी समस्या आउने गरेकाे संस्थाले जनाएकाे छ । थप समाचारः जनरल इन्स्योरेन्सको आईपीओ खुल्यो, अधिकतम १० हजार कित्तासम्म भर्न पाइने
आरम्भ चौतारी लघुवित्तको आजदेखि सेयर कारोबार रोक्का
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको आज (असोज ११ गते) देखि सेयर कारोबार रोक्का भएको छ । मर्जर प्रक्रियामा जाने प्रयोजनको लागि संस्थाको सो दिनदेखि बुक क्लोज भएको हो । आरम्भ चौतारी लघुवित्त, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र शालिग्राम लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने प्रक्रियामा रहेका छन् । जसको लागि गत असोज ९ गते सहमति पत्रमा हस्ताक्षत्र भइसकेको छ । यससँगै, उक्त मर्जर प्रक्रिया सम्पन्न नभएसम्म दोश्रो बजारमा संस्थाको सेयर कारोबार रोक्का हुने छ । सम्बन्धित समाचारः तीन लघुवित्त मर्जरमा जाने, माघ भित्रै एकीकृत काराेबार गर्ने सम्झाैता
४५ दिनभित्र वितरण गर्ने गरी यूनिलिभर नेपालले घोषणा गर्यो लाभांश
काठमाडौं । यूनिलिभर नेपालले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई गत आवको नाफाबाट प्रतिसेयर १०० रुपैयाँको दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको असोज ९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त निर्णयलाई कम्पनीको साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । बैठकले साधारण सभा सम्पन्न भएको ४५ दिन भित्र लाभांश वितरण गर्ने निर्णय गरेको छ । साधारण सभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी कात्तिक २७ गते बुक क्लोज हुने भएको छ । यससँगै कात्तिक २६ गतेसम्म कायम सेयरधनीले कम्पनीले घोषणा गरेको लाभांश पाउने छन् ।