सानिमा जनरल इन्स्योरेन्सको आईपीओ असोज २१ गतेदेखि भर्न पाइने

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गर्न लागेको प्राथमिक सेयर (आईपीओ)मा असोज २१ गतेदेखि आवेदन दिन पाइने भएको छ । कम्पनीले सो दिनदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । ७० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बाँडफाँडपछि एक अर्ब रुपैयाँ पुग्नेछ। आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असोज २५ गते बैंकिङ समय पश्चात हुने छ । कम्पनीले असोज ५ गतेमात्र साे मात्राकाे सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीको लेखा परिक्षण हुन बाँकी रहेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.३५ रुपैयाँ र प्रतिसेयर आम्दानी २.६६ रुपैयाँ रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः १०९.१ रुपैयाँ र ४.५४ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।

लाभांश पारित गर्न माछापुच्छ्रे बैंकले कात्तिक ६ गते बोलायो वार्षिक साधारणसभा

काठमाडौं । माछापुच्छ्रे बैंकले आगामी कात्तिक ६ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले प्रस्तावित १०.३७ प्रतिशत लाभांश पारित गर्न सो दिन २२औं वार्षिक साधारण सभा बोलाएको हो । उक्त सभा सो दिन बिहान ११ बजे पोखराको होटल पोखरा ग्राण्डमा बस्दै छ । कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा भिडियो कन्फ्रेन्स मार्फत सहभागी हुन सेयरधनीलाई जुम आईडी र पासकोड उपलब्ध गराउने जानकारी गराएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ७.०३ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ । त्यस्तै, सर्वसाधारण समूहका सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने सामान्य प्रस्तावलाई पारित गर्दै छ । साथै, बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ती गर्ने सम्बन्धी आवश्यक सबै काम अगाडि बढाउन सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ । सभामा जाने प्रयोजनको लागि बैंकले असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । सम्बन्धित समाचारः लाभांश घोषणा गर्नेमा पहिलो बन्यो माछापुच्छ्रे बैंक, बोनस र नगद कति ?

८ लाख बढीले भरे जनरल इन्स्योरेन्सको आईपीओ

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले निष्काशन गरेको आईपीओले रेकर्ड ब्रेक गरेको छ । कम्पनीको आईपीओमा ८ लाख १३ हजार ५ सय जनाले आवेदन दिएका छन् । जुन आईपीओमा यति धेरै लगानीकर्ताको आवेदन परेको यो नै पहिलो पटक हो । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आज आवेदन दिने अन्तिम दिन साँझ ५ बजेसम्ममा ८ लाख १३ हजार ५ सय जनाले २ करोड २४ लाख ७६ हजार ९ सय ५० कित्ता सेयरको लागि आवेदन दिएका छन् । जुन कम्पनीले माग गरेको भन्दा ८.२३ गुणा बढी हो । कम्पनीले आइतबार (असोज ११ गते) बाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा राखेको थियाे । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणमा बिक्री गरेकाे हाे । यसमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे थियाे । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ ।