गोर्खाज फाइनान्सले तोक्यो वार्षिक साधारणसभाको मिति, सेयरधनीलाई लाभांश नदिने
काठमाडौं । गोर्खाज फाइनान्सले आफ्नो २५औं वार्षिक साधारणसभा आगामी कात्तिक ५ गते बोलाएको छ । सो प्रयोजनको लागि फाइनान्सले असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म संस्थाकाे बुक क्लोज गर्ने निर्णय गरेको छ । संस्थाले आर्थिक वर्ष २०७५/७६को वार्षिक साधारणसभा गर्न लागेकाे हाे । उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको होटेल क्राउन ईम्पेरियलमा भर्चुअल(भिडियो कन्फरेन्स) माध्यमबाट हुने भएको छ । सभामा फाइनान्सले बोनस, नगद लाभांश तथा हकप्रद सेयर केहीको पनि प्रस्ताव लगेको छैन । हाल संस्थाको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले चार अर्बको ऋणपत्र जारी गर्ने प्रक्रिया अघि बढायो
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चार अर्ब रुपैयाँ बराबरको डिबेन्चर(ऋणपत्र) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । बैंकले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै उक्त प्रक्रिया अघि बढाएको हो । कम्पनीले ‘नेपाल इन्भेष्टमेन्ट बैंक बोन्ड २०८४’ नामको सो मात्राको ऋणपत्र निष्काशन गर्न असोज ५ गते बोर्डसँग अनुमति मागेको हो । बोर्डको अनुमति पाएपश्चात बैंकले ७ वर्षे अवधिका लागि ८.५ प्रतिशत व्याजदरकाे ४० लाख थान ऋणपत्र जारी गर्ने छ । सोमध्ये बैंकले व्यक्तिगत तवरबाट २४ लाख थान र सर्वसाधारण तवरबाट १६ लाख थान ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति मागेको हो । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ्ग रहेको छ ।
एनएलजी इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको ६० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ६० प्रतिशत अर्थात ३८ लाख ४२ हजार ४ सय ३७ कित्ता सेयर सूचीकृत भएको छ । बुधबार(असाेज ७ गते) मात्रै कम्पनीको सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा सेयर किनबेच गर्न पाइने छ ।