माउन्टेन इनर्जीको आईपीओ बिक्री आजबाट खुल्यो, क-कसले भर्न पाउँछन् ?

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले यसअघि स्थगित गरेको आईपीओको बिक्री आज (भदौ ३१ गते) बाट खुला गरेको छ । संस्थाले उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो । संस्थाले यसअघि गत साउन ८ गतेबाट उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासनको तयारी गरेको थियो । तर उक्त समयमा देशका अधिकांश स्थानहरुमा बाढीपहिरोको भयावह अवस्था सिर्जना भएकोले प्रभावित क्षेत्रमा गएर सेवा प्रदान गर्न नसकिएकोले संस्थाले आईपीओ निष्कासन गर्ने प्रक्रियालाई तत्कालको लागि स्थगित गरेको थियो । संस्थालाई नेपाल धितोपत्र बोर्डले १०० रुपैयाँ अंकित दरका ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ जारी गर्न अनुमति दिएको थियो । त्यसमध्ये संस्थाले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १९ लाख ६८ हजार २७ कित्ता (जारी पुँजीको १० प्रतिशत) आईपीओ बिक्री गर्न लागेको हो । त्यस्तै, दोस्रो चरण सर्वसाधारणका लागि सोही बराबर अर्थात १९ लाख ६८ हजार २७ कित्ता आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको संस्थाले जनाएको छ । भदौ ३१ गते(आज) बाट पहिलो चरणमा निष्कासन गरिने आईपीओमा प्रभावित क्षेत्रका स्थानीयले छिटोमा असोज १४ गतेभित्र खरिद आवेदन दिनसक्ने छन् । यदि सो समय भित्र माग अनुसारको आईपीओ बिक्री नभएमा इच्छुक आवेदकले आगामी असोज २९ गतेसम्मको लागि सेयर भर्न पाउने छन् । उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । स्थानीयका लागि खुलाइने आईपीओमा नुवाकोट र म्याग्दी जिल्लाका अतिप्रभावितहरुले १० कित्तादेखि २० हजार कित्तासम्म खरिद आवेदन दिन सक्ने छन् । नुवाकोट जिल्लामा अतिप्रभावित क्षेत्र पञ्चकन्या गाउपालिका वडा नं. ४ (साविकको थप्रेक गाविस) र तादी गाउपालिका वडा नं. २, ३ र ४ (साबिक रालुकोदेवी र सुन्दरादेवी गाविस) तथा उद्योग प्रभावित क्षेत्रमा तादी गाउपालिका, पञ्चकन्या गाउपालिका र लिखु गाउपालिका छन् । त्यस्तै म्याग्दीका अतिप्रभावित क्षेत्रमा अन्नपूर्ण गाउपालिका वडा नं. ४ (साविकको नारच्याङ गाविस) र उद्योग प्रभावित क्षेत्रमा अन्नपूर्ण गाउपालिका छन् । उक्त स्थानमा बसोवास गर्ने नेपाली नागरिकले सो सेयरमा आवेदन दिन पाउने छन् ।

नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत, कसकाे स्वामित्व कति ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३४ लाख ४० हजार ३ सय २३ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । मंगलबार मात्रै कम्पनीको सो मात्राको सेयर साधारणमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकमा संस्थापकको ५५ प्रतिशत र सर्वसाधारणको ४५ प्रतिशत स्वामित्व हुने छ । लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोेड रुपैयाँ रहेको छ । त्यस्तै, बजार पुँजीकरण २४ अर्ब ४ करोड ४४ लाख रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ सय ८० रुपैयाँ रहेको छ ।

यसकारण स्थगित भयो बिहीबारको सेयर कारोबार राफसाफ

काठमाडौं । गत बिहीबार (भदौ २५ गते)को सेयर कारोबारको राफसाफ स्थगित भएको छ । सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)ले सोमबार एक सूचना जारी गर्दै उक्त कारोबारको राफसाफ तत्कालको लागि स्थगित भएको जनाएको हो । नेप्से कारोबार व्यवस्थापन प्रणाली(टीएमएस)मा समस्या आएकोले सोही दिनेको कारोबारको राफसाफ तथा फछर्यौट सेवा तत्कालको लागि स्थगत गरिएको सीडीएससीले जनाएको छ । गत बिहीबारको कारोबारको राफसाफ आज (भदौ २९ गते) हुनुपर्ने थियो । तर, कारोबारमा समस्या भएकोले सो दिनको सेटलमेन्ट पोष्टपोन गर्नुहुन्न भनेर नेप्सेबाट पत्रचार भएकोले सीडीएससीले कारोबारको राफसाफ तथा फछर्यौट सेवा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको हो ।