आरएमडीसी लघुवित्तले २० प्रतिशत लाभांश दिने, चुक्ता पुँजी एक अर्ब नाघ्ने

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट बोनस र नगद गरी सो मात्रा अर्थात १७ करोड ९८ लाख ६४ हजार ६ सय ८५ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८९ करोड ९३ लाख रुपैयाँ रहेको छ । जसको १५ प्रतिशतले हुन आउने १३ करोड ४८ लाख ९८ हजार ५ सय १३ रुपैयाँ बोनस सेयर वितरण गर्ने संस्थाले जनाएको छ । त्यस्तै, बोनस र नगद लाभांशको कर सहित ५ प्रतिशत अर्थात ४ करोड ४९ लाख ६६ हजार एक सय ७१ रुपैयाँ नगद लाभांश वितरण गर्ने संस्थाले प्रस्ताव गरेको छ । उक्त प्रस्ताव भदौ २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । जसलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । ८९ करोड ९३ लाख रुपैयाँ संस्थाकाे चुक्ता पुँजी १५ प्रतिशत बोनस सेयर पश्चात १ अर्ब ३ करोड रूपैयाँ पुग्ने छ । अघिल्लाे आवमा संस्थाले बोनस र नगद लाभांश बराबर अर्थात १२.५/१२.५ प्रतिशत वितरण गरेको थियो ।

प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद र शाइन रेसुङगा डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा आइतबार दुई कम्पनीको सेयर सूचीकृत भएको छ । सो दिन प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद सेयर र शाइन रेसुङगा डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत अर्थात ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । त्यस्तै, शाइन रेसुङगा डेभलपमेन्ट बैंकको १५ प्रतिशत अर्थात ३९ लाख ३४ हजार ३ सय ५६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

लिवर्टी ईनर्जीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले सेयर सम्बन्धि सम्पूर्ण कार्य गर्नको लागि प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । उक्त नियुक्त सम्बन्धि सम्झौतामा लिवर्टी ईनर्जीका तर्फबाट प्रबन्ध सञ्चालक डा. आत्माराम घिमिरे तथा सेयर रजिष्ट्रार प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । साथै लिवर्टी ईनर्जी कम्पनीको सेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि यस प्रभु क्यापिटल लिमिटेड, कमलादीमा सम्पर्क गर्न सकिने छ ।