उन्नति सहकार्य लघुवित्तको साधारण सेयर सूचीकृत

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको १४ लाख ९५ हजार ३ सय ६६ कित्ता साधारण सेयर सूचीकृत भएको छ । उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिए पश्चात बनेको उन्नति सहकार्य लघुवित्तको बिहीबार मात्रै सो मात्राको साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो । यी दुई संस्था १ बराबर ०.७५ को अनुपातमा एक आपसमा गाभिएका हुन् । त्यसपश्चात प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ दरको १४ लाख ९५ हजार ३ सय ६६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको आगामी आइतबारदेखि दोश्रो बजारमा सेयर किनबेच हुने छ ।

वस्तु विनिमय बजार सम्बन्धी प्रशिक्षण कार्यक्रम गर्दै धितोपत्र बोर्ड, सहभागी हुने कसरी ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार सम्बन्धी पाक्षिक लगानीकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । बोर्डले बिहीबार एक सूचना जारी गर्दै उक्त कार्यक्रम सञ्चालन गराउने सम्बन्धी जानकारी गराएको हो । बोर्डले भदौ १२ गते शुक्रबार दिनको एक बजे नयाँ मोडालिटी अनुसारको बेसीक लेभल पाठक्रममा आधारित रहि उक्त कार्यक्रम गर्ने भएको छ । बोर्डले वेवीनार मार्फत दुई घण्टाको उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । उक्त कार्यक्रमको संयाेजकमा डा. नबराज अधिकारी रहेका छन् । त्यस्तै, प्रस्तोतामा बोर्डको निर्देशक अन्जु महतो, सीडीएससीको सहायक व्यवस्थापक सुरेश न्यौपाने र धितोपत्र बजार विज्ञ कृष्ण गिरी रहेका छन् भने सहजकर्तामा अनुज कुमार रिमाल रहेका छन् । इच्छुकले बोर्डले उपलब्ध गराएको जुम लिंक प्रयोग गरी प्रत्यक्ष संलग्त हुन सक्ने छन् । साथै बोर्डको फेसबुक पेजबाट पनि सहभागी हुन सक्ने बोर्डले जानकारी गराएको छ । इच्छुक लगानीकर्ताले कार्यक्रम शुरु हुनु अघि नै तल दिईएको जुम लिंक मार्फत दर्ता गर्न सक्ने छन् । यस्तो छ धितोपत्र बोर्डले उपलब्ध गराएको जुम तथा फेसबुक लिंक:  

नबिल व्यालेन्सड फण्ड २ र नबिल इक्वीटी फण्डले लाभांश वितरण गर्ने

काठमाडौं । नबिल व्यालेन्सड फण्ड २ र नबिल इक्वीटी फण्डले सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् । दुबैले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेका हुन् । यससँगै व्यालेन्सड फण्ड २ ले ईकाइधनीलाई कर सहित ९ प्रतिशतका दरले १० करोड ८ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै, नबिल इक्वीटी फण्डले आफ्ना ईकाइधनीहरुलाई कर सहित ६ प्रतिशतका दरले ७ करोड ५० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने भएको छ ।