ब्राेकर नंं. ५० ले भर्च्युअल सेवा दिने, बिक्री गरेको सेयरको पैसा कसरी भुक्तानी गर्ने ?
काठमाडौं । ब्रोकर सेवा प्रदान गर्दै आएको क्रिस्टल कञ्चनजंघा सेक्यूरिटिज( धितोपत्र व्यवसायी नंं. ५०) ले ग्राहकलाई भर्च्युअल(अनलाइन) सेवा दिने भएको छ । कम्पनीले निषेद्याज्ञा अवधिभर ग्राहकलाई सकेसम्म अनलाइनबाट सेवा दिने निर्णय गरेको हो । कोरोना महामारीको जोखिम बढेसँगै सरकारले कोरोना महामारी न्यूनीकरण तथा नियन्त्रणको लागि काठमाडौं उपत्यकामा निषेद्याज्ञा गरेसँगै कम्पनीले सेयर कारोबारसँग सम्बन्धित सबै कारोबार अनलाइनबाट गराउने जानकारी गराएको हो । कम्पनीले उपलब्ध गराउने सबै सेवाहरुको लागि फोन तथा इन्टरनेटमा आधारित प्रविधिको प्रयोग गर्न संस्थाले विभिन्न सेवा सम्बन्धित कर्मचारीको सम्पर्क नम्बर उपलब्ध गराएको छ । साथै, यस कम्पनीका ग्राहकले बिक्री गरेको सेयरको भुक्तानी आईपीएस मार्फत ट्रान्सफर गर्न शुरु गरेको थियो । जसमार्फत ग्राहकले पहिचान विवरणमा उल्लेख भएको खातामा रकम ट्रान्सफर गर्दा केहि खातामा रकम ट्रान्सफर नभएको तथा केहि असम्बन्धित खातामा ट्रान्सफर हुने समस्या आएको क्रिस्टल कञ्चनजंघाले जनाएको छ । त्यसैले ग्राहक आफुले रकम ट्रान्सफर गरि लिन चाहेको कुनै एक बैंक खाताको विवरण(बैंकको नाम, शाखा र खाता नम्बर) स्पष्ट खुलाएर यस कम्पनीलाई निवेदन दिन वा बैंक खाता नम्बर भएको चेकको प्रतिलिपीमा हस्ताक्षर गरी स्वयं आफुले प्रमाणीत गरी यस कम्पनीको [email protected] वा [email protected] ईमेल ठेगानामा वा मोबाइल नं ९८४९३९०२७१, ९८४५४२१६२९ तथा ९८५१०१६१२०को भाइबर वा ह्वाटस् एपमा उपलब्ध गराउन सेक्युरिटिजले जानकारी गराएकाे छ ।
रिलायन्स लाइफको आईपीओमा पहिलो दिनमै ४८ प्रतिशत आवेदन, ५५ हजार बढीले भरे सेयर
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिन ५५ हजार २ सय ८४ जनाले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बिहीबार साढे ४ बजेसम्ममा ५५ हजार २ सय ८४ जनाले २७ लाख ३० हजार १ सय ३० कित्ता सेयरको लागि आवेदन दिएका हुन् । जुन कम्पनीले सर्वसाधारणमा माग गरेको सेयरको ४८.१५ प्रतिशत आवेदन हो । कम्पनीले सर्वसाधारण्मा कूल ५६ लाख ७० हजार कित्ता सेयर बिक्रीमा राखेको हो । इन्स्योरेन्सले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । कूल ६३ लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा राखेकाे हाे । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे छ । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ ।
बैंक नखुलेपछि सेयर कारोबार अफ्ठ्यारोमा
काठमाडौं । बिहीबार उपत्यकाका सबै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरु बन्द भएका छन् । प्रहरीले बैंकका कर्मचारीलाई कार्यालय जान अवरोध गरेपछि उपत्यकका सबै बैंकका शाखाहरु बन्द भएका हुन् । यससँगै अतिआवश्यक सेवा अन्तर्गत पर्ने बैंकिंङ्ग सेवा बन्द भएपछि सेयर कारोबार पनि अफ्ठ्यारोमा परेको छ । बैंक नै बन्द भएपछि सेयर कारोबार राफसाफ गर्न ग्राहो हुने ब्रोकर्सहरु बताउँछन् । स्टक ब्रोकर्स एशोसिएसनका अध्यक्ष भरत रानाभाटले बैंक बन्द हुँदा सेयर काराेबार रोकिँदैन तर सेयर राफसाफकाे काम रोकिने बताएका छन् । ‘आज जस्तै बैंक नै खुलेन भने राफसाफको लागि रोकिन्छ । बैंक पनि आज एकदिनको लागि बन्द भएको होला । भोलिदेखि खुल्लान् ।’, उनले विकासन्युजसँग भने । ‘हामी त कहिल्यै पनि काराेबार बन्द नगर्ने भन्नेमा छौं । क्लियरिङ्ग बैंकले पनि कारोबार नरोकिने, कारोबार हुन्छ नै भनेको छ । त्यसैले खुल्छ पनि होला ।’, अध्यक्ष रानाभाटले भने । यद्यपि अन्य ब्रोकरहरुले भने यस्तो अवस्थामा कार्यालय खोल्न गाह्रो भएको बताएका छन् । बैंक बन्द भयो भने सेयर कारोबार नहुने ब्रोकर्स एशोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मी बताउँछन् । सेयर किन्नेबाट पैसा नपाएपछि बेच्नेलाई पैसा हाल्न नसकिने भएपछि सेयर काराेबार गर्न गाह्राे हुने उनले बताए । भोलिदेखि नआउनु भन्ने चेतावनीका साथ बिहीबार कार्यालय पुगेको बताउँदै उनले विकासन्युजसँग भने- ‘आज एकदमै अफ्ठ्यारोसँग आईयो । अफिसमा २/३ जना कर्मचारी आएका छन् । कम्तिमा ४/५ जना कर्मचारी नआई काम हुन सक्दैन । बैंक नै बन्द भयो भने सेयर कारोबार हुँदैन ।’ बिहीबार भने अनलाइनबाटै सेयर कारोबार भइरहेकाे छ ।