लगानीकर्ताले सेयर कारोबारको लागि ब्रोकरकोमा राखेको धरौटीको व्याज पाउने

काठमाडौं । लगानीकर्ताले दोश्रो बजारमा सेयर कारोबार गर्दा दलाल व्यवसायी (ब्रोकर) कोमा राखेको धरौटी(मार्जिन) रकमको व्याज पाउने भएका छन् । उनीहरुले दलाल व्यवसायीलाई बुझाउनुपर्ने २५ प्रतिशत धरौटी रकममा प्रतिफल पाउने भएका हुन् । नेपाल धितोपत्र बोर्डले बुधबार एक पत्र जारी गरी लगानीकर्ताले सेयर कारोबार गर्नु अघि बुझाएको धरौटीमा पनि प्रतिफल पाउने व्यवस्था गरेको हो । लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीलाई बुझाउने धरौटी रकममा आउने दायित्व तथा प्रतिफलका सम्बन्धमा लगानीकर्ता तथा ब्रोकरबीच हुने सम्झौतामा उल्लेख गर्नुपर्ने व्यवस्था समेटी धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को संशोधनको स्वीकृति बोर्डले प्रदान गरेको पत्रमार्फत जानकारी गराएको छ । यसअघि लगानीकर्ताले बुझाएको उक्त धरौटी रकममा प्रतिफल नपाएको गुनासो गरिरहेका थिए । अब यस व्यवस्थासँगै सेयर कारोबारको लागि लगानीकर्ताले राखेको धरौटी रकममा प्रतिफल प्राप्त हुने वा नहुने सम्बन्धी उनीहरुमा रहेको अन्यौलता हटेको छ ।

अब आईपीओमा कम्तिमा ५० कित्ता आवेदन दिनुपर्ने

काठमाडौं ।  प्राथमिक बजारमा ‘बुक बिल्डिङ्ग’ विधि लागू भएको छ । नेपाल धितोपत्र बोर्डको साउन २२ गते बसेको बैठकले ‘बुक बिल्डिङ् निर्देशिका, २०७७’ लागू गरेको हो । यससँगै अब बुक बिल्डिङ् मार्फत सार्वजनिक निष्काशन गरेको कम्पनीको धितोपत्र खरिदमा सर्वसाधारणले कम्तिमा ५० कित्ता सेयरको लागि मात्र आवेदन दिन पाउने भएका छन् । साथै, बाडँफाँड हुने धितोपत्र संख्या पनि न्युनतम ५० कित्ता हुने छ  । अन्यको हकमा भने पुरानै नियम अनुसार न्युनतम १० कित्ताको लागि आवेदन दिन पाइने र बाँडफाँड हुँदा न्युनतम १० कित्ता सेयर पाइने बोर्डले जनाएको छ। साथै, यस सम्बन्धि विभिन्न व्यवस्थाहरू लागू गरिएकाे छ । जसमा संगठित संस्थाले निष्काशन तथा विक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार र औचित्य समेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम संचालन गर्नुपर्ने छ । न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव प्राप्त गर्नुपर्ने छ । संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने छ । बोर्डमा धितोपत्र दर्ता भई योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमा सहितको विवरणपत्र स्वीकृत भएपश्चात् योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत् धितोपत्र निष्काशन गर्नुपर्ने छ । कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्काशित धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेश गर्न नपाइने तथा कबोल गरेको शत प्रतिशत रकम तोकिएको निष्काशन बैंक खातामा जम्मा गर्नुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्नुपर्ने वा गुड फर पेमेन्ट चेक पेश गर्नुपर्ने व्यवस्था रहेको गरेको छ । स्टक एक्सचेञ्जले स्वचालित विद्युतीय बोल कबोल (विडिङ्ग) प्रणाली संचालन गर्नुपर्ने र स्वचालित विद्युतीय बोलकबोल प्रणाली संचालनमा नआउञ्जेल संगठित संस्थाले सिलबन्दी बोलकबोलमार्फत् धितोपत्रका लागि आवेदन माग गर्न सक्नेछ । योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुदाँ कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँड गर्नुपर्ने, कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने व्यवस्था गरेको छ । सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ । प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ्ग विधि लागू भएसँगै धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा हुने बोर्डको अपेक्षा रहेको छ । निष्काशनकर्ता कम्पनीले आफ्नो धितोपत्रको उचित मूल्य प्राप्त गर्न सक्ने र यसबाट वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित हुने, निष्काशनकर्ता कम्पनीमा संस्थागत लगानीकर्ताको स्वामित्व बढ्न गई संस्थागत सुशासन अभिवृद्धिमा सहयोग पुग्ने समेत बोर्डको अपेक्षा रहेको छ । साथै, ठूला संस्थागत लगानीकर्ताले गरेको धितोपत्रको मागका आधारमा सर्वसाधारण लगानीकर्तालाई लगानी सम्बन्धी निर्णय लिन सहज हुने, दोस्रो बजारको शुरुवाती कारोबार मूल्य निर्धारण गर्न सहज हुने तथा लगानीकर्तालाई लगानी विविधिकरण गर्न सहयोग पुग्ने बोर्डको अपेक्षा रहेको छ । [pdf id=232118]

सोल्टी होटलको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । सोल्टी होटलको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । गत साउन १८ गते बसेको होटलको सञ्चालक समितिको बैठकले गरेको निर्णय बमोजिम सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको हो । यससम्बन्धि दुई संस्थाबीच उक्त सेवा प्रदान गर्ने सम्झौता भएको छ । यससँगै कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी सबै कम एनआईबिएल एस क्यापिटलले गर्ने छ ।