बैंक नखुलेपछि सेयर कारोबार अफ्ठ्यारोमा

काठमाडौं । बिहीबार उपत्यकाका सबै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरु बन्द भएका छन् । प्रहरीले बैंकका कर्मचारीलाई कार्यालय जान अवरोध गरेपछि उपत्यकका सबै बैंकका शाखाहरु बन्द भएका हुन् । यससँगै अतिआवश्यक सेवा अन्तर्गत पर्ने बैंकिंङ्ग सेवा बन्द भएपछि सेयर कारोबार पनि अफ्ठ्यारोमा परेको छ । बैंक नै बन्द भएपछि सेयर कारोबार राफसाफ गर्न ग्राहो हुने ब्रोकर्सहरु बताउँछन् । स्टक ब्रोकर्स एशोसिएसनका अध्यक्ष भरत रानाभाटले बैंक बन्द हुँदा सेयर काराेबार रोकिँदैन तर सेयर राफसाफकाे काम रोकिने बताएका छन् । ‘आज जस्तै बैंक नै खुलेन भने राफसाफको लागि रोकिन्छ । बैंक पनि आज एकदिनको लागि बन्द भएको होला । भोलिदेखि खुल्लान् ।’, उनले विकासन्युजसँग भने । ‘हामी त कहिल्यै पनि काराेबार बन्द नगर्ने भन्नेमा छौं । क्लियरिङ्ग बैंकले पनि कारोबार नरोकिने, कारोबार हुन्छ नै भनेको छ । त्यसैले खुल्छ पनि होला ।’, अध्यक्ष रानाभाटले भने । यद्यपि अन्य ब्रोकरहरुले भने यस्तो अवस्थामा कार्यालय खोल्न गाह्रो भएको बताएका छन् । बैंक बन्द भयो भने सेयर कारोबार नहुने ब्रोकर्स एशोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मी बताउँछन् । सेयर किन्नेबाट पैसा नपाएपछि बेच्नेलाई पैसा हाल्न नसकिने भएपछि सेयर काराेबार गर्न गाह्राे हुने उनले बताए । भोलिदेखि नआउनु भन्ने चेतावनीका साथ बिहीबार कार्यालय पुगेको बताउँदै उनले विकासन्युजसँग भने- ‘आज एकदमै अफ्ठ्यारोसँग आईयो । अफिसमा २/३ जना कर्मचारी आएका छन् । कम्तिमा ४/५ जना कर्मचारी नआई काम हुन सक्दैन । बैंक नै बन्द भयो भने सेयर कारोबार हुँदैन ।’ बिहीबार भने अनलाइनबाटै सेयर कारोबार भइरहेकाे छ ।

समाज लघुवित्तको आईपीओ आजदेखि भर्न पाइने

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आईपीओ आज (भदौ ४ गते)देखि भर्न पाइने भएको छ । संस्थाले आजदेखि ८६ लाख रुपैयाँ बराबरको अर्थात प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ८६ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो । कूल ८६ हजार कित्ता साधारण सेयर मध्ये जारी पुँजीको ०.५० प्रतिशत अर्थात एक हजार सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, कूल साधारण सेयर मध्येको ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ८० हजार ७ सय कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरिने संस्थाले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ १८ गते हुनेछ ।

रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो, न्यूनतम १० कित्ता आवेदन दिन पाइने

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ)को बिक्री खुला भएको छ । इन्स्योरेन्सले आज(भदौ ४ गते) देखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । कूल ६३ लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ ।