२०७६ सालकाे सेयर बजारलाई फर्केर हेर्दाः के भन्छन् नेप्से र लगानीकर्ता ?
काठमाडौं । २०७६ साल नेपालको सेयर बजारमा निक्कै उतारचढाव रह्यो । यसबीचमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक न्युनतम ११०० बिन्दुदेखि अधिकतम १६३२ बिन्दुमा पुग्यो । वर्षको अघिल्ला दिनमा परिसूचकमा गिरावट देखिएता पनि पुस मसान्तपछि भने सुधारको बाटो तर्फ लागेको थियो । सो अवधिमा कारोबार रकमले ऐतिहासिक रेकर्ड राख्यो । बजारमा एकैदिन करिब ५ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भयो । एक वर्षको अवधिमा समूह सूचकमा पनि उतारचढाव नै देखिएको छ । १४१४ अंकमा पुगेको बैंकिङ्ग समूह घटेर १०९३ मा झरेको छ । २१६६ अंकमा पुगेको होटल समूह १५६३ अंकमा झरेको छ । जीवन बीमा ६७९७, निर्जीवन बीमा ५२७१, फाइनान्स ६३६, माइक्रोफाइनान्स २०५०, विकास बैंक १७११ अंकमा पुगेको छन् । त्यस्तै, उत्पादनमूलक र हाइड्रो समूह क्रमशः २४५९ र ९३३ अंकमा छन् । २०७६ सालमा चैत ९ गते आइतबार अन्तिम कारोबार भएको थियो । अनलाइनबाट मात्रै सेयर किनबेच भएको बजारमा नेप्से परिसूचक १८.२० अंकले घटेर १२५१.४५ अंकमा झरेको छ । सो दिन कूल १२३ कम्पनीको १९ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । दिनभरमा ४ लाख ८० हजार ५ सय २७ कित्ता सेयर किनबेच भएको थियो । कारोबार रकममा उछाल २०७६ फागुन १८ गते सेयर कारोबार रकमले नयाँ रेकर्ड रचेको थियो । सो दिनको बजारमा ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यो वर्षभन्दा अघि २०७५ साल फागुन २ गतेको सेयर कारोबारले इतिहास रचेको थियो । सो दिन २ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । त्यसयता भने सोभन्दा बढी कारोबार भएको थिएन । फागुन ५ गतेको बजारमा २ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएर नयाँ इतिहास रचेको थियो । त्यसपछि करिब १५ दिनको कारोबारमा भने निरन्तर जसो उच्च कारोबार भएको थियो । अन्ततः २०७६ फागुन १८ गतेको कारोबार रकम हालसम्मकै लागि उच्च बनेको छ । पुँजीगत लाभकर घट्यो धितोपत्र लगानीबाट हुने पुँजीगत लाभमा लाग्ने लाभकरको दरलाई प्राकृतिक व्यक्तिका हकमा ७.५ बाट ५ प्रतिशतमा झरेको छ । गत वर्षको बजेटले यो कर ५ प्रतिशतबाट बढाएर ७.५ पुर्याएको थियो । संस्थागत लगानीका हकमा भने यो कर १० प्रतिशत रहेको छ । अनलाइन प्रणालीमा सुधार गत वर्षको तुलनामा यो वर्ष प्रायजसो सबै प्रकारका कारोबारहरु विद्युतीय कारोबार प्रणालीमार्फत भएको छ । नेपाल क्लियरिङ्ग हाउसमार्फत सबै बैंक तथा वित्तीय संस्थाहरुसँग अनलाईन सिष्टम इन्टिग्रेट भएको छ । यस प्रणालीले कारोबारलाई थप सहज, सरल, सुरक्षित र पारदर्शी बनाउँदै गएको छ । ब्रोकर लाइसेन्सको लागि आवेदन खुला नेपाल स्टक एक्सचेञ्जले ब्रोकर लाइसेन्सका लागि कार्यविधि सार्वजनिक गरेर आवदेन खुला गरेको थियो । जसअनुसार एनआईसी एसिया बैंक, प्रभु बैंक र सानिमा बैंकले सहायक कम्पनी खडा गरेर ब्रोकर लाइसेन्सका लागि नेप्सेमा आवेदन दिइसकेका छन् । त्यस्तै, अन्य आधा दर्जन बैंकले ब्रोकर लाइसेन्सका राष्ट्र बैंकमा आवेदन दिएका छन् । ब्रोकर कम्पनी खोल्नका लागि एनआईसी एशिया बैकले एनआईसी एसिया सेक्यूरिटिज, प्रभु बैकले प्रभु स्टक मार्केट, माछापुच्छ्रे बैकले माछापुच्छ्रे सेक्यूरिटिज, सानिमा बैकले सानिमा सेक्यूरिटिज र सिटिजन बैकले सिआईबिएल सेक्यूरिटिज सहायक कम्पनी दर्ता गराएका छन् । नेप्सेकाे नजरमा उन्नतिकाे वर्ष नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिङ साउद २०७६ साल पुँजी बजारको लागि ठूलो उन्नति प्रगतिको साल बनेको बताउँछन् । कारोबार उच्च हुनु, पुँजीगत लाभकर घट्नु, बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइन्सेन्स दिन आवह्वान गरिनु, सबै बैंक तथा वित्तीय संस्थाहरुसँग अनलाइन सिष्टिममा आवद्ध भएका तथा विदेशमा बसेका नेपालीले पनि उतैबाट सेयर खरिद बिक्री गर्न पाउने व्यवस्थाका कारण ठूला प्रगतिको साल बनेको उनको भनाइ छ । ‘कारोबार रकमले नयाँ इतिहास रचेको छ । वर्षको शुरु शुरुमा नेप्से परिसूचक ओरालो लागेपनि पछिल्ला दिनमा उकालो लाग्ने क्रममा रहेको थियो । समग्रमा भन्नुपर्दा पुँजी बजारलाई २०७६ वर्ष उपलब्धीमूलक नै थियो । तर यहि अन्तिम अवस्थामा विश्वभर फैलिएको कोरोना संक्रमणको प्रकोपले गर्दा त्यसको प्रभाव बजारमा पर्यो । आशा छ २०७७ सालमा बजारमा थप उछाल आउने छ,’ उनले भने । ‘डिस्ट्रक्सन इज फर द कन्स्ट्रक्स’ भन्ने उखानलाई प्रष्ट पार्दै उनले भने– ‘अवन्नति हुँनु भनेकै उन्नतिको बाटोतिर अग्रसर हुनका लागि हो । सकारात्मक बनौं २०७७ साल कोरोनाको माहामारी सकिसकेपछि धेरै राम्रो अर्थात उपलब्धी हुन्छ ।’ लगानीकर्तालाई त्यति राम्रो लागेन समग्रमा २०७६ साल नेप्सेलाई उपलब्धीमूलक लाग्यो । तर लगानीकर्ताको नजरमा भने २०७६ साल पुँजी बजार त्यति उपलब्धीमूलक नभएको बुझिन्छ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार पुँजी बजारको लागि २०७६ साल मिश्रित भएको बताउँछन् । ‘कारोबार रकमले रेकर्ड राख्यो, नेप्से परिसूचक करिब साढे १६ सयको हाराहारीमा पुग्यो । यस्तै, राम्रो राम्रै भइरहेको बजारमा करिब डेढ महिनादेखि कोरोना भाइरसले भने केही प्रभाव पारेको छ, विश्वव्यापी धनजनको नास भइरहेको जसले नेपालमा पनि आर्थिक मन्दी ल्याउन सक्ने सम्भावना बढी छ,’ रौनियारले भने । कारोनाको प्रकोप हटेपछि खुलेको बजार केही समय अलमलमा पर्ने उनको अनुमान छ । तर त्यसले केहि समयमै पिकअप लिने उनी बताउँछन् । त्यसैले अहिलै आत्तिनु पर्ने अवस्था नरहेको, गाह्रो साह्रो भएको बेला दृढशक्ति, इच्छाशक्ति, मनोबल बलियो बनाउनु पर्ने उनी बताउँछन् । २०७७ साल पैसा हुने तथा लगानी गर्न इच्छुकहरुलाई पनि स्वार्णिम अवसर हुने उनको भनाइ छ । ‘नयाँ वर्ष पुँजी बजारको लागि नयाँ शक्ति संसार हुने छ । नियामक निकायहरुको प्रमुख पदमा नयाँ व्यक्ति अर्थात विज्ञहरु नियुक्त हुनुभएको छ । उहाँहरुले पुँजी बजारको कमी कमजोरीहरु पहिल्याउँदै यसको समाधान र सुधारका उपायहरु कार्यान्वयनमा ल्याउनु हुनेछ । बोर्डका अध्यक्षले पनि अहिलेको अनलाइन कारोबारमा देखिएका समस्यालाई न्युनीकरण गरी सबै कारोबार पूर्ण रुपमा अनलाइनबाटै गराउन आग्रह गरिरहनु भएको छ । त्यसैले पनि हामी आशावादी छौं,’ रौनियारले भने । उनले पुजी बजार विकासको लागि सरोकारवाला निकायहरु मिलेर ५ वर्षे योजना ल्याउनु पर्ने मार्जिनल कलको सीमा बढाउने, सबै कामहरु एकै ठाउँबाट हुने गरी एकद्धार प्रणाली लागू गर्ने, दीर्घकालिन लगानी गर्नेलाई त्यही अनुसारको सुविधा दिने जस्ता नीतिगत निर्णय आवश्यक रहेको पनि बताए । सेयर बजारमा लगानीकर्ताले जुन रुपमा सुधार खोजेका थिए त्यो रुपमा सुधार नभएको नेपाल पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल बताउँछिन् । समग्रमा भन्नु पर्दा नियामक निकायले गरेर बजार बढ्यो भन्ने ठाउँ नरहेको उनको विश्लेषण छ । ‘बजार घट्ने बढ्ने आफ्नो ठाउँमा छ । वर्षको शुरुमा ओरालो लागे पनि पुस मसान्तदेखि बजार बढ्न थालेको थियो, कारोबार रकमले साथ दिएको थियो । त्यसले लगानीकर्तालाई बजारप्रति आशा जगाएको थियो । तर पनि नियामक निकायले स्पष्ट रुपमा बजारलाई नहेरिदिँदा लगानीकर्ताले धेरै दुःख पाएको अवस्था रह्यो,’ उनले भनिन् । लगानीकर्ताका केही मागहरु कार्यान्वयन भएपनि बजार संयन्त्रहरुमा अपेक्षा अनुसारको सुधार हुन नसकेको उनको बुझाइ छ । अध्यक्ष पोखरेल सेयर बजारमा अझै पनि समस्या रहेको बताउँछिन् । बजारमा विभिन्न तरिकाको चलखेल भइरहेको भन्दै उनले बजार आफै पूर्ण रुपले चल्नु पर्ने भएपनि नेपालको पुँजी बजार स्वतन्त्र रुपमा नचलेको कारण साना लगानीकर्ता मारमा परेका बताइन् । २०७७ सालमा सरकार तथा नियामक निकायले हालसम्म स्पष्ट रुपमा नहेरिएको पुँजी बजार अब स्पष्ट रुपमा हेरिदिने, बजार सुधारको लागि हुनु पर्ने कामहरु तत्काल हुने र छिट्टै कार्यान्वयनमा ल्याउन सकिने वातावरण बन्ने आशा उनको छ ।
पुनर्बीमाको आईपीओ बाँडफाँडः ४० कित्तासम्म हाल्नेलाई सबै पर्यो, बाँकी ७७ हजारलाई थप १० कित्ता
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आईपीओ बुधबार बाँडफाँड भएको छ । उक्त आईपीओमा १० देखि ४० कित्तासम्म मात्रै आवेदन गरेकालाई माग गरेजति सबै तथा बाँकी ५० कित्ता वा सो भन्दा बढी आवेदन गरेकामध्ये ७७ हजार २ सय ४५ जनालाई थप १० कित्ता सेयर परेको छ । बिक्री प्रबन्धक आरबिबि मर्चेन्टका अनुसार योग्य आवेदकमध्ये १० देखि ४० कित्तासम्म माग गर्ने सबैले आफुले माग गरेजति पाएका छन् । आईपीओ भर्ने कुल आवेदकमध्ये ३ लाख ९० हजार ६ सय ३८ जनाको आवेदन योग्य भएको छ ।आईपीओमा कुल ३ लाख ९१ हजार ६ सय २६ जनाले आवेदन दिएका थिए । बाँकी ९ सय ८८ जनाको आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ । मर्चेन्टका अनुसार १० कित्ताको आवेदन गर्ने २२ हजार ७ सय ४८ जना, २० कित्ताको माग गर्ने १५ हजार ५ सय ९० जना, ३० कित्ता सेयर माग गर्ने १२ हजार ७ सय २३ र ४० कित्ताको सेयर माग गर्ने २० हजार ९ सय २९ जना थिए । उनीहरू सबैले माग गरेजति सबै सेयर हात पारेका छन् । साथै, ५० देखि माथि अर्थात १० हजार कित्तासम्मको लागि आवेदन दिने मध्ये कोहीले ४० कित्ता पाएका छन् भने कोही भाग्यशालीले थप १० किता अर्थात ५० कित्ता सेयर पाएका छन् । कूल ३ लाख १३ हजार ६ सय ४८ जनाले ५० देखि १० हजार कित्तासम्मको लागि सेयर माग गरेका थिए । जसमा सबैले ४० कित्ता पाएका छन् भने जसमध्ये ७७ हजार २ सय ४५ जना भाग्यमानी आवेदकले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन् । समग्रमा ५० कित्ता सेयर ७७ हजार २ सय ४५ जनालाई ५० कित्ता सेयर वितरण गरिएको बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीले चैत ४ गतेदेखि एक अर्ब ६० करोड रुपैयाँ बराबर अर्थात एक करोड ६० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । जसमा निष्काशन गरिएको भन्दा बढी सेयरको माग भएकोले शुक्रबार अर्थात चैत ७ गते ५ बजेपछि आवेदन बन्द गरिएको थियो । कम्पनीले जारी गरेको कूल सेयरमध्ये एक करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयर आम सर्वसाधारणमा बिक्रीमा राखिएको थियो । हाल ८ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बिक्री तथा वितरणपछि १० अर्ब रुपैयाँ हुने छ । चैत ४ गतेदेखि ७ गतेसम्म निष्काशन भएको उक्त सेयरको बाँडफाँड बुधबार(आज) टेकुस्थित राष्ट्रिय वाणिज्य बैंकको भवनमा बिहान साढे ७ बजे भएको हो ।
सेयर बजार बन्द गर्नु उपयुक्त होइन, खुल्ला गर्ने यस्ता छन् ३ विकल्प
काठमाडौं । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न भन्दै नियामक निकाय धितोपत्र बोर्डले यो साता सेयर बजार बन्द गरेको छ । सेयर बजार बन्द गर्नु नै अहिलेको लागि उपयुक्त विकल्प हो भन्ने एकथरीको तर्क छ भने बजार बन्द गरेर आफ्नो स्वामित्वको निर्वाध भोगचलन गर्न पाउने संबैधानिक अधिकार कुण्ठित गरियो भन्ने अर्काथरीको तर्क छ । अहिलेको अवस्थामा यी दुबै तर्क सही छन् । किन सही छन् भने संकटको बेलामा मानिसले सही निर्णय लिन सक्दैन, सही निर्णय लिन नसक्ने बेलामा गरिएको सेयर किनबेच सही निर्णय हुँदैन । त्यसैले अहिलेको त्रासदीपूर्ण अवस्थामा सेयर बजार खोल्नु हुदैन । फेरि सरकारले कोरोना संक्रमणबाट बच्न भन्दै विभिन्न निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा विशेष सम्वोधन गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने जानकारी गराएका छन् । सरकारले २५ जनाभन्दा बढी जम्मा हुन रोक रोक लगाएको छ । यस्तो बेलामा सेयर बजार बन्द गर्नु ठीक कदम हो । तर, नेपालको संविधानले नागरिकलाई सम्पत्तिमाथिको हक पनि पद्रान गरेको छ । आफ्नो सम्पत्तिको निर्वाध भोगचलन गर्न पाउने संबैधानिक अधिकार सेयर बजार बन्द गर्ने नियामक निकायको निर्णयको कारण कुण्ठित भयो भन्ने तर्क गर्नेहरु पनि छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमण देखिएको छैन । संक्रमण देखियो भने फैलन सक्छ भनेर सरकारले उच्च सावधानी अपनाएको बेला मात्रै हो । सावधानी अपनाएकै बेलामा नागरिक अधिकार कुण्ठित गर्नु उपयुक्त नहुने यसको विपक्षमा रहेकाहरुको तर्क छ । त्यसोभए सरकारले गरेको निर्णय कार्यान्वयन पनि हुने, कोरोना संक्रमण विस्तार पनि रोकिने र नागरिक अधिकार कुण्ठित हुनबाट पनि जोगिने कुनै उपाय छैन ? नियामक निकायले बजार बन्द गर्न निर्णय दिनुअघिदेखि नै आफूहरु मध्यमार्गी उपायको विषयमा छलफलमा जुटिसकेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद बताउँछन् । ‘नेप्सेमा कारोबार हुने सेयर भनेको नागरिकको सम्पत्ति हो, धितोपत्र बोर्डले यो साताको लागि बजार बन्द गर्ने निर्णय गरेको छ, तर एक सातामै कोरोना संक्रमणको सम्भावना नसकिन पनि सक्छ, त्यसैले कुन विधि र विकल्प अपनाएर नागरिकको सम्पत्ति बन्धक नहुने तथा सम्भावित कोरोना महामारीको संक्रमणबाट पनि जोगिने भनेर हामीले छलफल गरिरहेका छौं,’ प्रमुख कार्यकारी अधिकृत साउदले विकासन्युजसँग भने । नेप्सेले छलफल गरेका विकल्प के कस्ता हुन् भन्ने बारेमा साउदले खुलाएनन् । कोरोना संक्रमणले आक्रान्त देशहरुमा पनि सेयर बजार खुलिरहेका छन् । नेपालमा संक्रमण पनि देखिएको छैन । अहिले नेपालले गरेको भनेको सम्भावित संक्रमण विस्तार रोक्नको लागि शतर्कता मात्रै हो । अरु देशको पुँजी बजारको पूर्वाधार र हाम्रो पूर्वाधार तुलना गर्न सकिने खालको छैन भन्ने तर्क पनि आएको छ । यस्तो समस्याको बेलामा पूर्वाधार तयार पार्न दबाब दिने कि बजार बन्द गराउन उक्साउने भन्ने अर्काे प्रतिप्रश्न हो । नेपाली सेयर बजारमा अझै पनि म्यानुअल कारोबारको हिस्सा धेरै छ । अनलाइन कारोबार गर्नेहरुको संख्या कम छ । यही बेलामा अनलाइन कारोबारलाई प्रोत्साहित गर्ने प्रकारका गतिविधि गर्नु उत्तम र दीर्घकालिन फाइदाको कुरा हो । शतर्कता अपानाएकै अवस्थामा सेयर बजार बन्द गर्ने हो भने संकट आएको अवस्थामा के गर्ने भन्ने अर्काे समस्या पनि आउन सक्छ । किनभने धितोपत्र बोर्डले बढीमा ५ दिन बजार बन्द गर्न पाउने कानुनी अधिकार पाएको छ । शतर्ककताकै समयमा बोर्डले सो अधिकार प्रयोग गरिसक्यो । समस्या नै देखियो भने बोर्डले अब के गर्छ ? सेयर कारोबार बन्द गर्नु राम्रो कुरा होइन । यसले अविश्वास नै पैदा गर्छ । यस्तो बेलामा नियामक निकायसहित सरोकारवालाले ३ विकल्पमा बजार खुल्ला गर्न सक्छन् । पहिलो विकल्प पहिलो विकल्प भनेको विनाशर्त बजार खोल्ने नै हो । बजारले बजारको स्वभाव अनुसार काम गर्न पाउनु पर्छ । अहिले बजार धेरै घट्यो भने फेरि बढ्छ । बजार भनेको नै यही हो । योभन्दा पहिला २९३ विन्दुमा नेप्से परिसुचक पुगेको बेलामा कोरोना आएको थिएन । भूकम्पको त्रासदी पनि थिएन । अर्थमन्त्री पनि बजारमैत्री भनेर चिनिएका तत्कालिन एमालेका नेता सुरेन्द्र पाण्डे थिए । तर बजार घट्यो । र, जतिबेला बजार बढेर १८८१ विन्दुमा पुगेको थियो, त्यो बेला पनि त्यस्तो उत्पादत केही भएको थिएन । बजारले आफ्नो गति, विश्लेषण र स्वभाव अनुसार प्रतिक्रिया जनाएको थियो । दोस्रो विकल्प दोस्रो विकल्प भनेको बजारका प्राविधिक मापदण्डलाई निश्चित समयका लागि थप कसिलो बनाएर बजार खुल्ला गर्ने भन्ने हो । जस्तो कि अहिले एकै दिन बजार ६ प्रतिशतले घट्यो वा बढ्यो भने बन्द गरिन्छ । निश्चित अवधीको लागि यो ६ प्रतिशतको सीमालाई २ वा ३ प्रतिशतमा झारौं । अर्थात सर्किट ब्रेकका जे जति व्यवस्थाहरु छन्, तिनलाई केही समयको लागि कसिलो बनाएर बजारलाई सकेसम्म स्वभाविक बन्न प्रेरित गर्ने भन्ने हो । यस्तै, कारोबार समय पनि अहिलेकोबाट घटाएर २ वा ३ घण्टा बनाउन सकिन्छ । तेस्रो विकल्प तेस्रो विकल्प धितोपत्र कारोबारको अन्तराष्ट्रिय मूल्य र मान्यता अनुसारको छैन । यो विकल्प ‘संकट नै सिर्जनाको जननी हो’ भन्ने सिद्धान्तमा आधारित छ । त्यो भनेको के हो भने बजार खोल्ने । तर, यसरी खुल्ला गरिएको बजारमा एक दिनमा एक जनाले निश्चित रकम बजारको सेयर खरिद विक्री गर्न पाउने परिमाणात्मक बन्देज लगाउन सकिन्छ । जस्तो कि कसैलाई अस्पतालमा औषधोपचार गर्न ५० हजार रुपैयाँ चाहिएको छ भने उसले सो बराबरको सेयर बेचेर नगद बनाउन पाउने बाटो खुल्ला गर्नै पर्छ । उदाहरणको रुपमा कुनै सेयरधनीले एक सातामा वा १५ दिनमा ५० हजार रुपैयाँ बराबरको मात्रै सेयर बेच्न पाउने व्यवस्था गर्ने हो त्यसले सेयर बजारमा धेरै असर पार्दैन । सो लगानीकर्ताले राखेको सेयर विक्री भएन भने नागरिक लगानी कोषले किन्ने अन्तिम विकल्प राख्न सकिन्छ । तर, यसको कार्यान्वयन गर्न केही नीतिगत कठिनाइहरु छन् । अहिलेको व्यवस्थाले कोषलाई केही समस्या हुन सक्छ । कोष व्यवस्थापनलाई संचालक समितिले निश्चित परिमाणको सेयर किन्न अधिकार दिएकोले सो सीमाभित्रको सेयर खरिद गर्न कुनै समस्या नभएको कोषका उपकार्यकारी निर्देशक डा. इन्द्र कट्टेल बताउँछन् । कोष व्यवस्थापनलाई संचालक समितिले दिएको सीमा बृद्धि गर्नुपर्ने अवस्था रह्यो भने त्यसको बाटो खुल्ला राख्नुपर्ने हुन सक्छ । रकमका आधारमा परिमाणात्मक बन्देज नलगाउने हो भने गत विहीबारको सेयर मूल्यलाई त्यसबाट घटबड नहुने गरी फिक्स्ड गर्न सकिन्छ । यस्तो व्यवस्था निश्चित अवधिको लागि मात्रै गर्न सकिन्छ । तर, खरिदकर्ता निश्चित गरेर वा मूल्य फिक्स्ड गरेर गरिने कारोबार सेयर कारोबारको सैद्धान्तिक दायराभित्र पर्दैन । यो विकल्प भनेको संविधानले व्यवस्था गरेको सम्पत्तिमाथिको नागरिकको हक कुण्ठित हुनबाट जोगाउनका लागि मात्रै हो । विकल्प अरु पनि हुन सक्छन् । संकटको समयमा बजारमा अनावश्यक चलखेल गर्ने तत्व हावी हुन सक्छ । यस्ता तत्वलाई मुन्टो उठाउने ठाउँ नै नदिने प्रबन्ध गरी सेयर कारोबार खुल्ला राखिनु पर्छ । बजार खुल्ला राख्दा सेयर बजारको अन्तराष्ट्रिय मूल्य मान्यता अनुसार नै खुल्ला गर्नुपर्छ, त्यति पनि हुन सकेन भने संविधानको व्यवस्था अनुसार नागरिककको सम्पत्तिमाथिको अधिकार कुण्ठित हुन दिनु हुदैन ।