साताको शेयर बजारः तुलनात्मकरुपमा ओरालो, १६ अर्बको मात्र कारोवार

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । अघिल्लो साता निकै उच्च बिन्दुले बढेको बजार यस साता तुलनात्मकरुपमा ओरालो लाग्यो । पाँच कारोवार दिनमा एकाध दिनमात्रै बजारले उकालोको यात्रा तय गर्यो । यस साता बजारले नकारात्मक सर्किटसमेत सामना गर्नुपर्यो । यस्तै नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा समस्या आउँदा लगानीकर्तासमेत मर्कामा समेत परे । साताको पहिलो दिनदेखि नै ओरोलो लागेको बजार अन्तिम दिनसमेत ओरोलो नै लागेर बन्द भयो । बजारमा अल्पकालीन नाफा कमाउने प्रवृत्ति हावी हुँदा बजारले नकारात्मक लय समात्न पुग्यो । साताभर कूल १८१ कम्पनीको कूल तीन करोड १६ लाख ५५ हजार ५ सय ८३ कित्ता शेयर १६ अर्ब २१ करोड ९० लाख रूपैयाँ बराबरको कारोवार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से ४०.८२ अङ्कले घटेर एक हजार ५९१.३६ मा पुग्यो । सो दिन कूल १ सय ८३ कम्पनीका एक करोड २५ लाख १७ हजार २१७ कित्ता शेयर चार अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५ सय ५ रुपैयाँमा खरिद बिक्री भयो । यस साता सोमबार भने नेप्सेमा नकारात्मक सर्किट नै लाग्न पुग्यो । सोही कारण त्यस दिनको कारोवार नै स्थगित भयो । नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि त्यस दिनको कारोवार स्थगित भयो । नेप्सेका अनुसार त्यस दिन दिउँसो १ बजेर २९ मिनेटदेखि कारोवार स्थगित गरिएको थियो । बिहान ११ बजे खुलेको बजार निरन्तर ओरालो लाग्दै १ बजेर २९ मिनेटसम्म पुग्दा नेप्से ९६.०६ विन्दुले झरेको थियो । उक्त गिरावट प्रतिशतका आधारमा ६.०६ हो । त्यस दिन कूल १७३ कम्पनीको ४९ लाख ८६ हजार ५४४ कित्ता शेयर दुई अर्ब १५ करोड ४४ लाख २८ हजार २ सय १५ कित्ता शेयर कारोवार भएको थियो । यस्तै मङ्गलबार नेप्सेको अनलाइन प्रणालीमा समस्या आउँदा कारोवार केही समय स्थगित भयो । सो दिन भने कूल १८१ कम्पनीको ८२ लाख ११ हजार २८९ कित्ता शेयर तीन अर्ब ८५ करोड १६ लाख २२ हजार ९ सय ९६ मूल्यमा खरिद बिक्री भए । बुधबारसमेत नेप्से परिसूचकमा भारी गिरावट आयो । त्यस दिन नेप्से ६८.४७ अङ्कले घटेर एक हजार ४४१.२० मा पुग्यो । त्यस दिन कूल १७४ कम्पनीका ६७ लाख ७१ हजार १४१ कित्ता शेयर दुई अर्ब ९० करोड ८४ लाख ७२ हजार ६ सय ३ रुपैयाँमा खरिद बिक्री भए । बिहीबार पनि नेप्से परिसूचक ओरालो लाग्यो । नेप्से ओरोलो लागे पनि कारोवार रकम भने झण्डै अढाई अर्बको हाराहारीमा रहेको थियो । कूल १७९ कम्पनीको ५९ लाख ४० हजार ५३३ कित्ता शेयर दुई अर्ब ४५ करोड ७० लाख ९३ हजार ४ सय ६३ मूल्यमा खरिद बिक्री भए । रासस

व्यक्ति-विशेषसँग सेयर बजार नजोडौं: डा‍.खतिवडा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई काेही व्यक्तिकाे अनुहार तथा व्यक्ति विशेषसँग नजाेड्न आग्रह गरेका छन् । उनले बिहीबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा लगानीकर्तालाई उक्त आग्रह गरेका हुन् । ‘अर्थमन्त्रीको काम लगानीकर्तालाई लगानी गर्न अवसर जुटाउने मात्र हो, बाँकी लगानीकर्ताकाे जिम्मा हाे, अर्थमन्त्रीको होइन । त्यसैले,लगानीकर्ता आफैले लगानी गर्नुभन्दा अघि त्यस कम्पनीको सम्पूर्ण वित्तीय अवस्था बुझ्न आवश्यक छ’, उनले भने । ‘नीति ठीक हुने, प्रणाली ठीक हुने, कम्पनीको क्षमता र स्वास्थ्य राम्रो हुने तर भाउ तलमाथि हुने भनेको बजारको सेन्टिमेन्ट हो, त्यो हामी कसैसँग जोडेर हेर्नु उपयुक्त हुँदैन,’ उनले भने । साथै, पछिल्लो दुई वर्षमा पुँजीबजारमा धेरै सुधार भएको उनले बताएका छन् ।

सबैभन्दा ठूलो ग्लोबल आईएमई बैंक सेयर मूल्यमा भने किन १४ बैंकपछि ? (समग्र विश्लेषण)

काठमाडौं । १२ बर्षअघि सञ्चालनमा आएको ग्लोबल आईएमई बैंक सरकारको बिग मर्जरको नीतिलाई पुरा गर्ने पहिलो बैंक हो । हालै जनता बैंकलाई मर्ज गरेको ग्लोबल बैंकले ५ वटा संस्था (कमर्ज एण्ड ट्रस्ट बैंकसहित २ वाणिज्य बैंक) मर्जर र ३ वटा संस्था एक्वायर गरिसकेको छ । मर्जर र एक्विजिशन भएका संस्थाहरुमा पहिले पनि अन्य संस्थाको मर्जर र एक्विजिशन भएकोले करीब १८ संस्थाको संयोजन हो, ग्लोबल आइएमइ बैंक । पूँजी आधारमा देशकै ठूलो बैंक बनेको ग्लोबल आइएमइ बैंक सन्तुलित वृद्धिसहित अगाडी बढेको छ । ‘सबैको लागि बैंक’को नारासहित सञ्चालनमा आएको बैंकको २ सय ९५ शाखा र २ सय ५७ वटा एटिएमबाट ग्राहकले सेवा पाइरहेका छन् । २ सय ४९ शाखारहित सेवा समेत सञ्चालन गरिरहेको छ । ९.६४ प्रतिशत बेस रेट रहेको बैंकले ग्राहकलाई अधिकत्तम ६ प्रतिशत जोडेर कर्जा दिइरहेको छ । त्यस्तै, निक्षेपमा ४ देखि ९.२५ प्रतिशतसम्म व्याज दिइरहेको छ । उपाधी बैंकले सन् २०१४ मा लण्डनको फाइनान्सियल टाइम्सबाट बैंक अफ दी एयरको अवार्ड पाएको थियो । बैंकले लण्डनको इन्टरनेशनल फाइनान्स म्यागेजिनबाट २०१६ मा बेस्ट इन्टरनेट बैंकको उपाधी पाएको छ । बैंकले वल्र्ड एचआरडी कंग्रेस भारतबाट सन् २०१८ मा बेस्ट इम्पोयर अवार्ड समेत पाएको छ । सेयर लगानीकर्ता ४८.८० प्रतिशत सर्वसाधारणमा सेयर रहेको बैंकमा जनता मर्ज गनुअघिसम्म वल्र्डवाइड इन्भेष्टमेन्ट प्रालिको सबैभन्दा धेरै (६.६२) सेयर रहेको थियो । जनता बैंकको सेयर पूँजी ८५ प्रतिशत (७ अर्ब २० करोड रुपैयाँ) हुने गरी मर्ज भएको बैंकमा सो बैंकका केशवबहादुर रायमाझी र विनित कुमार अग्रवालले सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका छन् । व्यवसायी चन्द्र ढकालको लगानी रहेको ग्लोबल आईएमई बैंकमा उनी आफै अध्यक्ष रहदै आएका छन् । लगानी बैंकको ४२ करोड ७१ लाख रुपैयाँ बराबरका सूचीकृत र सूचीकृत हुन बाँकी सेयर/इकाइमा लगानी गरेको छ । १ अर्ब ५३ करोड अन्य सेयरमा लगानी रहेको छ । बैंकले सरकारी ऋणपत्र लगायतमा भने ११ अर्ब लगानी गरेको छ । ग्लोबल आईएमई क्यापिटलमा बैंकको ७५ प्रतिशत र ग्लोबल आईएमई लघुवित्तमा बैंकमा ७० प्रतिशत सेयर स्वामित्व छ । लाभांश बैंक विगत ५ वर्षमा बार्षिक औषत २०.१ प्रतिशतको दरले लाभांश दिन सफल हुँदै आएको छ । बैंकले यस पटक गत वर्षको तुलनामा लाभांश दर केही बढाएर २५.५ प्रतिशत दिएको छ । हालसम्मको नाफाको आधारमा लगानीकर्तालाई १ अर्ब २० करोड रुपैयाँ वितरण गर्न सक्ने अबस्थामा बैंक छ । यो रकम बैंकको चुक्ता पुँजीको आधारमा ६ प्रतिशत हो । जनतासँग मर्जरपछि बैंकको सेयर प्रिमियममा ५ अर्ब ३९ करोड रुपैयाँ छ । सेयर प्रिमियम रकम समेत जोड्दा लाभांश दर ३४.७९ पुग्छ । आव अन्त्यमा यो दर अझ बढ्न सक्छ । वित्तीय अवस्था बैंकले चालु आवको दोस्रो त्रैमाशमा मात्रै ३२ प्रतिशतले नाफा बढाएर १ अर्ब ६८ करोड रुपैयाँ कमाएको छ । जनता बैंकको मर्जरअघिको नाफासमेत जोड्दा नाफा रकम २ अर्ब १३ करोड पुगेको छ । नाफा रकम आधारमा भने बैंक तेस्रो स्थानमा छ । बैंकको व्याज आम्दानी ३४ प्रतिशत र खुद व्याज आम्दानी ४९ प्रतिशतले बढेको छ । ८ अर्ब ६३ करोड ब्याज आम्दानी गरेको बैंकको खुद व्याज आम्दानीमा ३ अर्ब ५४ करोड पुगेको छ । खुद व्याज आम्दानीको आधारमा बैंक तेस्रो स्थानमा छ । बैंकको जगेडा तथा सञ्चित कोषमा ८ अर्ब ५७ करोड रुपैयाँ छ । कोष लागत ७.५७ प्रतिशतबाट घटेर ६.७९ मा सिमित भएको छ । समग्र बैंकिङ क्षेत्रमा यो बैंक निक्षेप र कर्जा लगानीको आधारमा पहिलो स्थानमा छ । खराब कर्जा अनुपात १ प्रतिशत मुनि पुगेको छ । कर्जा नोक्सानको सम्भावनाको आधारमा बैंकले ४१ करोड ३९ लाख रुपैयाँ प्रावधान राखेको छ । निक्षेप प्राथमिक पुँजीको आधारमा कर्जा लगानी अनुपात ७८.९८ प्रतिशत छ । बैंकले कर्जा लगानीको लागि आवश्यक स्पेस बनाउन केही समय अघि मात्रै ऋणपत्र जारी गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी २२.५३ प्रतिशत र प्रतिसेयर नेटवर्थ १ सय ४५ प्रतिशत छ । प्रतिसेयर आम्दानीको आधारमा बैंक १४ औं स्थानमा छ । कम्पनीको सेयर मूल्य पछिल्लो समय घट्ने क्रममा ३ सय रुपैयाँभन्दा मुनिसम्म आएको थियो । रेटिङ बैंकलाई इक्रा नेपालले माइनस ए रेटिङ दिएको छ । रेटिङले उल्लेख गरेका महत्वपूर्ण विशेषताहरु निम्न अनुसार छन् । –बजारको ठूलो खेलाडी, बजार हिस्सा ७ प्रतिशत –मर्जपछि पूँजी पर्याप्तता आधारमा सुधार (१२.२८ प्रतिशत) –भाका नाघेको कर्जा १० प्रतिशत र खराब कर्जा १.०२ (मर्जरको कारण वृद्धि तर स्वस्थ सम्पत्ती गुणस्तर) –भाका नाघेको कर्जामा ८० प्रतिशत एक महिना भित्रमा भएकोले अवस्था सहज –बजारको भन्दा उच्च कोष लागत (समग्र बजारको ६.६३ रहेकोमा बैंकको ७.०९ प्रतिशत) –कम लागतको निक्षेप घट्दो –कर्जामा ३३ प्रतिशतको वृद्धि (समग्र क्षेत्रको वृद्धिदर २२ प्रतिशत) –प्रमुख २० ऋणीको हिस्सा कम (१३ प्रतिशत, यो राम्रो सूचक हो ।) –खुद व्याज मार्जिन ४ प्रतिशत प्रवृत्ति बुलिश बैंकप्रति दोस्रो बजारका सेयर लगानीकर्ताको विश्वास खासै बढ्न सकेको देखिदैन । बैंकको मूल्य आम्दानी अनुपात १३.१० प्रतिशत हुनुले यस्तो देखाउँछ । यो दर २० भन्दा माथि ३० सम्म हुनु राम्रो मानिन्छ । यसको अर्थ बैंकले कमाएको १ रुपैयाँको लागि लगानीकर्ताहरुले १३.१० तिरिरहेका छन् भन्ने हो । बजारमा रहेका समकालिन अन्य बाणिज्य बैंकहरुमा यो दर कम नै हो । बैंकको सेयर मूल्य केही समयदेखि नै बुलिश प्रवृत्तिमा छ । १४ दिने आरएसआई सुचक केही समयदेखि नै सन्तुलित क्षेत्रमा छ । आरएसआई हाल ५७.८९ मा छ । २१ दिने र ७ दिने सिम्पल मुभिङ एभरेज केही समयअघि मात्रै क्रस ओभर भएको छ । यसले मूल्य बुलिश प्रवृत्तिमा नै रहेको संकेत गर्छ । यी दुईबीच अझै दुरी कायमै छ । एक महिना अवधिको पीभट विश्लेषणले भने अब बजार घट्ने क्रममा रहेकोले आगामी एक महिनामा २ सय ७२ मा पहिलो टेवा र ३ सय ८ मा पहिलो प्रतिरोध पाउने देखाउँछ । एक महिनामा बैंकको मूल्य ३६ रुपैयाँको फरकमा तल माथि गरिरहेकोले रेन्ज नै कम छ । बैंकको मूल्यमा निकै कम उतारचढाव छ । ३० कारोबार दिनको आधारमा हेरिएको स्ट्याण्डर्ड डेभिएसन अनुसार बैंकको यो सूचक ५.६३, समग्र बैंकिङ समूहको २७.५४ र नेप्से परिसूचकको २३.५८ छ । नेप्सेमाभन्दा पनि बैंकिङ समूहमा बढि उतार चढाव छ भने यस बैंकको सेयरमा खासै उतार चढाव छैन । छोटो छोटो अवधिमा कमाउन चहानेलाई हालसम्म बैंकको मूल्यबाट खासै फाइदा देखिदैन । बैंकको सेयर मूल्यले अन्तिम दुवैतर्फ धागो भएको कालो मैनवत्ति आकृति बनाएको छ । यसले लगानीकर्ताहरुमा तीव्र मोलमोलाई भइरहेको संकेत गर्छ । बैंकको सेयर मूल्यको लागि ३ सयको विन्दु मनोवैज्ञानिक विन्दुको रुपमा रहदै आएको छ । मूल्यले २ सय ७६ मा टेवा परीक्षण गर्ने बलियो समभावना छ । बैंकको सेयर मूल्यमा सुधार हुने संकेत देखिए पनि ठूलो उछालको सम्भावना कम देखिएको छ । तर, पनि बैंकले ब्रेक प्वाइन्ट भने खोजिरहेको छ ।