सांग्रिला डेभलपमेन्ट बैंकको नगद लाभांश पारित, बाह्य लेखापरीक्षकमा कार्की नियुक्त
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रस्तावित ८.९५९३ प्रतिशत नगद लाभांश(कर सहित) पारित भएको छ । विकास बैंकको पुस २९ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरको हो । सभाले पारित गरेसँगै संस्थाले शेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको दरले हुन आउने २३ करोड ३५ लाख ३७ हजार २९६ रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । हाल विकास बैंकको चुक्ता पुँजी २ अर्ब ६० करोड ६६ लाख रुपैयाँ रहेको छ । साथै, सभाले चालु आर्थिक वर्ष. २०७६/७७ को लागि श्याम कार्की एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्लाई बाह्य लेखापरिक्षकमा नियुक्त गरेको छ । हाल यस विकास बैंकले ८९ शाखा कार्यालयहरु, २६ एटिएममार्फत बैंकिङ् सेवा दिँदै आएको छ ।
स्पर्स लघुवित्तको १३ प्रतिशत लाभांश पारित, सञ्चालकमा दुई जना निर्विरोध निर्वाचित
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको प्रस्तावित १३.६८ प्रतिशत लाभांश पारित भएको छ । आइतबार कास्कीको पोखरामा सम्पन्न संस्थाको तेश्रो वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै शेयरधनीले १३ प्रतिशत बोनस र ०.६८ प्रतिशत नगद(कर प्रयोजनको लागि) गरी १३.६८ प्रतिशत लाभांश पाउने भएका छन् । बोनस शेयरको कर बापतको नगद रकम ५ लाख ६७ हजार ६४२ रुपैयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताएका छन् । ८ करोड २९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको १३ प्रतिशत बोनस शेयर पछि ९ करोड ३७ लाख रुपैयाँ पुगेको छ । सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिको प्रतिनिधित्वको लागि निर्विरोध निर्वाचित संचालकहरु नारायणी देवकोटा र जगन्नाथ रिजाल चयन भएको निर्वाचन अधिकृत अधिवक्ता खगेन्द्रराज घिमिरेले घोषणा गरेका छन् । वित्तीय संस्थाले एक वा एक भन्दा बढि लघुवित्त वित्तीय संस्थालाई गाभ्ने तथा गाभिने वा प्राप्ती गर्ने वा प्राप्ती हुने लगायतका सम्पुर्ण कार्य गर्न गराउन संचालक समितिलाई अख्तियारी दिएको छ । साथै, सो पश्चात हुन आउने पुँजीको १ः१ हकप्रद शेयर जारी गर्ने संस्थाले जनाएको छ । साथै, संस्थाले कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था बनाउनको लागि प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ ।
आइतबारको सेयर बजारमा ‘थ्री ई’ प्रभावः परिसूचक पुग्यो ५ महिनायताकै उच्च विन्दुमा
काठमाडौं । आइतबार (२७ पुस) पुँजी बजार मापक नेप्से परिसूचक ४२.६१ अंकले बढेर १२५५.७२ विन्दुमा पुग्यो । यो विन्दु ५ महिनायताकै सबैभन्दा उच्च हो । आइतबार कारोबार रकममा पनि उल्लेख्य सुधार आयो । सो दिन १ सय ७९ कम्पनीका ३८ लाख ३१ हजार ५४ कित्ता सेयर १ अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९ सय ६७ रुपैयाँमा किनबेच भए । सामान्यतः पुस मसान्त, चैत मसान्त र असार मसान्तको नजिकलाई बजार घट्ने मौसम भनिन्छ । यसको कारण के हो भने पुस मसान्तमा अनुमानित आय विवरणका आधारमा आयकरको पहिलो किस्ता बुझाउनु पर्छ । पहिलो किस्ताको रुपमा आफ्नो वर्षभरी कारोबार भएर जति आम्दानी हुन्छ भन्ने आफूलाई लाग्छ, त्यस्तो आम्दानीको ४० प्रतिशत कर सरकारलाई बुझाउनु पर्छ । दोस्रो किस्ता चैत मसान्तमा बुझाउनु पर्छ । दोस्रो किस्ता भनेको वार्षिक अनुमानित आयको ३० प्रतिशत बुझाउने हो । र, तेस्रो तथा अन्तिम किस्ताको रुपमा असार मसान्तमा बाँकी रहेको ३० प्रतिशत आयकर सरकारलाई बुझाउनु पर्छ । सरकारलाई यसरी कर बुझाउनु पर्ने हुँदा लगानीकर्तालाई रकमको अभाव पर्ने भएकोले सेयर विक्री बढ्ने विश्लेषण गरिन्छ । सेयर विक्रीको चाप बढ्दा मूल्य घट्छ । तर, यो आकलन यसपाली मिलेन । पुस २७ गते परिसूचक ४२.६१ अंकले बढ्यो, १ अर्ब ३३ करोड रुपैयाँको सेयर खरिद विक्री भए । परिसूचक ४ महिनायताकै सबैभन्दा उच्च विन्दुमा पुग्यो । थ्री ई फ्याक्टर सेयर बजारमा अहिले उछाल आउनुका पछाडि विशेष गरेर ‘थ्री ई फ्याक्टर’ले काम गरेको लगानीकर्ता वताउँछन् । यी थ्री ईमा एक्जिट, ई–मेल र इन्ट्री हुन् । एक्जिटः अर्थमन्त्री डा. युवराज खतिवडालाई सेयर बजारले त्यति सहज रुपमा लिएको छैन । उनी अर्थमन्त्री भएदेखि नै बजारमा निरासा छाएको छ । डा. खतिवडा राष्ट्रियसभा सदस्य भएको कारण अर्थमन्त्री छन् । तर, राष्ट्रियसभा सदस्यको रुपमा उनको कार्यकाल आगामी चैतमा सकिदैछ । त्यसपछि उनी बढीमा ६ महिनासम्म सांसद नभएको अवस्थामा पनि मन्त्री बन्न संविधानले रोक्ने छैन । तर, गैर सांसदलाई मन्त्री बनाउन प्रधानमन्त्री तयार भने हुनुपर्ने हुन्छ । ‘सेयर बजारप्रति अर्थमन्त्री त्यति पोजेटिभ छैनन्, उनी बजारप्रति पोजेटिभ नभएपछि बजारले पनि उनलाई पोजेटिभ रुपमा लिने भन्ने कुरा भएन, अब अर्थमन्त्री हट्ने सम्भावना धेरै छ, त्यसैकारण बजार बढ्न थालेको हो,’ एक लगानीकर्ताले भने । तर, उनले भने जस्तै डा. खतिवडाको अर्थमन्त्रीबाट ‘एक्जिट’ पक्कापक्की भएको भने होइन । उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य बनाएकी हुन् । यसपटक पनि एकजनालाई राष्ट्रपतिले राष्ट्रियसभा सदस्य नियुक्ति गर्नुपर्ने संबैधानिक वाध्यता छ । त्यसैकारण त्यही एक जनामा डा. खतिवडा पर्न सक्छन् । उनी सांसद बनेमा अर्थमन्त्रीकै रुपमा रहिरहन वाधा पर्ने अवस्था आउने छैन । ई–मेलः सेयर बजारमा अहिले देखिएको सबैभन्दा सकारात्मक र बलियो पक्ष भनेको ‘ई–मेल’ हो । बैंक वित्तीय संस्थाहरुले सेयर ब्रोकर अफिसमा ई–मेल नै गरेर ऋण लिन चाहने व्यक्तिहरुलाई आफ्नो बैंकमा सम्पर्क गराइदिन आग्रह गर्न थालेका छन् । यस्तै, पछिल्लो समय बैंकका कर्मचारी सम्भावित ऋणी खोज्न ब्रोकर अफिस धाउन थालेका छन् । ‘बैंकिङ क्षेत्रमा तरलता प्रसस्त भएको सामाचारहरु पनि आएका छन्, बैंकका कर्मचारी पनि ऋण लिन चाहने व्यक्तिहरुलाई हाम्रोमा पठाइदिनुस् भन्दै हाम्रो अफिसमा आउन थालेका छन्, केही बैंकले त ई–मेल नै गरेर पनि ऋणीलाई सम्पर्क गर्न पठाइदिनुस् भन्न थालेका छन्,’ एक ब्रोकरले भने । बैंकिङ क्षेत्रमा पर्याप्त तरलता भएपछि व्याजदर घट्ने अनुमान छ । व्याजदर घटेमा अहिले बैंकमा रहेको निक्षेप पनि लगानीको रुपमा सेयर बजारमा आउने छ । यस्तै, ऋण लिएर सेयरमा लगानी गर्न चाहने व्यक्तिले पनि सहज रुपमा ऋण पाउने छन् । यसैकारण बैंकहरुले सेयर ब्रोकरलाई गरेको इमेलले पनि सेयर बजार बृद्धिमा सहयोगी भूमिका खेलेको छ । इन्ट्रीः गत सोमबारको मन्त्रिपरिषद बैठकले पुँजी बजारको नियामक निकाय धितोपत्र वोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्त गरेको छ । ढुंगाना बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर कार्यकारी निर्देशक पदबाट अवकाश पाएका व्यक्ति हुन् । ढुंगानालाई विषयबस्तुको राम्रो ज्ञान भएको तथा नरम स्वभावको समन्वयकारी व्यक्तिका रुपमा चिनिन्छ । नियामक निकायमै बसेर लामो समय काम गरेका कारण पनि उनीप्रति बजार आश्वस्त हुन सकिरहेको छ । यस्तै, पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीलाई नेपाली काँग्रेसको सरकार भएका बेलामा तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले नियुक्त गरेका थिए । महतले नियुक्त गरेका डा. कार्कीसँग कतिपय विषयमा अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडाको ‘ट्युनिङ’ नमिलेको चर्चा पनि चल्ने गरेको थियो । यस्तै, अर्थमन्त्री डा. खतिवडा र वोर्ड अध्यक्ष ढुंगानाले राष्ट्र बैंकमा सँगै काम गरेका पनि छन् । यसैकारण डा. खतिवडा र अध्यक्ष ढुंगानाको समन्वयमा पुँजी बजारमा सुधारका कामहरु फटाफट हुने अनुमान लगानीकर्ताको छ । आफैमा सरल, नरम स्वभावका, विषयको ज्ञान भएका, नियमनकारी निकायमा ३० वर्ष विताएका, सबैका कुरा सुन्न सक्ने स्वभाव भएका ढुंगानाको वोर्डमा ‘इन्ट्री’ले पनि बजारमा सकारात्मक सन्देश प्रवाह भएको लगानीकर्ताको भनाइ छ । ‘अब त घट्दैन’ यसबाहेक बजार बृद्धिमा अन्य कारण पनि देखिन्छन् । बजार निकै घटेकोले अब घट्दैन भन्ने मनोविज्ञान पनि विकास भएको छ । ‘बजार घटेर ८/९ सय विन्दुमा आइपुग्छ कि भन्ने त्रास पनि थियो, अब त्यो सम्भावना रहेन, बजार योभन्दा घट्दैन भन्ने ग्यारेन्टी जस्तै भयो, त्यसैले लगानी थप्न लागियो,’ अर्का लगानीकर्ताले भने । बजार घट्न थालेको करिब ३ वर्ष भएको छ । बजारको घट्ने चक्र पूरा भएकोले अब बढ्छ भन्ने विश्लेषण पनि लगानीकर्ताको छ ।