साताको शेयर बजार : साढे छ अर्ब माथिको कारोवार
काठमाडाैं । गत साता धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले उकालो यात्रा तय गर्दै नयाँ इतिहास कायम गर्यो । बजार उकालो लाग्ने क्रम बढ्दै गर्दा झण्डै डेढ वर्ष पहिलेको अवस्थामा पुग्यो । नेप्सेको उकालो यात्रासँगै बजार एक हजार ३०० विन्दु माथि पुगेर ‘बुलिस ट्रेन्ड’ लाई स्थापित गर्यो । लगानीकर्तामा विश्वास बढेसँगै बजारले नयाँ गति समेटेको जानकारले टिप्पणी गरेका छन् । साताभर पाँच कारोवार दिनमा बजार नयाँ विन्दुमा पुगेर बन्द भएको छ । साताभर कूल १८३ कम्पनीका दुई करोड ११ लाख ९७ हजार १९५ कित्ता शेयर ६ अर्ब ६७ करोड २० लाख ६१ हजार ९३२ मा खरिदबिक्री भयो । साताको पहिलो दिन आइतबार नेप्से ४२.६१ विन्दुले बढ्यो । सो दिन कूल १७९ कम्पनीका ३८ लाख ३१ हजार ५४ कित्ता शेयर १ अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९६७ मूल्यमा खरिदबिक्री भए । सोमबार नेप्से परिसूचक १५.१४ विन्दुले बढ्दा १८३ कम्पनीका ५५ लाख १८ हजार ६३६ कित्ता शेयरको एक अर्ब ७० करोड ५० लाख ६० हजार ६६४ बराबर कारोवार भयो । आइतबार र सोमबार बजार बढ्दा मङ्गलबार भने परिसूचक नकारात्मक दिशामा मोडियो । मङ्गलबार नेप्से परिसूचक ७.४८ अङ्कले घट्यो । उक्त दिन १८३ कम्पनीका ३७ लाख ६६ हजार ९८२ कित्ता शेयर १ अर्ब दुई करोड ६४ लाख ४३ हजार ६६६ रूपैयाँमा खरिदबिक्री भयाे । माघको पहिलो दिन परिसूचक २०.८५ अङ्कले बढेर कूल १७७ कम्पनीका ३० लाख ५५ हजार २३३ कित्ता शेयरको ९० करोड ४८ लाख १३ हजार ९३२ रूपैयाँमा कारोवार भयो । साताको अन्तिम दिन पनि परिसूचक बढ्ने क्रमले निरन्तता पायो । बिहीबार नेप्सेमा २६ अङ्कको सुधार देखियो । बिहीबार कूल ५० लाख २५ हजार ५६३ कित्ता शेयरको १ अर्ब ६९ करोड ९९ लाख ९५ हजार १०७ मा कारोबार भयो । यस्तै यस साता नेप्सेमा दुई कम्पनीका शेयर सूचीकृत भए । ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जरपछि ७ करोड २० लाख ८७ हजार ८१ कित्ता र सिर्जना फाइनान्सका २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर सूचीकृत भए । रासस
सांग्रिला डेभलपमेन्ट बैंकले शेयरधनीको खातामा पठाउन थाल्याे नगद लाभांश
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नगद लाभांश शेयरधनीहरूको बैंक खातामा जम्मा गर्न शुरू गरेकाे छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा पुस २९ गतेदेखि नगद लाभांश जम्मा गर्न थालेको हो । बैंकले पुस २९ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाले पारित गरेको ८.९५९३ प्रतिशत नगद लाभांश कर सहित शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले २०७६ पुस १५ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गरेको थियो । यस अनुसार २०७६ पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुलाई लाभांश वितरण गरिएको छ । साथै, हालसम्म लाभांश प्राप्त नगर्ने शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकिकरण गराउन तथा आफ्नो हितग्राही खातामा बैंक खाता नं. अध्यावधिक गराउन विकास बैंकले जानकारी गराएकाे छ । बैंकको शेयर रजिष्ट्रार एनआईबिल क्यापिटल लिमिटेड रहेको छ ।
मञ्जुश्री फाइनान्सको साढे ११ प्रतिशत लाभांश पारित, सञ्चालकमा दुई जना निर्वाचित
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको प्रस्तावित ११.५५ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न फाइनान्सको १२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै संस्थाले शेयरधनीलाई गत आर्थिक वर्ष २०७५÷०७६ को लागि ९.८० प्रतिशत नगद लाभांश(वोनश शेयर तथा नगद लाभांशको कर समेत) र १.७५ प्रतिशत बराबरको वोनस शेयर वितरण गर्ने छ । यस संस्थाको यस अघि सम्मको चुक्ता पूँजी ८० करोड ४० लाख रुपैयाँ रहेको छ । संस्थाले पौष मसान्तसम्म ७ अर्ब ७० करोड निक्षेप संकलन तथा ६ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस संस्थाको संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्न दुई जनालाई निर्वाचित गरेको छ । सभाले इन्दिरा पण्डित घिमिरे र चिन्तामणी गौतमलाई आगामी ४ वर्षको लागि संस्थाको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो ।