सेयर मूल्य बढाउन प्रधानमन्त्री वा मन्त्रीकाे मुख ताक्नु हुदैनः अध्यक्ष ढुंगाना
काठमाडौं । धितोपत्र वोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले सेयर मूल्य बढाउनको लागि प्रधानमन्त्री वा अर्थमन्त्रीको मुख ताक्न नहुने वताएका छन् । माग र आपूर्तिले सेयर बजारलाई निर्धारण गर्ने भएकोले प्रधानमन्त्री वा मन्त्रीले भन्दैमा बजार प्रभावित नहुने उनको भनाइ छ । नवनियुक्त अध्यक्ष ढुंगानालाई भेट्न गएको नेपाल आर्थिक पत्रकार संघ(नाफिज) को प्रतिनितिमण्डसँग कुरा गर्दै अध्यक्ष ढुंगानाले यस्तो बताएका हुन् । बजारलाई बजारकै गतिमा काम गर्न दिनु नै उपयुक्त हुने उनको भनाइ छ । ‘प्रधानमन्त्री वा अर्थमन्त्रीले भन्दैमा सेयर बजार बढ्ने होइन, बजारको आफ्नै गति र प्रक्रिया हुन्छ, सोही गति र प्रक्रिया अनुसार बजारले स्वभाविक गतिविधि गर्ने हो,’ अध्यक्ष ढुंगानाले भने । प्रधानमन्त्री वा अर्थमन्त्रीले भन्दैमा बजार बढ्ने वा घट्ने अवस्था नआउने उनको भनाइ छ । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका ढुंगाना उदार अर्थतन्त्रका पक्षपाति हुन् । उनको कार्यकालमा नेपालमा विदेशी लगानी प्रबद्र्धनका लागि नीतिगत सुधारका कामहरु भएका थिए । ढुंगाना करिब १ वर्षदेखि वोर्डको विज्ञ संचालकका रुपमा कार्यरत थिए । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले ढुंगानालाई वोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । ढुंगानाले बोर्डको नेतृत्व संहालेदेखि नै सेयर बजारमा सकारात्मक प्रभाव परेको विश्लेषकहरुको बुझाइ छ ।
कृषि विकास बैंकको ३० प्रतिशत लाभांश पारित
काठमाडौं । कृषि विकास बैंकको प्रस्तावित ३० प्रतिशत लाभांश पारित भएको छ । पुस २७ गते(आइतबार) सम्पन्न बैंकको १३ औं वार्षिक साधारणसभाले सञ्चलाक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी २४ प्रतिशत नगद(कर सहित) र ६ प्रतिशत बोनस शेयर पाउने छन् । बैंकले करिब २ लाख ५७ हजारको संख्यामा रहेका शेयरधनीहरुलाई सो मात्रा अर्थात ३० प्रतिशत लाभांश वितरण गर्ने छ । भक्तपुरको बोडेस्थित बैंकको केन्द्रिय तालिम प्रतिष्ठानमा भएको सभा अध्यक्ष क्षेत्रबहादुर सेंजुवालको अध्यक्षतामा सम्पन्न भएको छ । बैंकले हाल २७४ वटा शाखाहरुबाट आधुकिन बैकिङ्ग सेवा पुर्याईरहेको छ । साथै, बैंकले नेपालको वाणिज्य बैंकमध्ये सबैभन्दा बढी अधिकृत पुँजी पुर्याउन सफल भएको जानकारी दिएको छ । सभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु झक्कप्रसाद आचार्य, रघुराम विष्ट, संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरांगाई, डा. इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिति रहेको थियो । साथै, बैंकका कम्पनी सचिव हिमलाल पौडेलले सभाको संचालन गरेका हुन् ।
मिसन ७० करोडमा हिडेको सेन्चुरी बैंकको सेयरमा लगानी गर्नु कत्तिको उपयुक्त होला ? (प्राविधिक विश्लेषणसहित)
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कम्पनीहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्रमा वार्षिक साधारणसभा गरिसक्नुपर्छ । वार्षिक साधारणसभाले कम्पनीको लाभांश स्वीकृत गर्छ । कम्पनी ऐनअनुसार सबै कम्पनीहरुले पुस मसान्तभित्रमा वार्षिक साधारणसभा गरिसक्नुपर्ने व्यवस्था भएकोले अधिकांश बैंक वित्तीय संस्थाले वार्षिक साधारणसभा सकेर सेयरधनीलाई लाभांश दिइसकेका छन् । तर, सेन्चुरीले दिएको छैन । यही परिवेशमा सेन्चुरी बैंकको अवस्था कस्तो छ, यो बैंकको सेयर किन्ने वा बेच्ने के गर्दा लगानीकर्तालाई बढी फाइदा हुन सक्ला भन्ने जस्ता विषयमा बैंकका केही प्रमुख सूचकलाई आधार मानेर यो विश्लेषण प्रस्तुत गरिएको छ । ९ माघ २०६७ बाट सञ्चालनमा आएको सेञ्चुरी बैंक वाणिज्य बैंकहरुमा पछिल्लो पुस्ताको बैंक हो । पछिल्लो पुस्ताको भएपनि चुक्ता पुँजी वृद्धिको निर्णयपछि बैंक पुँजी आधारलगायतमा अन्य पुराना बैंकहरु सरह नै बनेको छ । चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन बैंकले प्राप्तिमा नै जोड दियो । बैंकले ५ वटा संस्था एक्वायर गरिसकेको छ । इन्नोभेटिभ, अल्पाइन, अरनिको डेभलपमेन्ट तथा सगरमाथा फाइनान्स र सेती फाइनान्सलाई बैंकले प्राप्ति गरेको हो । अहिले बैंकको १ सय १३ शाखा, १० एक्सेन्टन काउन्टर र १५ शाखारहित सेवा सञ्चालनमा छन् । बैंकले शुरुवातदेखि नै हकप्रद सेयर निष्कासनमा समेत जोड दिदै आएको छ । ‘सरल बैंकिङ सबैको लागि’ नारा लिएर अगाडी बढेको बैंकले सेञ्चुरी सेभिङ प्लस, सेञ्चुरी सबैको खातालगायतका निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको छ । त्यस्तै, ११ देखि १६ प्रतिशत व्याजदरमा बिभिन्न कर्जा लगानी गरिरहेको छ । २०७५ असारमै बैंकको ग्राहक संख्या ४ लाख ४७ हजार पुगिसकेको छ । बैंकको सहायक कम्पनी सेञ्चुरी क्यापिटलमा ८५.७५ प्रतिशत लगानी छ । औसत ९ प्रतिशत प्रतिफल प्रतिफल वितरणका आधारमा यो बैंक औसत संस्था मानिन्छ । बैंकबाट सेयर लगानीकर्ताले विगत ५ वर्षमा बार्षिक औसत ९ प्रतिशतको लाभांश पाएका छन् । यो निक्षेपको बार्षिक औसत व्याजदरभन्दा पनि कम हो । बैंकले गत आवको नाफापछि लाभांश घोषणा गसिरकेको छैन । बैंकले सेयर प्रिमियमसहित करिब ७ प्रतिशतसम्म लाभांश दिनसक्ने सम्भावना देखिन्छ । पाँच बर्षयता बैंकको चुक्ता पुँजीमा २ सय ९६ प्रतिशतले वृद्धि हुँदा नाफामा भने ८ सय ८८ प्रतिशतको वृद्धि छ । तर, चुक्ता पुँजी र नाफा अनुपात भने घटबढको क्रममा छ । हाल यस्तो अनुपात १०.२१ प्रतिशत छ । पहिलो त्रैमाश चालु आवको पहिलो त्रैमाशमा ३५.३३ प्रतिशतले नाफा बढेको छ । यो अवधिमा ३७ करोड रुपैयाँ नाफा कमाएको हो । बैंकले हालसम्मको नाफाको आधारमा लगानीकर्तालाई १८ करोड रुपैयाँ वितरण गर्न सक्छ । यो भनेको चुक्ता पुँजीको आधारमा २ प्रतिशत हो । आव अन्त्यमा लाभांश दर बढ्न सक्छ । बैंकले गत वर्ष ८ करोड ५४ लाख रुपैयाँ प्रावधानमा राखेकोमा १ करोड ८६ लाख रुपैयाँ राइट ब्याक गरेर फिर्ता ल्याएको छ । यसले नाफामा सहयोग पुगेको छ । बैंकको खुद व्याज आम्दानी ३.६४ र कुल सञ्चालन आम्दानी ६.६७ प्रतिशतले बढेको छ । खुद सञ्चालन आम्दानी ९३ करोड ४६ हजार रुपैयाँ छ । उच्च दरमा वृद्धि भइरहेको कर्मचारी खर्चमा केही लगाम लागेको छ । कर्मचारी खर्च ५.८५ प्रतिशतले बढेर २५ करोड ८ लाख पुगेको छ । बैंकमा ९ सय ९२ जना कर्मचारी कार्यरत छन् । बैंकको जगेडा तथा सञ्चित कोषमा १ अर्ब ७५ करोड रुपैयाँ छ । कोष करिब २५ प्रतिशतले बढेको छ । पुँजी कोष लागत ८.१० प्रतिशतबाट केही घटेर ७.९९ प्रतिशत छ । यो दर अन्यको तुलनामा उच्च नै हो । निक्षेप प्राथमिक पुँजीको आधारमा कर्जा लगानी अनुपात निकै टाइट (७९.२१ प्रतिशत) छ । खराब कर्जा अनुपात २ प्रतिशतभन्दा माथि पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ९.८७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १ सय २४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८.७४ गुणा छ । लक्ष्य ७० करोड नाफा गत आर्थिक वर्षमा पहिलो त्रैमाशबाट दोस्रो त्रैमाशमा आउँदा नाफामा ८९ प्रतिशतको वृद्धि देखिएको थियो । यसपटक सोही दरमा वृद्धि हुँन बैंकले ७० करोड नाफा आगामी दोस्रो त्रैमाशमा नै कमाउनु पर्ने हुन्छ । गत वर्ष भने २७ करोडको नाफा वृद्धि भएर ५१ करोड रुपैयाँ पुगेको थियो । बैंकमा अध्यक्षको रुपमा राजेशकुमार श्रेष्ठ छन् भने प्रमूख कार्यकारी अधिकृतमा तुलसीराम गौतम छन् । बैंकले बार्षिक वित्तीय विवरणमा ०.५ प्रतिशत माथि स्वामित्व हुने लगानीकर्ताको विवरण समावेश गरेको छैन । बैंकमा ४७.१७ प्रतिशत सर्वसाधारण र ५२. ८३ प्रतिशत संस्थापक सेयर धनीको स्वामित्व छ । प्रवृत्तिः बुलिश बैंकको सेयर मूल्य विगत एक वर्षमा ३० रुपैयाँको अन्तरमा तलमाथि गरिरहेको छ । वर्षको उच्च विन्दु १ सय ८२ बाट घटेर १ सय ५२ सम्म मूल्य पुगेको बैंकको सेयर त्यसयता १८ रुपैयाँले महंगिएको छ । बैंकको मूल्यले भने १ सय ८० रुपैयाँ आसपास यसअघि पनि पटक पटक प्रतिरोधको सामना गरेको देखिन्छ । अहिले बैंकको सेयर बुलिश प्रवृतिमा रहेको बिभिन्न सूचकले देखाएको छ । १४ दिने आरएसआई सुचक अधिक खरिद क्षेत्र नजिक आइपुगेको छ । दुई दिनअघि ६८ सम्म पुगेको आरएसआई हाल ६४.७ मा छ । ७ दिने मुभिङ एभरेजले केही समयअघि २१ दिने रेखालाई क्रस ओभर गरेको छ । यसले मूल्य बुलिश प्रवृत्तिमा नै रहेको संकेत गर्छ । एक महिना अवधिको पीभट विश्लेषणले भने मूल्य घटेमा आगामी एक महिनामा १ सय ६५ मा पहिलो टेवा र बढ्ने क्रममा १ सय ७३ मा प्रतिरोध पाउने देखाउँछ । एक महिनामा बैंकको मूल्य ८ रुपैयाँको फरकमा तल माथि गरिरहेकोले रेन्ज नै कम छ । बैंकको सेयर मूल्यले अन्तिम दुई दिनमा पहिलो दिन कालो र दोस्रो दिन सेतो मैनवत्ति आकृति बनाएको छ । यी दुई दिनमा पियर्सिङ बुलिश आकृति बनेको छ । यसमा कालो मैनवत्तिको मध्य भाग नजिकबाट सेतो मैनवत्तिको आकृति बनेको छ । सेतो मैनवत्तिको शरिर कालो मैनवत्तिको शरिरभन्दा तलसम्म पुगेको छ । यो संकेतलाई दरिलो संकेत भने मानिदैन । पछिल्लो दिन दैनिक औसत कारोबारमा आएको बैंकको सेयर संख्या बढेकोले लगानीकर्ताको आकर्षण भने कायमै देखिन्छ । वाणिज्य बैंकहरुमा सस्तो मूल्यको कम्पनी भएकोले पनि लगानी गर्दा ठूलो नोक्सान हुने अवस्था छैन । यद्यपि आगामी दिनको कारोबार हेरेर निर्णय लिनु सही हुन्छ ।