महुली लघुवित्तले २० प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस र करसहित ११ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७५/२०७६ को नाफाबाट हाल कायम भएको चुक्ता पुँजीको कूल ३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव संस्थाको बुधबार अपरान्ह बसेको ९५औं बैठकले गरेको हो । संस्थाको प्रस्तावलाई संस्थाकाे आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् । हाल संस्थाको चुक्ता पुँजी १० करोड २० लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी १२ करोड रुपैयाँ नाघ्ने छ । हाल संस्थाको सेयर मूल्य प्रतिकित्ता ८७० रुपैयाँ रहेको छ ।

अजोड इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । इन्स्योरेन्सले ३० लाख कित्ता साधारण शेयर प्रति शेयर १०० रुपैयाँ अंकित दरले सर्वसाधारणहरुमा निष्काशन गर्न एनआईबिएल एसलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । बिक्री प्रबन्धकमा नियुक्ति सम्बन्धी सम्झौता पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । सम्झौता गरेसँगै अब एनआईबिएल एसले इन्स्योरेन्सको सेयर बिक्री सम्बन्धी सम्पूर्ण काम गर्ने छ । हाल इन्स्योरेन्सको अधिकृत पूँजी १ अर्ब, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

एभरेष्ट बैंकको २५ प्रतिशत लाभांश घोषणा, चुक्ता पुँजी साँढे आठ अर्ब नाघ्ने

काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोेषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ५ प्रतिशत बोनस र २० प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । असोज २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४७ करोड रुपैयाँ नाघ्ने छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा २० प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो भने २०७५/७६ मा थप ५ प्रतिशत बढी बोनस सेयर दिने प्रस्ताव गरेको छ ।