इन्साइडर ट्रेडिङमा कठोर कानून आउँदै, कम्तीमा १० लाख जरिवाना, तीन वर्ष कैद

काठमाडौं । धितोपत्र बजारमा इन्साइडर ट्रेडिङ(भित्री कारोबार) गर्नेमाथि सरकार कठोर देखिएको छ । अर्थ मन्त्रालयले संसदमा दर्ता गराएको धितोपत्र सम्बन्धि ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा हाल रहेको जरिवानालाई १० गुणासम्म र दण्ड सजायलाई तीन गुणासम्म बढाउने प्रस्ताव गरेको हो । विद्यामान ऐनमा इस्साइडर ट्रेडिङ गर्नेलाई बिगो बराबरको जरिवाना वा एक वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ । प्रस्तावित विधेयकमा बिगो नखुलेमा एक लाखको ठाउँमा १० लाख र एक वर्ष दण्ड सजायको ठाउँमा तीन वर्ष तोकिएको हो । बिगो खुलेको अवस्थामा भने बिगो बमोजिमको जरिवाना र तीन वर्षसम्म कैद वा दुबै सजाय हुने प्रस्ताव गरिएको छ । कानुन मिचेर झुटो कारोबार गरेमा, मूल्यमा उतार चढाव गरी धितोपत्र बजारलाई प्रभावित पारेमा ५० हजार रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँ जरिवाना वा एक वर्ष कैद वा दुबै सजायको सट्टामा बिगो नखुलेमा एक लाख ५० हजार रुपैयाँदेखि ४ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा ३ वर्ष कैद वा दुबै सजाय हुने व्यवस्था प्रस्तावित विधेयकमा गरिएको छ । यदि बिगो खुलेको अवस्थामा भने बिगो भराइ बिगो बमोजिमको जरिवाना वा ३ वर्ष कैद वा दुबै सजाय प्रस्तावको लागि पेश भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले ऐन संशोधनका लागि संसद्मा दर्ता गरेको उक्त विधेयकमा झुक्याउने विवरणहरू दिने, जालसाजीयुक्त कारोबार गर्ने, जालसाज गरी वा झुक्याउने हिसावले धितोपत्र कारोबार गरेमा वा लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा एक लाख रुपैयाँदेखि तीनलाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुबै सजाय हुनेछ भन्ने शब्दमा बिगो नखुलेमा ३ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र ६ वर्षसम्म कैद वा दुबै सजायको प्रस्ताव गरिएको छ । यदि बिगो खुलेकोमा बिगो भराइ बिगो बमोजिम जरिवाना र ६ वर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था गरिएको छ । कसैले जानी वा बदनीयत साथ यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम बमोजिम राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नुपर्ने हिसाव किताव, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै कुनै कागजात पेश गर्नुपर्ने समयमा पेश नगरेमा, नबाएमा वा तयार नगरेमा एक लाख ५० हजार रुपैयाँदेखि ६ लाख रुपैयाँसम्म जरिवान राखिएको छ । सरकारले जारी गरेका नीति नियम, निर्देशन वा आदेशको बर्खिलाप काम गरी संगठित संस्था, धितोपत्र बजार तथा व्यवसायी वा लगानीकर्तालाई हानी नोक्सानी हुने गरमो वा गराएमा बोर्डले त्यस्तो व्यक्तिलाई ५ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था प्रस्तावित विधेयकमा उल्लेख गरिएको छ । यस्तो कसुरमा अहिले ५० हजार रुपैयाँदेखि एक लाख ५० हजारसम्म जरिवानाको व्यवस्था गरिएको थियो । ऐन बमोजिम रित नपुर्याई धितोपत्र निष्कासन गरेमा, धितोपत्र बजार वा धितोपत्र व्यवसायीको हैसियतले धितोपत्र कारोबार संचालन गरे /गराएमा त्यस्तो काम गर्ने व्यक्तिलाई बोर्डले ५० हजार रुपैयाँदेखि एक लाख ५० हजार रुपैयाँ जरिवाना गर्नुको यो सजाय वा जरिवानालाई बढाएर एक लाख ५० हजारदेखि ४ लाख रुपैयाँसम्म पुर्याएको छ ।

सीडीएससीको लागत गणना सफ्टवेयर क्याल्कुलेटर मात्रै, अध्यक्ष साउद नै भन्छन्, ‘धेरै उत्साहित नभए हुन्छ’

काठमाडौं । शेयरको भारित औसत गणनाका लागि सीडीएससीले ल्याएको सफ्टवेयरले विद्यमान बजारको सबै समस्या समाधान गर्न नसक्ने देखिएको छ । सीडीएससीले ल्याएको उक्त सफ्वेयरले कुनैपनि ग्राहकसँग भएको शेयरको लागत मूल्यबारे आफ्नो सिस्टममा भएको रेकर्ड देखाइदिने र त्यसको क्याल्कुलेटरको काम गरिदिने बाहेक अन्य काम गर्न नसक्ने अवस्था देखिएको हो । आर्थिक वर्ष २०७६/७७ को बजेटले शेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरलाई भारित औसत लागतका आधारमा लिने व्यवस्था गरेसँगै ब्रोकरहरुले नै त्यस्तो लाभकरको गणना गर्दै आएका थिए । तर, ब्रोकरहरुले त्यस्तो लाभकर गणना गर्दा त्यसरी गणना भएको लाभकरको सहिछाप भने स्वयम् ग्राहकले गर्नुपर्ने व्यवस्था भएपछि लगानीकर्ताहरु प्रविधिको युगमा पनि ढुंगे युगमा जस्तै कागजमा ल्याप्चे लगाउनुपर्ने अवस्था आएको भन्दै आक्रोशित भएका थिए । त्यसको समाधानका लागि भन्दै सीडीएससीले ल्याएको सफ्टवेयरबाट ब्रोकरले जानुपर्नेभन्दा बढी कुनै समस्याको समाधान नगरेको लगानीकर्ताहरु बताउँछन् । प्रत्येक कारोबार र स्क्रिपको भेरिफाई सफ्टवेयरले कुनैपनि लगानीकर्तासँग भएको प्रत्येक स्क्रिपहरुको प्रत्येक कारोबारको भेरिफाई लगानीकर्ता स्वयम्ले गर्नुपर्ने व्यवस्था गरेको छ । जस्तो कुनै व्यक्तिको डिम्याट खातामा १०० ओटा कम्पनीका शेयर स्क्रिप छन् भने प्रत्येक स्क्रिपको लागत सीडीएससीको सिस्टममा देखाएको लागत बराबर हो कि होइन भन्ने भेरिफाई लगानीकर्ताले गर्नुपर्छ । त्यस्तो लागत वास्तविक लागतभन्दा घटिबढी भएमा त्यसको जिम्मेवार समेत लगानीकर्ता आफैं हुने शर्त समेत अनिवार्य रुपमा समेत अनिवार्य रुपमा मान्नुपर्ने व्यवस्था गरिएको छ । त्यतिमात्र नभएर प्रत्येक थप कारोबार गरेपछि पनि ग्राहकले नयाँ औसत लागतलाई भेरिफाई गर्नुपर्नेछ । सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले नयाँ कारोबारपछि कारोबार भएको स्क्रिपको औसत लागत मूल्य फेरि भेरिफाइ गर्नुपर्ने व्यवस्था रहेको बताए । सीडीएस एण्ड क्लियरिंग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले लगानीकर्ताको लागतको जिम्मा सिडीएससीले लिन नसक्ने बताए । सीडीएससीले देखाएको मूल्यमा ग्राहकले किन भेरिफाइ गर्ने भन्ने प्रश्नमा उनी भन्छन्, – ‘आफ्नो लागतको भेरिफाई आफै नगरेर कसले गर्ने त ?’ मेरो शेयरको अनिवार्य प्रयोग सीडीएससीले ल्याएको सफ्वेयर मेरोशेयरका प्रयोगकर्ताहरुले मात्रै प्रयोग गर्न मिल्छ । मेरो शेयर प्रयोग गरी सोही एप्लिकेशनमार्फत् डेबिट इन्ट्रक्सन स्लिप बुझाएमा मात्रै सो सफ्टवेयरमार्फत् गरिएको भेरिफाईले काम गर्छ नत्र सम्बन्धित ब्रोकरकोमा गएर सहिछाप गर्नुपर्ने विद्यमान व्यवस्था कायमै रहन्छ । त्यसैले लगानीकर्ताहरु यो सफ्वेयरलाई ‘मेरो शेयर’को मार्केटिङ गर्ने टुल्स मात्रै भनेका छन् । रेकर्डमा नभएका कारोबारको लागत १०० रुपैंया सीडीएससीको सिस्टमले आईपीओ वा एफपीओबाट आएका, मर्चेन्ट बैंकरहरुमार्फत् लिलामी बढाबढ भएर आएका, हकप्रद र बोनस शेयरको रेकर्डमात्रै राख्छ । त्यसबाहेकमा प्रिमियम वा डिस्काउन्ट मूल्यमा जारी भई डिम्याट गर्न बाँकी रहेका तथा नामसारीहरुबाट आएका शेयरहरुको लागत मूल्य अंकित मूल्य बराबर देखाउने व्यवस्था गरेको छ । त्यसको वास्तविक लागत बढी भएको प्रमाण पेश गर्नुपर्छ । अध्यक्ष साउद नै भन्छन्– ‘धेरै उत्साहित नभए हुन्छ’ सीडीएससीका अध्यक्ष समेत रहेको नेपाल स्टक एक्सचेञ्जका प्रमुख अधिकृत चन्द्रसिंह साउदले पनि मेरो शेयरले ल्याएको सो सफ्वेयरको धेरै सीमा भएको भन्दै लगानीकर्तालाई बढी उत्साहित नहुन आग्रह गरेका छन् । उनले सीडीएससीले सफ्वेयर ल्याएपछि ढुंगे युगको अन्त्य भएको भनेर हल्ला गर्न थाले पनि वास्तविकता त्यसो नभएको बताए । ‘मेरो शेयर’ प्रयोग गर्नेको लागि मात्रै त्यो सफ्टवेयरले काम गर्ने हो, अहिले धेरै उत्साहित नहुनुस्, वास्तविकता बुझेपछि फेरि गाली गर्न थाल्नुहुन्छ ।’ साउदले भने । शेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले पनि सीडीएससीले ल्याएको सिस्टमले आफूहरुको सम्पूर्ण माग पूरा नगरेको बताए । ‘हामीले चाहेको भनेको सिस्टम आफैंले लागत निर्धारण गरोस्, लगानीकर्तालाई झन्झट नहोस् भन्ने हो, तर त्यो भएन, हाम्रो माग आंशिक मात्रै पूरा भयो ।’ हाल परीक्षणको लागि भन्दै ल्याएको उक्त सफ्टवेयर पूर्ण रुपमा लागु नभएसम्म मेरो शेयरका प्रयोगकर्ताले पनि डेविट इन्ट्रक्सन स्लिप लागु गर्न सक्ने छैनन् ।

नेप्सेमा ३० करोड ५३ लाख रुपैयाँको कारोबार, सबै सूचक राता

काठमाडौ । सेयर कारोबार हुने साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से परिसूचक १२.६१ अंकले घटेको हो । १.०६ प्रतिशतले घट्दा नेप्से परिसूचक ११७८.४६ बिन्दुमा पुगेको हो । आईतबार सेयर बजारमा १६५ कम्पनीले कारोबार गरेका छन् । ११ लाख ७३ हजार ४ सय ८८ कित्ता सेयर किनबेच हुँदा ३० करोड ५३ लाख १० हजार ७ सय १९ रुपैयाँको कारोबार भएको छ ।  बजार घटेको दिन नेप्सेका सबै सूचक राता देखीएका छन् । बैक समूह १०.९६, होटल समूह ९.२२, विकास बैक समूह १५.८२, जलविद्युत समूह १२.९२, वित्तीय समूह ०.२९, निर्जीवन बीमा समूह १०२.२९, उत्पादन मूलक समूह १२.५९, अन्य समूह ७.१५, माइक्रो फाइनान्स ७.५, जीवन बीमा समूह ८५.४४ र म्युचुअल फण्ड ०.०४ अंकले घटेका छन् । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९.९० प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् ।  यस्तै, पाँचथर पावर कम्प्याण्ट लिमिटेडका लगानीकर्ताले ८.४९ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।