वोमी लघुवित्तले शतप्रतिशत हकप्रद जारी गर्ने, अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले शतप्रतिशत हकप्रद जारी गर्ने प्रकृया अघि बढाएको छ । संस्थाले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै १० करोड १० लाख ८८ हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने प्रकृया अघि बढाएको हो । संस्थाले जेठ ८ गते(बुधबार) मात्रै अंकित मूल्य १०० रुपैयाँ दरको १० लाख १० हजार ८८० कित्ता सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो । बोर्डको अनुमति पाएपछि संस्थाले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्फत सो मात्राको सेयर जारी गर्ने छ । हाल लघुवित्तको चुक्ता पुँजी १० करोड १० लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पश्चात संस्थाको पुँजी २० करोड रुपैयाँ नाघ्ने छ ।
१६ प्रतिशत बोनस पछि प्राइम कमर्शियल बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । बिहीबार प्राइम कमर्शियल बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको १६ प्रतिशत बोनस पछि सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ३१८.९७ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३६७.४१ रुपैयाँ रहेको छ । मूल्य समायोजन पछि बिहीबारको कारोबारमा बैंकको सेयर मूल्य सामान्य ०.९७ अंकले घटिरहेकाे छ । याे समाचार तयार पर्दासम्म कम्पनीकाे सेयर मूल्य अघिल्लो दिनको तुलनामा ०.३० प्रतिशतले कम हाे ।
नेपाल कम्यूनिटी, तिनाउ र मिसन एक आपसमा गाभिए, आजैदेखि कारोबार रोक्का
काठमाडौं । नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक, तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक एक आपसमा गाभिएका छन् । सो सम्बन्धि यी तीन संस्थाबीच मंगलबार एक सहमति पत्रमा हस्ताक्षर भएको हो । साथै, सो प्रयोजनकोे लागि यी तीन वटै संस्थाको सेयर कारोबार बुधबारदेखि रोक्का भएको छ । उक्त प्रकृया सम्पन्न नभएसम्म उल्लेखित संस्थाको नेप्सेमा बुक क्लोज हुने छ ।