एक अर्ब माथिको सेयर कारोबार हुँदा सबैभन्दा बढी नेपाल बैंकको, शिवमकाे मूल्य ६२९ पुग्यो
काठमाडौं । साताको पहिलो दिन कूल एक अर्ब ९ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आइतबार कूल १७२ कम्पनीको ३२ लाख ८१ हजार ११६ कित्ता सेयर सो मूल्यमा किनबेच भएका हुन् । जसमध्ये सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन २२ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३३६ रुपैयाँ रहेको छ । त्यस्तै, शिवम् सिमेन्टको १८ करोड ७० लाख रुपैयाँ बढीको सेयर बिक्री भएको छ । पछिल्लो कारोबारमा जस्तै आइतबार पनि यस कम्पनीको सेयर मूल्यमा पोजेपटभ सर्किट ब्रेक लागेको छ । बिहीबारको तुलनामा आइतबार कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ६२९ रुपैयाँ पुगेको छ । त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९० प्रतिशतले बढेर प्रतिकित्ता १११ रुपैयाँ पुगेको छ । समग्रमा आइतबारको नेप्से परिसूचक १.८७ प्रतिशतले घटेर १३१६.८४ अंकमा झरेको छ । सामान्य अंकले घटेको बजारमा विभिन्न ५ कम्पनीका लगानीकर्ताले ५ र ६ प्रतिशतको हाराहारीमा गुमाएका छन् । विशाल बजार कम्पनी, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, आईएमई जनरल इन्स्योरेन्स, नाडेप लघुवित्त वित्तीय संस्थाको साधारण सेयर मूल्य र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरको मूल्य सो मात्राले घटेको हो । सो दिन उत्पादमूलक समूह १०० अंकले बढेर २७६२ अंकमा पुगेको छ । त्यस्तै, विकास बैंक, फाइनान्स, हाइड्रो, अन्य र म्युचअल फण्ड समूह सामान्य अंकले बढेका हुन् भने बाँकी समूह राताम्मे भएका छन् ।
स्वाभिमान लघुवित्तको आईपीओ बाँडफाँड, तपाईलाई पर्यो कि परेन ? (हेर्नुस् सूची)
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले वैशाख २७ गतेदेखि ३१ गतेसम्म निष्काशन गरेको आईपीओको आइतबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार उक्त आईपीओमा १८ हजार ५५८ जनाले १० कित्ता र ७ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । २० देखि ५००० कित्तासम्म आवेदन दिने ७ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन् । उक्त आईपीओमा कुल ३ लाख २७ हजार ७४७ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ३ लाख २७ हजार ४८६ जना आवेदकले भरेका आवेदन सदर भएको थियो भने बाँकी २३० जनाको आवेदन भने रद्ध भएको क्यापिटलले जनाएको छ । कुल ६० लाख ६१ हजार ७७० कित्ता दरको ६० करोड ६१ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । जुन संस्थाको माग भन्दा ३२.६६ गुणा बढी हो । (तपाईलाई पर्यो कि परेन ? हेर्नको लागि यसमा क्लिक गर्नुहोस् ।) स्वाभिमानले कूल एक करोड ९८ लाख ६१ हजार रुपैयाँ बराबरको एक लाख ९८ हजार ६१० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । सो मध्ये कर्मचारीलाई ३ हजार ९३ कित्ता र म्युचुअल फण्डलाई ९ हजार ९३० कित्ता छुट्याएको थियो । त्यसमा बाँकी रहेको एक लाख ८५ हजार ५८७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।
नेपाल एग्रो र गणपति माइक्रोफाइनान्सको कारोबार खुला, मूल्य रेञ्ज कसको कति ?
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको आइतबारदेखि कारोबार खुला भएको छ । अबदेखि दोश्रो बजारमा यी दुबै संस्थाको सेयर किनबेच गर्न मिल्ने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले नेपाल एग्रोको पहिलो कारोबारको लागि प्रतिकित्ता १०३.४८ देखि ३१०.४४ रुपैयाँसम्म मूल्य तोकेको छ । संस्थाको गत जेठ २ गते मात्रै ४ लाख ९७ हजार ७७८ कित्ता आईपीओ सेयर नेप्सेमा सूचिकृत भएको थियो । त्यस्तै, गणपति माइक्रोफाइनान्सको पनि प्रतिकित्ता ७८.९ देखि २३६.७३ रुपैयाँसम्म सेयर मूल्य तोकेको छ । संस्थाको गत जेठ ३ गते १० लाख ३५ हजार कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको थियो ।